0 COMMENTS

प्रश्ताेताः प्रतीभा भट्टराइ/आकर्षक नगर भक्तपुरको तचपाल टोल मा पन्ध्रौँ शताब्दीतिर राजा यक्ष मल्लले निर्माण गरेको यो मन्दिर प्यागोडा शैली अर्थात् नेपाली शैलीमा निर्माण गरेको देखिन्छ। मन्दिर सुरुमा एउटै रुखकाे काठ बाट बनाइएको विश्वास गरिए पनि पछि विभिन्न समयमा गरिएका जीर्णद्वार वा पुनर्निर्माण बाट मन्दिर हाल निकै भव्य र सुन्दर देखिन पुगेको छ। मंदिरको रक्षार्थ बनाइएका दरसिं र वरसिं नामका दुई पहलमान हरु को मुर्ति (जसलाई स्थानिय भाषामा “कुतुव” भन्ने गरिन्छ।) ले पनि यो मन्दिर थप आकर्षक बनेको छ।
भगवान दत्तात्रय ब्रह्माजीका मानस पुत्र अत्री ऋषि र कर्दम ऋषिकी पुत्री अनसुयाका पुत्र हुन् ।दत्रात्रय भगवानलाई ब्रह्मा विष्णु र महेश्वरको संयुक्त स्वरूप मानिन्छ। त्यसैले तस्वीरहरूमा ३ वटा शिर र ६ हात भएका देखिने दत्रात्रय भगवान को अगाडि गाई र ४ वटा कुकुरहरू पनि देखिन्छन् । यस मन्दिरमा पनि गधा, शङ्ख चक्र, डमरु, त्रिशुल, पद्म सबै राखिएकोले याे कुरा बुझ्न सजिलो भएको छ।

दत्तात्रय भगवानलाई नाथ सम्प्रदायको नवनाथ परम्परामा अग्रज आचार्य मानिन्छ भने उनै दत्रात्रय भगवानबाट वेद र तन्त्रमार्गलाई एकीकृत गरी एउटै सम्प्रदाय निर्मित भएको बुझिन्छ।दत्रात्रय भगवानको उत्पत्ति का सम्बन्धमा भेटिएका पौराणिक कथाहरूका अनुसार एक समय माता पार्वती महालक्ष्मी र सरस्वतीलाई आफ्नो पतिव्रता धर्ममाथि घमण्ड पैदा हुन गएपछि जीव र जगतको पालन कर्ता भगवानविष्णु लाई सो घमण्ड शान्त पार्ने अभिलाषा जाग्यो। र नारदमुनिद्वारा सती सावित्रीको रूपमा सर्वश्रेष्ठ मानिएकी अनसुयाको अनुपम मानिएको सतित्वको प्रशंसा त्रिदेवीमाझ गर्न लगाए।

आफूभन्दा पनि परम पतिव्रता स्त्रीको वर्णन सुनेपछि माता पार्वती महालक्ष्मी र सरस्वती तिनै देवीहरूले आफ्ना पतिहरुलाई अनसुया माताको सतित्व डराउन उनको पतिव्रता धर्मको परीक्षा लिन पृथ्वीमा जान अनुरोध गरे।आफ्ना पत्नीहरूको भनाइलाई मानेझैँ गरी, थुप्रै लक्ष्यहरू पूरा गर्ने उद्देश्यले ब्रह्मा विष्णु र महेश्वर त्रीदेव पनि अनुसुयाको सतित्व डराउन युवा अवस्थाका योगीको रूप धारण गरी अत्री र अनसुया माताको कुटीमा भिक्षा माग्न पुगे।

अतिथि सत्कारमा पनि निपुण मानिएकी अनुसुया मातालाई शरीरका सबै वस्त्र फुकालेर आफूलाई स्तनपानको भिक्षा गराउनुपर्ने शर्त राखेपछि त्रिदेवको आशय थाहा पाएकि सति शिरोमणि माता अनसुयाले ,आफ्नो बौद्धिक क्षमता र पतिव्रता धर्मको सामर्थ्यले आफ्ना पति अत्री ऋषिको स्मरण गर्दै कमण्डलुको जल छरिदिएर तिनै देवलाई छ छ महिनाको बालकको रुपमा परिणत गरिदिइन्। र पुत्रवत वात्सल्य भावले तिनै देवहरूलाई स्तनपान गराइन्। तत्पश्चात् लामो समयसम्म सन्ततिवत् भावले पालनपोषण गरेर राखेकी थिइन्।

