0 COMMENTS

काठमाडौं २२, मंसिर२०७७ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी समिति बैठकमा आफू उपस्थित हुन नसक्ने पत्र पठाएका छन्। अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा छलफल हुने गरी बैठकमा उपस्थित हुन असमर्थ रहेको भन्दै प्रधानमन्त्री ओलीले स्थायी समिति सदस्यहरूलाई सम्बोधन गरेका छन्।

ओलीको अनुपस्थितिबीच आइतबार बसेको स्थायी समिति बैठकमा सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले उक्त पत्र वाचन गरेर सुनाएका थिए। ओलीले आफूले खारेज गरिसकेको र पार्टीलाई विभाजनको डिलमा पुर्‍याएको त्यस्तो संगीन आरोपपत्रबारे हुने छलफलमा सहभागी हुन असमर्थ रहेको स्पष्ट पारेका छन्। ‘आफूले खारेज गरिसकेको र पार्टीलाई विभाजनको डिलमा पुर्‍याएको त्यस्तो संगीन आरोपपत्रबारे हुने छलफलमा सहभागी हुन म असमर्थ रहेको व्यहोरा कमरेडहरूलाई अनुरोध गर्दछु’, ओलीले पत्रमा लेखेका छन्।

उनले स्वस्थ र मर्यादित छलफलको सीमा भत्काएर पार्टीभित्रको नीतिगत बहसलाई दाहालको प्रस्तावले शत्रुतापूर्ण अन्तरविरोधमा पुर्‍याएको र उक्त आरोपपत्रमाथि बैठकमा छलफल हुन नसक्ने मान्यता आफ्नो रहेको पनि बताएका छन्।

‘पार्टीभित्र हुने स्वस्थ र मर्यादित छलफलको सम्पूर्ण सीमा भत्काएर पार्टीभित्रको नीतिगत बहसलाई शत्रुतापूर्ण अन्तरविरोधमा रुपान्तरित गरेको र पार्टी विधान मात्रै होइन, राज्यका संविधान र कानुनसमेत आकर्षित हुने प्रकृतिका संगीन फौजदारी आक्षेपहरूसमेत लगाइएको उक्त अभियोगपत्रमाथि बैठकमा कुनै छलफल हुन नसक्ने मान्यता मैले सचिवालयका बैठकमा राखिसकेको छु’, पत्रमा लेखिएको छ, ‘पार्टीलाई सहज र स्वस्थ वातावरणमा फर्काउने हो भने उक्त लिखत निःसर्त फिर्ता हुनुपर्ने मेरो मान्यता यथावत् छ।’

उनले बैठकका कार्यसूची निर्धारण र ठोस प्रस्तावसहित पर्याप्त तयारीसाथ बैठकमा जानुपर्छ भन्ने मान्यतामा आफू रहेको पनि उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘परामर्श र सहमतिबाट तय गरिएका कार्यसूचीमाथि आधारित भएर आयोजना हुने बैठकमा मेरो सक्रिय सहभागिता सधैँभरि रहँदै आएको छ र भविष्यमा पनि रहने कुरासमेत स्पष्ट पार्न चाहन्छु।’ उनले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने आफ्नो जीवन आदर्श रहेको उल्लेख गर्दै सत्य व्यक्ति र संस्थाका सही विचार र व्यवहारमा अन्तरनिहित हुन्छ भन्ने आफूले ठान्ने पनि बताएका छन्। संक्रमणकालीन अवस्थामा पार्टी सञ्चालन सहमतिका आधारमा गर्ने विधिभन्दा बाहिर गएर खेलको उत्तरार्धमा केही नेताले खेलको नियम बदलेर जसरी पनि जित्ने महत्त्वाकांक्षा पालेर व्यग्र नेतृत्वमोह÷सत्तामोह निम्त्याएको प्रधानमन्त्रीको भनाइ छ।

‘हामीले एकीकरणको संक्रमणकालीन अवस्थामा पार्टी सञ्चालन सहमतिका आधारमा गर्ने विशेष विधि तय गर्‍यौं र पार्टीका कतिपय वैचारिक, संगठनात्मक र नेतृत्वका विषय दुई वर्षभित्र सम्पन्न हुने एकता महाधिवेशनबाट टुंग्याउने निर्णय गर्‍यौँ। एकीकरणको मूल कामको निर्णायक नेतृत्व गरिरहँदा मैले यिनै विधिलाई ध्यानमा राखेँ। त्यसै अनुरूपका संरचना निर्माण गरिए’, ओलीले भनेका छन्, ‘तर, मलाई थाहा थिएन– खेलको उत्तराद्र्धमा आएर केही कमरेड ‘खेलको नियम’ नै बदल्न लाग्नुहुनेछ र ‘जसरी पनि जित्ने’ महत्त्वाकांक्षाका निम्ति जुनसुकै हदसम्म जान तयार हुनुहुनेछ।’

उनले खेलको अन्तिमतिर आएर गर्न खोजिएको नियम परिवर्तन विभाजनकारीसमेत रहेको जिकिर गरेका छन्। ‘खेलको अन्तिमतिर आएर गर्न खोजिएको नियम परिवर्तन नैतिकता र राजनीतिक दृष्टिले गलत मात्रै होइन, विभाजनकारीसमेत छ भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु’, उनले भनेका छन्।

उनले गत स्थायी समिति बैठकमा देखिएको विवाद स्मरण गर्दै त्यसवेला पनि पार्टीलाई संकटबाट स्थायी समिति सदस्यको सामूहिक विवेकले सकुशल अवतरण गराएको उल्लेख गरेका छन्।

‘मलाई स्थायी कमिटीका कमरेडहरूको सामूहिक विवेकमाथि विश्वास छ। भदौ २६ गते पनि कमरेडहरूले पार्टीलाई यस्तै संकटबाट सकुशल अवतरण गराउनुभएको थियो’, उनले भनेका छन्, ‘आशा छ, कमरेडहरूले यसपटक पनि व्यक्ति विशेषका स्वार्थका लागि आन्दोलनकै सिकार हुने गरी सिर्जना भएको वर्तमान संकटपूर्ण अवस्थालाई आफ्नो सक्रिय पहलकदमी, सकारात्मक हस्तक्षेप र विवेकबाट निकास दिनुहुनेछ।’ अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

तपाईको प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।