काठमाडौं आइपुगे चिनियाँ रक्षामन्त्री, यस्तो छ उनको कार्यतालिका

2020-11-29   समाचार

काठमाडौं१४ मंसिर २०७७/चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे नेपाल आइपुगेका छन्। उनी केहीबेरअघि एयर चाईनाको विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

केही घन्टाका लागि काठमाडौं आइपुगेका उनी विमानस्थलबाट सीधै बालुटारस्थित चिनियाँ दूतावासमा जाने र केहीबेर आराम गरेपछि औपचारिक भेटवार्ताका लागि निस्किने बताइएको छ।

जंगी अड्डा स्रोतका अनुसार रक्षामन्त्री वेईको पहिलो औपचारिक भेट प्रधानसेनापति थापासँग हुनेछ। सैनिक स्रोतका अनुसार दिउँसो २ बजे उनी जंगी अड्डा पुग्नेछन्।

सेनापतिसँगको भेटपछि उनले थापासँगै नेपाली सेनाको टोलीसँग छलफल गर्ने कार्यक्रम रहेको छ। जंगी अड्डाको भेट र छलफल पछि उनले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्नेछन्। बालुवाटारमा प्रधानमन्त्रीसँगको भेटपछि उनी शीतल निवास पुग्ने कार्यक्रम रहेको छ।परराष्ट्र मन्त्रालयका अनुसार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटपछि उनी फर्किने कार्यक्रम रहेको छ।