0 COMMENTS

काठमाडौँ, १५ फागुन०७४/  दोस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता नेपालमा आयोजना गरिने भएको छ ।

एसियाली, दक्षिण एसियाली र नेपाल योग खेलकुद संघको संयुक्त आयोजनामा २०७५ साल वैशाख २१, २२ र २३ गते प्रदेश नं ४ को राजधानी पोखरामा दोस्रो योग खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

योगलाई खेलकुदसँग जोडेर यसका फाइदाका विषयमा जनचेतना जगाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको योग खेलकुद संघ नेपालका कोषाध्यक्ष एवम् प्रचारप्रसार समितिका संयोजक मणिराज कुँवर ‘योगी शान्तिदूत’ ले राससलाई जानकारी दिनुभयो ।

नियमित योग अभ्यासले शरीर स्वस्थ हुने भएकाले आम मानिसमा यसप्रति सचेत बनाउने उद्देश्य आयोजित उक्त प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र पाकिस्तान गरी चार देशको सहभागिता रहने जनाएको छ ।

एक वर्ष अघि राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएको नेपाल योग खेलकुद संघले गत माघ ४ र ५ गते सुनसरीको इटहरीमा पहिलो योग खेलकुद प्रतियोगिता आयोजना गरेको थियो ।

यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिलाई योग भन्ने प्राचीन ऋषि परम्परा रहेपनि आधुनिक समाजमा शारीरिक व्यायम विशेषलाई मात्र योगको अर्थमा बुझिने गरेको छ । आठवटै चरण योगका अंग रहेको छ भने सन्देश दिन पनि प्रतियोगिता सहयोगी हुने विश्वास संघको छ ।

आठवटा चरणमा प्रवेश गरेर योग अभ्यास गर्दा व्यक्तिको आचरण र स्वभावमा परिवर्तन हुनुलाई योग भनिन्छ । योगलाई स्वास्थ्यसँग जोडेर विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्र संघ लगायतका विश्वव्यापी संस्थाले मान्यता दिएकाले खेलकुदसँग जोडेर पनि प्रचारप्रसार गर्न खोजिएको आयोजक समितिले जनाएको छ ।

गत वर्ष वैशाखमा संघले दक्षिण एसियाली योग प्रतिष्पर्धा पनि सम्पन्न गरेको थियो । प्रतियोगितामा दक्षिण एसियाली क्षेत्रका नेपाल, भारत, बंगलादेश र पाकिस्तान गरी चार देशको सहभागिता थियो ।

योग भगवान् शिवले शुरु गर्नुभएको वैदिक मान्यता छ । भगवान् शिवले पहिलोपटक पत्नी पार्वतीलाई योग शिक्षा दिनुभएको शिव पुराण एवम् धर्मशास्त्रका अन्य ग्रन्थमा उल्लेख छ । विश्वमा ३०० योगका प्रकार प्रचलनमा रहेपनि घेरण्ड ऋषिले ३२ वटालाई बढी प्रचलनमा ल्याएको विश्वास गरिन्छ ।शिवबाट पार्वती हुँदै आम मानिसमा योग विकसित हुँदै आएको मान्यता छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।