बिरुपाक्ष ले समेत दर्शन गरेको आदिलिङ्ग कुशेश्वर

 प्रतिभा भट्टराई/ काठमाडौं बाट ८३ किलोमीटर टाढा धुलीखेल बि.पी राजमार्ग बाट काभ्रे, सिन्धुली हुँदै पुगिने रामेछाप जिल्लाको संगमस्थल सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका वडा नं १ स्थित दुम्जा बगर नेपालथोक मा रहेकाे भगवान शंकरकाे ६४ सिद्ध स्वयम्भू लिङ्ग मध्ये सबै भन्दा पहिलो ज्योतिर्लिङ्ग हो कुशेश्वर, त्यसैले यो ज्योतिर्लिङ्ग को दर्शन पनि पहिला नै गर्नु पर्ने मान्यता रहेको छ। रोशी, भोटेकोशी र इन्द्रावती आदि मिसिएको सुवर्ण कौशिकी, सुनकोशी नदीको किनारामा, माता दुर्गाले शुम्भ, निशुम्भ र रक्तबीज काे वध गरेको क्षेत्र, दुर्गा तीर्थ र कुशेश्वर महादेवको मन्दिर वारी र पारी रहेका छन्।

परापूर्व कालमा एकजना किसानको कैली गाईले थुनमा दूध भएर पनि दूध नदिने गरे पछि चियो गर्दैै जाँदा चर्न गएका बेला यसै ठाउँमा चारै वटा थुनबाट दुध झारिरहेकाे देखेपछि यस् ठाउँमा के रहेछ भनी हेर्दा यो ज्योतिर्लिङ्ग फेला परेको हो।
पौराणिक मान्यता अनुसार, आदि कालमा ब्रम्हा लाई सृष्टि को ज्ञान नहुँदा यसै ठाउँमा तपस्या गरे पश्चात, ज्ञान प्रदान गर्ने देवका रुपमा रहेका देवाधिदेव महादेवले कुशको टुप्पोको रुपमा प्रकट भएर दर्शन दिँदै ब्रह्मा लाई इच्छा पूर्ण हुने वरदान दिनुभए सँगै ब्रह्मा द्वारा कुशेश्वर महादेवको नामले पुकारिदै पूजा आरधना गरे पछि यो ज्योतिर्लिङ्ग कुशेश्वरको नामले पुजिन थालेको हो।
यसै पुण्य क्षेत्रमा ऋषि विश्वामित्रले मन्त्रहरूकाे राजा गायत्री को पनि उत्पत्ति गराउनु भएको थियो भने नेपाल शब्दकाे इतिहास सँग जोडिएका”ने “मुनिको गुफा पनि यसै क्षेत्रमा रहेको थियो। उनै ऋषिको सल्लाह अनुसार आफुले जानी नजानी गरेको पाप मोक्ष गर्नको लागी बिरुपाक्ष ले समेत यस ज्योतिर्लिङ्ग को दर्शन गरेको थियो।
यसरी अत्यन्तै आध्यात्मिक महत्व बोकेको यो पुण्य क्षेत्रमा रहेको दुर्गा तीर्थ मा स्नान गरी कुशेश्वर महादेवको दर्शन सहीत यस क्षेत्र मा हवन र पित्री तर्पण गरे २१ पुस्ता देखिको पाप मोक्ष हुने विश्वास गरिन्छ। अष्ट चिरञ्जीवी मध्ये एक मार्कण्डेय ऋषी जस्को ७ बर्षको उमेरमा मृत्यु लेखिएको थीयो। उनले पनि यसै क्षेत्रमा आई कुशेश्वर महादेवको दर्शन,पुजा आराधना र हवन तर्पण गरे पछि पितृ र कुशेश्वर महादेवको आशिष पाई चिरञ्जीवी हूने अवसर पाएका थिए । यसरी आषिश प्राप्त गरेपछि यसै ठाउँमा बसेर मार्कण्डेय पुराण र देवी भागवत पनि रचना गरेका थिए भन्ने किम्बदन्ती रहेको पाइन्छ।
काठमाडौ, भक्तपुर ,ललितपुर लगायत नेपाल भरि बाट दर्शनार्थीहरु आउने यस मन्दिरमा सोमबार ,साउन महिना ,माघ महिना ,शिवरात्रि, बालाचतुर्दशी , हरितालिका जस्ता पर्वहरुमा मेला लाग्ने गर्दछ भने धान्य पूर्णिमाको दिन धान्य लक्ष्मीको पूजासहित यस मन्दिरमा आफ्नो तौल बराबरको धान दान गर्ने मेला पनि लाग्ने गर्दछ ।