प्रस्ताेताःप्रतिभा भट्टराई,काठमाडौँ महानगरपालिकाको उत्तरी भेगमा पर्ने छिमेकी नगरपालिका तारकेश्वर र यसको वडा नम्बर ४ मा अवस्थित पुरानो गुहेश्वरी काे मन्दिर यो नगरपालिका र उपत्यकाकै प्रमुख शक्तिपीठहरु मध्ये एक हो। जुन मन्दिर नागार्जुन डाँडाको फेदमा अवस्थित छ।
झट्ट हेर्दा पाशुपत क्षेत्रको श्लेशमान्तक बनमा अवस्थित गुह्यकाली शक्तिपीठ जस्तै देखिने यो मन्दिरमा पनि पित्तलको अष्टदल कमलको बीचमा रहेको सानो कुण्ड नै माता गुहेश्वरीको प्रतीक हो भने यसमाथि तिथि र पर्व अनुसार राखिने सुन ,चाँदी र पत्थरका कलशहरु नै माता गुहेश्वरीको दर्शनीय स्थल हो।
नागहरूको छाना जस्तो निर्माण गरी बीचमा गजुर स्थापित गरिएको यस मन्दिरको भित्र गर्भगृहमा पित्तलको अष्टदल कमल को पुष्पकेशर ले सानो कुण्डलाई घेरिएको छ।
पाशुपत क्षेत्रमा रहेको गुहेश्वरीभन्दा पनि अगाडि उत्पत्ति भएको कारण यसलाई पुरानो गुहेश्वरी भनिएको हो भन्ने विश्वास गरिन्छ। स्वयम्भू पुराणमा वर्णन गरिए अनुसार स्वयम्भू ज्योतिर्लिङ्गको कमलको नाल पनि यही कुण्डबाट निस्किएको मानिएको छ।
जसले भरिएको कुण्डलाई नै गुह्य अङ्ग वा गुहेश्वरी शक्ति पीठ मान्दै आइएको यो शक्तिपीठ विश्वभरका हिन्दू सनातनीहरूको पूजनीय स्थल हो। कुनै कुनै पुराणमा यस क्षेत्रमा सतीदेवीको दुई घुँडा पतन भएको वर्णन गरिएको भएपनि मन्दिरको प्रकृति हेर्दा भने गुह्य अङ्ग नै पतन भएको बुझ्न सकिन्छ।
यो शक्ति पीठलाई किन पुरानो भनियो भन्ने विषयमा रहेको किम्बदन्ती अनुसार परापूर्व कालमा ,अमृत निकाल्ने उद्देश्यले देवता र दानवहरूले गरेको समुन्द्रमथन बाट निस्किएको कालकोट बिष लाई जीव र जगतको कल्याणका खातिर सम्पूर्ण बिष पान गरेका देवाधिदेव महादेव बीषको डाहा शान्त पार्न उत्तरतिर गोसाईथान तीर लाग्नु भएको थियो। यसै समयमा आशुतोष भगवानलाई नदेखेपछि आफू एक्लै हुँदा भोलेनाथलाई खोज्दै हिँड्ने क्रममा नागार्जुन जङ्गलको फेदको बाटो हिँडेकी सतीदेवी यस क्षेत्रमा आइपुगेपछि रजस्वला हुन पुगिन्। त्यसपछि यात्रा असहज भएकोले चार दिन यसै क्षेत्रमा बिश्राम लिएको समयमा नै यो शक्तिपीठको उत्पत्ति भएको मान्यता गरिन्छ यसै अनुरूप यो शक्तिपीठलाई पुरानो भनिएको हो। यसै स्थानमा सर्वप्रथम ३३ कोटी देवीदेवताहरूले पूजाआराधना गरेकाे पनि विश्वास गरिन्छ। विवाह पूजा लगायत शुभ कर्महरू सञ्चालन भइरहने यस मन्दिरमा हरेक दिन जसो नै भक्तहरूको आवाज जावात भइरहन्छ भने नवरात्र र विशेष तिथी हरूमा यस मन्दिरमा धेरै नै चहलपहल हुने गर्दछ।