म्याग्दी पुगेर लिङ्देनले भने : नेपालको निर्णायकत्व नेपालीको हातमा फर्काउन राप्रपाले जित्‍न जरुरी छ

2022-09-13   राजनीति

मंगलबार २८, भदौ २०७९/म्याग्दी पुगेर लिङ्देनले भने : नेपालको निर्णायकत्व नेपालीको हातमा फर्काउन राप्रपाले जित्‍न जरुरी छ

म्याग्दी- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता गठबन्धनको नाममा लोकतन्त्र धरापमा पार्न खोजिएको आरोप लगाएका छन्। मंगलबार म्याग्दी सदरमुकाम बेनीमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले गठबन्धनको नाममा मुलुकको अस्तित्व समाप्त पार्ने र लोकतन्त्र धरापमा पार्न खोजिएको पनि बताएका हुन्।

नीति, विचार र सिद्धान्त नमिल्ने दलहरू एक ठाउँमा उभिनु भनेको मिलिजुली खानका लागि बाहेक मुलुकका हितका लागि केहि उपलब्धी नहुने उनको भनाइ छ। ‘मुलुक विदेशीहरूको चंगुलमा फसाउने र लम्पसार पर्नेबाहेक केही हुन सकेको छैन,’ उनले भने ‘जति शासन गरे पनि एक हजार जना युवायुवतीले रोजगारी पाउने ठाउँ खोल्न सकेका छैनन्, दैनिक हजारौंको संख्यामा युवायुवती बाहिरिन बाध्य छन्।’

अध्यक्ष लिङ्देनले आगामी मंसिर ४ गतेको निर्वाचनमा राप्रपालाई मत दिएर पहिलो दल बनाउन आग्रह गरे। मुलुकको समृद्धि र विकासको स्पष्ट खाकासहित भ्रष्टाचार र अनियमितताको विरुद्धमा आफ्नो पार्टी निरन्तर लागि परेको बताउँदै आगामी निर्वाचनमा मत दिएर विजयी बनाउनसमेत उनले आग्रह गरे।

राजनीतिक दलका गलत क्रियाकलापहरूले नै मुलुक समस्यामा पर्दै गएको उनको भनाइ छ। लिङदेनले भ्रष्टाचार र अनियमितता मौलाउँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै शीर्ष दलहरूले भ्रष्टाचारलाई संस्थागत गर्दै लगेको समेत उनको आरोप छ।

अध्यक्ष लिङ्देनले कांग्रेस, एमाले, माओवादीले ३० वर्षभन्दा बढी शासन गरे पनि नयाँ शब्दबाहेक काममा नयाँपन ल्याउन नसकेको बताए।