0 COMMENTS

बुटवल, असोज २०/नेपाली कांग्रेसले प्रदेश ५ को स्थायी राजधानी दाङको भालुबाङ बनाउन सरकारले गरेको प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । तर, केही काँग्रेस सांसदले ह्वीप नमान्ने बताएका छन् ।

प्रदेश सरकारले संसदमा पेश गरेको प्रस्तावका विपक्षमा मतदान गर्ने पार्टीले निर्णय गरेको कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले बताए । ‘राजधानी दाङ सार्ने सरकारको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय भएको छ,’ कनौडियाले भने, ‘प्रदेशको नामाकरण लुम्बिनीमा भने हाम्रो असहमति छैन ।’

मंगलबार बस्ने प्रदेश सभा बैठकमा राजधानी र नामबारे मतदान प्रक्रियाबाट निर्णय हुने कार्यसूचि छ । प्रदेशसभामा सरकारले स्थायी राजधानी दाङको भालुवाङ क्षेत्र र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव पेश गरेको छ ।

उक्त प्रस्तावमाथि प्रतिपक्षी दलहरुको विरोधका बीच सोमबार छलफल भएको र सांसदहरुले उठाएको प्रश्नको जवाफ आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले दिइसकेका छन् । सोमबारको बैठकमा मन्त्री केसीले जवाफ दिने क्रममा कांग्रेसका सांसदहरुले होहल्ला गर्दै कुर्सी तोडफोड गरेका थिए । कुर्सी तोडफोड गर्ने आफ्ना सांसदहरुलाई कारबाही गर्ने चेतावनी कांग्रेसले दिएको छ ।

प्रदेशको नाम र राजधानीको निर्णय गर्न दुई तिहाइ मत चाहिने संवैधानिक व्यवस्था छ । ८७ जना सांसद रहेको सत्तारुढ दल नेकपाका मात्रै ६१ सांसद छन् । दुई तिहाइ पुग्न ५८ सांसद चाहिन्छ । कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन् । दाङ राजधानी तोक्ने प्रस्तावको नेकपाका १४ सांसदले नोट अफ डिसेन्ट लेखे पनि नेकपाले दाङकै पक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेको छ ।

प्रदेश ५ को स्थायी राजधानी दाङ बनाउने प्रस्तावको विपक्षमा मत हाल्न नेपाली कांग्रेसले ह्वीप जारी गरे पनि त्यसलाई नमान्ने सो पार्टीका एक सांसदले बताएका छन् । कांग्रेस सांसद डिल्ली चौधरीले आफूले ह्वीप नमान्ने र दाङ राजधानी बनाउने प्रस्तावको पक्षमै भोट हाल्ने बताएका हुन् ।

‘ह्वीप मानिँदैन, दाङकै पक्षमा भोट हालिन्छ,’ कांग्रेस सांसद चौधरीले भने, ‘मैले मात्र होइन, अरु जिल्लाका कांग्रेसका माननीयहरुले पनि दाङकै पक्षमा भोट हाल्नु हुन्छ ।’

नवलपरासी बर्दघाट सुस्ता पश्चिमदेखि बर्दियासम्मको भूगोललाई दाङ नै पायक पर्ने भन्दै उनले दाङ देउखुरीको भालुवाङ क्षेत्रलाई राजधानी बनाउने प्रस्ताव उपयुक्त रहेको बताए ।

प्रदेश ५ सरकारले राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।