0 COMMENTS

प्रतिभा भट्टराई /समय र परिस्थिति ले साथ दिए सम्म आफ्नो देश र विदेश भ्रमण गर्न पाउँदा बटुलिने अनुभव फरक हुन्छन् नै तर घान्द्रुक भ्रमण पछी पाईने कुराहरू भने हिमश्रृङ्खलाहरूलाई नजिकबाट नियाल्ने अवसर, ग्रामीण बस्ती, फरक संस्कृति, वनजङ्गल र मनोरम भूगोलको अनुभब पर्न आउँछन् ।
चम्किला किरण छर्दै भएको बिहानीको सूर्योदय सँगै सुन झैं टल्किने र हिउँ परे पछि चाँदी झैं झल्कने अन्नपूर्ण र माछापुछ्रे लगायत २०भन्दा बढी हिमचुचुराहरू अवलोकन गर्न पाउनु यस क्षेत्र को आकर्षण हो।

६ हजार ७ सय फिट उचाइमा रहेकाे घान्द्रुक पुग्न , पोखरा पुगे पछि हेम्जाको भाइरल रोड, लुम्ले, काँडे, नौडाँडा हुँदै नयाँ पूल भन्ने ठाउँमा पुगे पछि मोदी खोला काे तिरै तिर पैदल यात्रामा रमाउने हरु लगभग ५ घण्टा को यात्रा पछी हरियाली डाँडा पाखा, र गुराँस फुल्ने समयमा बन पाखामा राताम्मे फुल्ने गुराँसको मोहकताकाे अनुभव बटुल्दै र गाडीमा जान चाहने हरु ले केही कालो पत्रे सडक र बाँकि कच्ची सडक पार गर्नु पर्दछ।
साँगुरो ढुङ्गे बाटोले हरेक घरलाई छोएको अनि रङ्गीन फूलहरूले धेरै जसो घरहरूलाई छोपेको गुरुङ जातिको बसोबास रहेको घान्द्रुक साँच्चै नै हेर्न लायक छ।

माछपुच्छ्रे र अन्नपूर्ण को काखमा बसी हरेक दिन थुप्रै पर्यटक हरू काे स्वागत गर्न आतुर घान्द्रुक मा छुन नै सकिन्छ की भने झैँ लाग्ने हिमाल र भेट्न सकिन्छ की भन्ने झैँ लाग्ने पहाड हरु प्रत्येक दिन सूर्योदयको किरण सँगै पाहुनाहरुको आतिथ्य मा मुस्काइरहेका हुन्छन् भने प्रकृतिको साथ पाएर ढकमक्क फुलेका फूलहरूले पनि नयाँ अनुहारहरूलाई आफुलाई आकर्षित गरिरहेको भान हुन्छ।
घान्द्रुक काे माझ गाउँ बाट ४०मिनेट जतिको यात्रा पछी यस ठाउँको आध्यात्मिक आस्थाको क्षेत्र मेश्रम बराहको मन्दिर पुग्न सकिन्छ। यी भगवान को उत्पत्ति कथा अनुसार घान्द्रुक बासीलाई रोग, महामारी र विभिन्न प्रकोपहरुबाट जोगाउने याे मन्दिर पुग्न,थुप्रै ढुङ्गे सिँढी हरु चड्दै जाँदा थोरै अप्ठ्यारो अनुभव गरिए पनि गन्तव्यमा पुगिसके पछी भने निक्कै आनन्द मिल्ने रमाईलो ठाउँ हो।

गुरुङ्ग जातिको बाहुल्यता रहेको याे ठाउँमा आइसकेपछि याे जातिको पहिरनमा सजीने रहर हरेकलाई हुन सक्छ । यो जातिको धर्म, संस्कृति, परम्परा, खानपान, गाउँले जीवन, रहनसहन को जानकारी सहीत उनीहरूको पोशाकमा सजिएर तस्बिर खिच्ने हरुको रहरले त्यहाँका केही बासिन्दा हरुको आय आर्जन सजिलै सँग मनग्गे हुने देखिन्छ।

भूकम्प , नाकाबन्दी र कोरोनाका कारण बेलाबेलामा अस्तव्यस्त बनेको पर्यटन व्यवसायलाई आन्तरिक पर्यटक हरू काे आगमनले जसोतसो धान्न सकिएकोमा दिगो पर्यटनको मूख्य आधार नै आन्तरिक पर्यटन हो भन्ने पाठ घान्द्रुक लगायत देशका सम्पूर्ण पर्यटन व्यवसायीलाई सिकाएको उनीहरूको बुझाई छ।

छुट्टीका समयमा आफ्नै देश भित्रका पर्यटकिय स्थलहरु घुमेर प्राकृतिक सौन्दर्य मा रमाउने नेपालीहरुको चाहना पुरा गर्न घान्द्रुक पनी उचित गन्तव्य हो।
भूकम्प तथा अन्य कारण हरुले घान्द्रुक का प्राचिन घरहरू घट्दै र नयाँ संरचना हरूको निर्माण बढ्दै जाने क्रममा यस्को बाहिरी सुन्दरतामा परिवर्तन आएको भए पनि स्वच्छ हावापानी र प्राकृतिक सुन्दरता को साथ भएको ले, विहान उठ्ने वित्तिकै हिमाल देख्न पाइयोस् भन्ने नेपालीका चाहना र विदेशीहरुका हिमश्रृङ्खला नियाल्ने रहर पूरा गर्न सक्षम याे क्षेत्र एक पटक पुग्नै पर्ने ठाँउ हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।