0 COMMENTS

जीवनमा पहिलो पटक भोग्नु परेको महामारी र लक डाउन का विषयमा सञ्चार माध्यम हरुले यति धेरै प्रचार प्रसार गरिरहेका छन् कि यसबारे अनविज्ञ सायद अबोध बालबालिकाहरु मात्र छन्।”मानिसले की पढेर जान्दछ की परेर”भन्ने उखान जस्तै विगतका महामारी हरुको बारे पढेर बुझेका हामीहरू, यो महामारी मा भने परेरै जान्ने अवस्थामा आइपुगेका छौं। आफू, आफ्ना आफन्त र देशवासी लगायत पुरै विश्वमा कसैले अकालमा अमूल्य ज्यान गुमाउन नपरोस् भन्ने चाहना सबैका हुँदा हुँदै पनि महामारीले जात, धर्म, वर्ग अनि उमेर नहेर्ने अनि भूगोलिकरण(globalization) का कारण बेला बखत देश,विदेश आउने जाने क्रम प्रायः सबै टोल र समाजका मान्छे हरुले गरिरहने हुनाले उनीहरू सँगै नचाहेर र नजानेर आएका संक्रमण ले कति दिन पछि कतिलाई असर गर्ने हो भन्न सकिने अवस्था पनि नरहेको साथै नयाँ महामारी भएको हुँदा यसका विषयमा सबै कुरा को राम्रो जानकारी र औषधि उपचार का उपाय हरुको पनि व्यवस्था भै नसकेको अवस्थामा हरेक व्यक्तिले आफ्नो आन्तरिक शक्तिको विकास गर्ने र आत्मबल बढाउन सकिने व्यवहार हरु सिकेर पुलिस वा प्रशासनको नियम पालन गर्नु एक मात्र विकल्प हो भनेर जान्दा जान्दै पनि काम सम्बन्धी विभिन्न बाहाना बनाएर घरबाटबाहिरिने व्यक्तिहरूलाई प्रहरीले पनि के भनेर मात्र सम्झाउने हो थाहा भएको छैन।

आफ्ना दिनचर्या हरु घरमै बसेर बिताउनु पर्दा परेका अप्ठ्यारा हरुको लिस्ट सायद सबैका लामा भइसके। हात पाखुरा बलिया भएका हरुले गर्न नपाएका परिश्रम, अगाडि आएको परीक्षा रोकिएकाले बेहोर्नु परेको तनाव, करोडौं लगानी गरी थालिएका कामहरूको बन्दले परेको घाटा, घरमा बुढाबुढी, बच्चा अनि बिरामीहरूले गर्न नपाएका रोगको उपचार लगायत काम रोकिए सँगै हात मुख जोर्ने समस्या ले जे जस्तो परे पनि महामारीका बेला आफ्नै घर परिवार सम्झेर भोक र प्यास को पर्वाह नगरी महिला र बालबालिका सहित आँट गरेर तय गरिएका लामो दुरीको यात्रामा समस्या भोग्ने हरुका समाचार हरुले हेर्ने र सुन्ने हरुका आँखा नरसाएका छैनन्। राम्रो होस् भनेर चालिएका कदमहरु ले पनि सबैलाई समेट्न सकिन्न।

यसरी आपातकालीन अवस्थामा जनता लाई दुःख हुन्छ भनेर जान्दा जान्दै, जनता कै अनमोल जिउ ज्यान को सुरक्षा को लागि लगाइएको लक डाउन किन र कस्का लागि भन्ने बुझेर पनि अटेर गरियो भने यसको समय अझै लम्बिन पनि बेर लाग्दैन ।अत्यावस्यक सामाग्रीको खरिदका लागि समय दिइएको भए पनि विभिन्न कामको बाहाना बनाएर घरबाट बाहिर निस्की प्रहरीले,देखे लुक्ने अनि प्रहरी पर पुगेपछि हिड्ने मान्छेहरूलाई कस्ले के गर्न सक्छ ?थाहा छैन, प्रहरी पनि त हर क्षण हरेक टोल र सडकमा पुग्न सक्दैन। आफ्नो ज्यानको सुरक्षा सधैं अरूले गरिदिनु पर्ने बन्नु आफ्नै लागि राम्रो होइन।

घरबाट बाहिरिए पछि जतिसुकै सतर्कता अपनाए पनि नपुग हुन सक्छ। हजारौं को परीक्षण गर्दा पनि संक्रमित कम भेटिनु र महामारीका कारण कसैको मृत्यु नहुनु अहिलेसम्मका राम्रा समाचार भए पनि ढुक्क हुने समय आइनसकेकाले , निडर हुनु हरेकका लागि जरुरी भए पनि महामारी सँग नडराई हेलचेक्र्याइँ गर्नु मुर्खता हुन जान्छ। स्वास्थ्य र सुरक्षा को जिम्मेवारी पाएका हरुले समेत त्रास र बाध्यताका बीच जनताको सेवामा खटिएका छन् भने सरकारले छुट्टी दिएका हरुलाई निस्कनु खासै आवस्यक देखिँदैन।

कमजोर र अस्वस्थ भएका बेला पीडा कम गर्न आवश्यक हुने आफन्त हरुका साथ समेत पाउन नसकिने यो महामारी ले निम्त्याउने जटिल परिस्थितिबाट बच्न सबैले समय अनुसार चल्नु आफू र आफ्ना हरुका लागि हितकर हुन जान्छ। यो महामारी नयाँ भएको ले उसले हामी र हाम्रो घर चिनेको छैन त्यसैले लिन नजाने हो भने उ पनि आउन सक्दैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।