मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँट, २ जना भाग्यमानीले पाए ११ कित्ता शेयर

2021-07-12   अर्थ

काठमाडौं २८ असार २०७८। मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । असार २५ गते शुक्रवार प्रि–अलोटमेण्ट गरेको कम्पनीको आईपीओको अन्तिम बाँडफाँट सोमवार विहान भएको हो ।

विक्री प्रबन्धक एनएमबि क्यापिटलको नक्साल, काठमाडौंमा रहेको कार्यालयमा १९ लाख ५१ हजार ५२१ जना योग्य आवेदकहरुलाई गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गर्दा न्यूनतम १० कित्ताका दरले ३६ हजार ३४९ जना आवेदकहरुले शेयर हात पारेका छन् । पहिलो चरणमा बाँडफाँट गरी बाँकी रहेको २ कित्ता शेयर यी मध्य २० कित्ताभन्दा बढी माग गर्ने दुई जना आवेदकलाई गोलाप्रथाको माध्यमबाट फेरी एक एक कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ । यसरी हेर्दा कम्पनीको आईपीओ बढीमा ११ कित्तासम्म बाँडफाँट गरिएको छ ।

कम्पनीले असार १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा ३ लाख ६३ हजार ४९२ कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरेको थियो । । सर्वसाधारणका लागि छुट्याईएको कुल रू. ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओमध्य कम्पनीले ंयस अघिनै शून्य दशमलव ५ प्रतिशत दरको ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको १९ हजार ४५० कित्ता सामुहिक लगानीकोषमा बाँडफाँट गरिसकेको छ । सार्वजनिक निष्कासन मार्फत विक्री गरेको आईपीओको अन्तिम बाँडफाँट सोमवार गरिएको हो ।

कम्पनीको आईपीओ खरिदका लागि १९ लाख ५४ हजार २७४ जना आवेदकहरुबाट २ करोड ५१ लाख ३३ हजार २९० कित्ता शेयर खरिदको माग भएको थियो । यी मध्य रितपूर्वक आवेदन नदिएका २ हजार ७५३ जनाबाट प्राप्त ३७ हजार ९२० कित्ता शेयर रद्ध भएको छ । योग्य आवेदकहरुमध्य पनि १९ लाख १५ हजार १७२ जनाको हात खाली भएको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. ८ करोड २२ लाख ५० हजार रहेको छ । संस्थापक तर्फ ६७ दशमलव ८९ प्रतिशत चुक्तापूँजी कायम रहेको कम्पनीले सर्वसाधारणमा ३२ दशमलव ११ प्रतिशत आईपीओ वितरण गरेको हो । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. १२ करोड ११ लाख ५० हजार कायम भएको छ । बाँडफाँटमा शेयर प्राप्त गर्ने आवेदकहरुले कम्पनीले धितोपत्र दोस्रो बजारमा शेयर सूचीकृत गराएपश्चात मात्र कारोबार गर्न सक्नेछन् ।

कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता रू. ११० दशमलव ८४ देखि रू. ३३२ दशमलव ५२ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ । वास्तविक प्रतिशेयर नेटवर्थ देखि तीन गुणासम्मको मूल्यरेञ्ज पहिलो कारोबारका लागि नेप्सेले तोक्ने व्यवस्था छ । गत आर्थिक वर्ष ०७६÷७७ सम्ममा रू. २ करोड ९६ लाख ७६ हजार खुद नाफा गरेको कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव ८५ र प्रतिशेयर नेटवर्थ रू. ११० दशमलव ८४ रहेको छ ।