राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ सर्वसाधारणका लागि खुल्दै

2020-11-21   समाचार

काठमाडौं०६मंसिर०७७/ नारायणहिटी दरबार संग्राहालयभित्र रहेको राजा वीरेन्द्र शाहको निजी निवास सर्वसधारणले हेर्न पाउने भएका छन्। वीरेन्द्रको निजी निवास ‘श्री सदन’को औपचारिक सुरुवात संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शनिबार गर्दैछन्।

नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, छोरी श्रुति र छोरा नीराजन बस्ने गरेको घर ‘श्री सदन’ आज (शनिबार) दिउँसो संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले खुला भएको औपचारिक शुभारम्भ गर्ने भएका हुन्।

सर्वसाधारण नागरिकले भने आइतबारदेखि श्रीसदन अवलोकन गर्न पाउने उनले जानकारी दिएका छन्। २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंश नास भएको थियो।

गणतन्त्र स्थापना भएर दरबार संग्राहालयमा परिणत भए पनि उक्त सदन बन्द थियो। सरकारले यसअघि वैशाख १ गतेबाट सदन खुला गर्ने निर्णय गरेको भए पनि कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण उक्त काम हुन सकेको थिए।

२०२३ सालमा बनेको यो सदन तीन तलाको छ। १२ कोठा भएको यो भवनको भुइँतलामा वीरेन्द्रको निजी कार्यालय थियो। उमेर पुगेपछि दीपेन्द्र श्री सदनबाट त्रिभुवन सदनमा सरेका थिए भने अन्य परिवारका सदस्य श्री सदनमै बस्दै आएका थिए।