0 COMMENTS

झुट कसैको हितमा हुँदैन, एउटा झुटले धेरै झुट हरु निम्त्याउन सक्छ अनि कुनै बेला आफैंले बोलेको झुट आफैंले बिर्सेर अप्ठ्यारोमा परिन पनि बेर लाग्दैन भनेर जानिएको भए पनि र झुट बोल्न नसक्ने बानीमा गर्व लाग्ने गरेको भए पनि कुनै समय बेला र परिस्थिति लाई साम्य बनाउन, कसैको मन् राखिदिन अनि काम कुरा हरु मिलाउन भने भगवान लाइ सम्झेर, झुट बोल्नै पर्ने हुँदो रहेछ।

तर एकदिन अनायास निस्किएको झुट, किन बोलियो? फाइदा कति? अनि कारण के ? त्यस्तै ,त्याे झुट बोलेर मैले कसैको मन् जित्नु थियो न कुनै प्रतियोगिता? भन्ने कुराले भने धेरै दिन सम्म मन् मा डेरा जमाइरह्यो।

एक दिन अनायास बाटोमा भेट भएको ब्यक्ति ,जो तोते बोलीमा विद्यालय प्रवेश गरेर रोइरहेको बेला मैले फकाएकी थिएँ। तरआज बोली मा धोत्रो पन आइसकेको उसकाे भने जुँगा पनि पलाइसकेको थियो। उस्ले कुरै कुरामा सोध्यो ,”म्याम हजुरको छोरा छैन?” मैले छ नि !भनेर ऊ सँग झुट बोलिदिेए। उस्ले फेरि सोध्यो? “अहीले कता छ त?” अनि मैले फेरी झुट पछी झुट बोल्दै अहिले बाहिर छ ,भनिदिएँ। उस्ले अझै सोध्यो अनि “हजुर उस्को मा कहिले जाने?”मैले भने समय आए पछि। यी र उस्का पढाइका केही कुराहरू गरेर म ऊ सँग टाढिएँ तर मेराे मन् ऊ सँग धेरै बेर सम्म नजिकियो। किनकी, झुट लामो समय सम्म टिक्दैन, यस्ले मनको पीडा बढाउँछ र डर मा नै भए पनि झुट बोल्दा गाली खाइन्छ भने गल्ती नैं भए पनि साँचो बोल्दा माफी पाउन सकिन्छ भनेर उस्लाई सिकाएकी मैले नै आज ऊ सँग जानी जानी झुट बोल्दा उस्ले मजाले पत्त्याएको थियो।

पितृसतात्मक नेपाली समाजबाट छोरा ले पाउने हक अधिकार र दिइएको बढावा बुझिएको र छोरा, छोरी सहितको परिवारलाई आफैंले पूर्ण मान्ने गरिएको भएपनि, छोरा नभएकोमा आफूलाई न कूनै पश्चाताप थियाे न कुनै चिन्ता। न कसैले कुनै दिन केही भनेको मा खिन्नता न मरे पछि कस्ले कर्म गर्ला?भन्ने पिर, त्यस्तै न भविष्यमा कस्ले स्याहार गर्ला ?भन्ने विस्मात न सम्पतिको मालिक काे बन्ला? भन्ने सोच, त्यसैले त तीन छोरी जन्माएकी साथीले तिम्रा सन्तान के के छन्? भन्ने प्रश्न कसैले नगरिदिए हुन्थ्यो भनेर दुःखी भइरहँदा मैले मलाई पनि हो भन्दै सहि मिलाउँथे न कसैले आफ्ना छोरा छैनन ,भनेर इष्टमित्र र वरपरका अल्लारे उमेरमा अलि बाटो बिराएका छोराहरू काे उदाहरण दिएर त्यस्ता छोरा हुनु भन्दा नहुनु नै बेश भनेर गफ गर्दा, त्यै त भनेर गफ नै मिलाउँथे ,अनि कुनै दिन कुनै छोरा ले आफ्नो परिवार प्रतिको कर्तव्य निभाउन नसक्दा यस्ता छोरा हुनुको के अर्थ?भन्दै रीस नै पोख्थेँ। सन्तुष्टि नै सबैभन्दा ठूलो सुख हो भन्ने भनाई अनुसार आफू लाइ मिलेका कुराहरूमा चित्त बुझाउने मेराे बानी थियो।

र पनि समय परिवर्तन सँगै छोरीलाई दिनु पर्ने हक, हित,अधिकार, स्वतन्त्रता ,अवसर,इज्जत र प्रेरणा दिइने अनि उनीहरूले पनि यी सब सुविधा हरुको सहि प्रयाेग गर्न जान्ने हो भने छोरी ले पनि शरीर र संस्कार ले दिएका कुरा बाहेक परि आएको खण्डमा हरेक क्षेत्र मा छोरा सरह काम गर्न सक्ने देखिएको भए पनि विवाह पश्चात अर्काको घर जानु पर्ने वाध्यता का कारण जन्म घरमा पाईने जति माया र साथ को कमी अनि सो घर परिवार खराब पर्न गए हुन जाने जीवनको बर्बादी, सक्षम हुँदाहुँदै गर्न मन् लागेका कामहरूमा गरिने अवरोध लगायत छोरीले भोग्नु पर्ने अन्य पीडा अनि छोरीले जीवनमा जे जस्तो परे पनि सहनु पर्छ भन्ने मान्यता बोकेको सल्लाहकार समाजले जन्मदै मुख्य पात्रका रूपमा उभ्याएको छोरो, जो कर्तव्य बिर्सेर बाटो बिराएका हरु बाहेक, परिवारको कुनै बेला बिसाउनै नमिल्ने जिम्मेवारीको भारी काँधमा बोकेर हिँड्न बाध्य व्यक्ति का बारे चलेको उखान, छोरा भनेको छोरै हो भन्ने सोचको दबिएको जरो जुन जति उखेलेर फाल्न खोजे पनि पलाउँथ्यो भने मरे पछि नदेखिएको स्वर्ग को ढोका नखुल्ला भन्ने डर भन्दा पनि छोरीहरूलाई बिदा गरेर पठाइसके पछी आफू असक्त हुन पुगे आफ्नै घरको ढोका कस्ले खोल्ला भन्ने अव्यक्त दिक्दारी मनको कुनै कुनामा थाहै नपाई लुकेका कारण सायद त्यो दिन मैले उसँग झुट बोलेकी थिएँ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।