धेरै दिन अनि रात तड्पाएकाे त्यो मुस्कान

 प्रतिभा भट्टराई/ कुनै दिन ,देखेर निकै खुशी लागेको त्यो मुस्कान सम्झेर तड्पिनु पर्ला भन्ने कस्ले सोचेको थियो र? तर समय र परिस्थिति प्रतिकुल भएकाले सायद, शितल जूनले पनि पोल्छ अनि फूलको धारले पनि रेट्छ भने झैँ त्यही मिठो मुस्कानले नै मेरा धेरै दिन अनि रात हरु बिथोलिएका थिए।

स्नातक तहमा पद्मकन्या कलेज भर्ना भएपछि हामीसँगै अधिराजकुमारी श्रुति पनि सोही कलेज भर्ना भइन् रे, भन्ने खबरले खै किन? नीकै हर्ष लागेको थियो। उनीसँग न भेट्न पाइन्थ्यो न गफ गर्न नै, न सँगै बसेर फोटो खिच्न सकिन्थ्यो न खाजा खान नै। त्यै पनि पहिलो पटक लागेको त्यो खुसी दोस्रो पटक फेरी त्यति खेर दोहोरियो जब हामी भूगोल विषयका विद्यार्थी साथीहरुको फोटो उनले मगाइन् रे भनेर दरबार पठाइयो भन्ने खबर कलेज बाट थाहा भयो।त्यसपछि परीक्षा का समयमा परीक्षा केन्द्रमा देखिने उनीसँग भेट भूगोल विषयको प्रयोगात्मक परीक्षा का दिन भएको थियो। उनको आगमन सँगै हामीले पनि कलेजले भर्खर निर्माण गरेको नयाँ अनि ठूलो र राम्रो सभा कक्षमा प्रवेश पाउने भएका थियौं। बीचमा रहेको गोलो टेबलको वरीपरि बसेका हामीहरू मा,म उनको सामुन्ने परेकी थिएँ। तर आफ्नै अगाडी बसेकी सुन्दर अनि कोमल अनुहारकी हँसिली उनलाई हेरिरहन मन् लागेको भएपनि, उनी कलेज आउने भए सँगै हामीलाई सिकाइएका अनुशासन पालना गर्नका लागि सकिएको थिएन भने परीक्षा शुरू हुन निक्कै समय बाँकी भएको भए पनि गफ गर्ने कुनै विषय नै थिएन।

केहीबेरको सन्नाटा पछि हाम्रो हातमा उत्तरपुस्तिका र प्रश्नपत्र पर्नासाथ हामी आफ्नो काममा व्यस्त हुन थाल्यौं। पछि परीक्षा को समय भन्दा लगभग १५ मिनेट जति बाँकी हुँदा म यसै आफूले लेखेका कुरा हरु हेर्दै थिएँ उनको पनि सायद काम सकिएको थियो। उनी हामीसँग भएकोले ज्यादै ज्ञानी भएर बसेको देखेर सायद शिक्षक हरु ले हाम्रो निगरानी बाहिरबाटै गरिरहनु भएको थियो।सबैको काम लगभग सकिए को ले होला हामी थोरै चलमलाउन थाल्यौं। यत्तिकैमा उनले मलाई हेरेर मुस्काउँदै भनेकी थिइन्,आहा! तिम्रो डायग्राम त कत्ति राम्रो मेरो त फुच्चे पो भयो।

यसरी उनीबाट आफूले प्रशंशा र मुस्कान पाएकोमा निक्कै खुशी लागेको भएपनि जवाफमा बोल्ने शब्द नपाएर म पनि यसै हाँसिरहेकी थिएँ। हामी हरु को थोरै हल्ला सुरु हुन थाले पश्चात बाहिर निस्कन भनेपछि हामी बहिरियौ र फोटो खिच्ने अनुमति माग्यौं। केही तस्बिरहरु सुरक्षा गार्ड हरुकै क्यामरा मार्फत मात्र लिन मिल्ने भने पछि हामीले केही तस्बिरहरु लिएर, सोहि दिन वातावरण दिवस पनि परेकाले उनको हातबाट कलेज को प्राङ्गण मा कपुरको बोट रोपिने कार्यक्रम भएकोले त्यतै तिर लाग्यौं र उनले कपुरको बिरुवा रोपे पछि ताली पनि पड्कायौ। यसरी आफ्नो काम सकिए पछि उनी सबैलाई नमस्कार गर्दै अनि मुस्काउँदै बाहिरिइन्।

यो नै मेरो नाम मात्रकी साथी उनी सँगको अन्तिम भेट भएपनि,केही समय पछि उनको र मेरो विवाह को टिकाटालो पाँच दिनको फरकमा गरिएको थियो। मेरो घरका आदरणीय सदस्य दरबार भित्र कार्यरत हुनुभएको र उनको टिकाटालो मा उहाँको उपस्थिति अनिवार्य भएकोले हाम्रो टिका टालो को दिन थोरै पछि सारिएको थियो। विवाह चाहिँ उनको मा धेरै तयारी गर्नु पर्ने भएका कारण केही महिना पछि गरिए को थियो।

यसरी विवाह भए पछि आफ्नो कर्म घरमा मैले दरबार भित्र का केही खबरहरु सुन्न पाउने भएकी थिएँ तर मैले भने ती कुराहरू लाई मात्र धेरै याद गर्थें जून उनीसँग सम्बन्धित हुन्थे। यही क्रममा २०५८, जेठ १९ मा दरबार भित्र घटेको त्यो विभत्स घटना भने म लगायत सारा विश्वले नै थाहा पायो अनि पुरै देश नै स्तब्ध पारिदियो।निकै दिन, हप्ता महिना अनि वर्ष सम्म पनि सारा नेपालीलाई लागेको कलंक, उदासी,दिक्दारी अनि ज्यादै दुःखित अवस्थाको स्मरण गराउने त्यो दिनको खबरले मेरा धेरै दिन अनि रातहरुमा त्यही मुस्कानले सताउने गरेको थियो जुन म जस्तै दुई छोरीकी आमा स्व .अधिराजकुमारी श्रुति राज्यलक्ष्मी देवी शाहले मलाई हेरेर मुस्काएकी थिइन्।