अनसुयाको यस्तो तार्किक ढङ्गको कार्यसम्पादनबाट ब्रह्मा विष्णु र महेश्वर छक्क पर्दै खुसी हुन पुगे भने पार्वती लक्ष्मी र सरस्वती ले त्रसित हुँदै हिनताबोध गर्न पुगे।
त्यसपछि माता पार्वती लक्ष्मी र सरस्वती तिनै देवीहरूले आफ्नो गल्ती स्वीकार्दै अनसुया मातासँग क्षमा मागी आफ्ना पतिहरुलाई पहिलेकै रुपमा फर्काइदिन अनुरोध गरे।
त्यसै बखत माता अनुसुयाले पनि आफूले पुत्रवत भावले पालनपोषण गरिसकेका त्रिदेवलाई पुत्रकै रुपमा प्राप्त गर्नुपर्ने वरदान मागिन ।तब ब्रह्मा विष्णु र महेश्वरले हर्षित हुँदै अनसुयाको सर्त पूरा गर्ने बाचा सहीत शिशु काे रुप त्यागेर आफ्नो रूपमा परिणत भए। धार्मिक कथाहरूमा थोरै परिवर्तन भएपनि दत्तात्रय भगवान ब्रह्मा विष्णु र महेश्वरका एकीकृत स्वरूप नै हुन्।

धार्मीक कथा कै अनूसार यसरी बालकको रूपमा परिणत भएका त्रीदेव मध्ये ब्रह्माको अंशबाट रजोगुण प्रधान चन्द्रमाको विष्णुको अंशबाट सतगुण प्रधान दत्तात्रय को र शंकरको अंशबाट तमोगुण प्रधान दुर्भाषाको उत्पत्ति भयो। त्यसै अनुरूप यस मन्दिरमा पनि हामी तीनवटा मूर्तिको दर्शन गर्न पाउँछौं।श्रावणको सोमबार शङ्कर भगवानको स्वरूपमा केदार नाथ काे स्मरण सहीत पूजाआजा गरिने यस मन्दिरमा पुसको बुधबार भने विष्णु भगवानको स्वरूप मा बद्री नारायण को स्मरण सहीत दर्शन र पूजा गर्दै रातभर जागराम बसी दीप दान पनि गरिन्छ।

यी बाहेक धन्यपूर्णिमाको दिन दत्तात्रय भगवानको जन्म उत्सवको को विशेष पूजा हुन्छ भने ब्रह्मा विष्णु र महेश्वरका एकीकृत स्वरूप भएका कारण सम्पूर्ण गुरुहरूका पनि गुरु महागुरु मानेर गुरु पूर्णिमाको दिन गरिने यी दत्तात्रय भगवानको दर्शनलाई पनि जानकार व्यक्तिहरू निकै अपूर्व मान्दछन् । यी विशेष पर्वहरू बाहेक दत्तात्रय भगवानको दर्शन जुनसुकै समय गर्ने अवसर मिल्नु हरेक व्यक्तिको लागि शुभ मानिन्छ।

यसरी सम्पूर्ण लोकले गुरु ब्रह्मा ,गुरु विष्णु ,गुरुदेव महेश्वरको संयुक्त स्वरूप मानिएको दत्रात्रय भगवानले फेरि २४ गुरुहरु मानेका थिए। जसमा पृथ्वी, वायु ,आकाश ,जल ,चन्द्रमा ,सूर्य , आगो, माछा,परेवा,पुतली ,मौरी, सर्प, वृक्ष ,व्याधा , कुमारी, बाण बनाउँने मान्छे,हात्ती, समुन्द्र, कन्या बालक, अजिङ्गर,कम्बलकोटी , मह काढने मान्छे,लगायत २४ तत्वहरू पर्दछन।

पृथ्वीबाट धैर्यता, वायुबाट समानता ,समुद्रबाट गम्भीरता र वृक्षबाट उदारताको ज्ञान लिएका गुरु दत्तात्रय ले समाजले चरित्रहीन मानेकी महिलाबाट पनि ज्ञान लिएका थिए अर्थात् उनलाई पनि गुरु मानेका थिए।यसबाट हामीले हरेक दिन जसो भेट्ने व्यक्ति र उनीहरूका चरित्रबाट अनी देखेका र भोगेका घटनाहरुबाट कमजोरी खोज्ने नभई केही न केही ज्ञान लिनुपर्ने शिक्षा मिल्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।