0 COMMENTS

काठमाडौं, २ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच कुनै मनमुटाब नरहेको भन्दै सम्बन्ध राम्रो रहेको स्पष्ट पारेका छन् ।

सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् चर्चित कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । अन्तर्वार्ताको क्रममा पत्रकार धमलाले तपाई र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको सम्बन्ध कस्तो छ ? भनेर सोधेको प्रश्नमा दाहालले भने,“पहिलो कुरो के भने हामीले देशमा ठूला ठूला राजनीतिक परिवर्तनपनि राजनीतिक सहमति, समझदारी, र राष्ट्रिय सहमति र समझदारी । किनकी संघीय लोकतान्त्रिक गणतन्त्रसम्म देशलाई ल्याई पुर्याउनको लागि राजनीतिक दलहरुको भूमिका, नागरिक समाजको भूमिका, पत्रकारहरुको भूमिका र आम नेपाली जनताको भूमिका ईतिहासमा स्थापित भईनैसकेको छ । अब यसमा मेरो के कति रह्यो भन्ने कुरा ईतिहास र जनताले मूल्यांकन गर्ने कुरा हो । मलाई खुशी के छ भने त्यो राष्ट्रिय सहमति बनाउन र एउटा ऐतिहासिक परिवर्तनतिर देशलाई लैजानको लागि भूमिका खेल्ने, योगदान गर्ने अवसर मलाई प्राप्त भयो । म त्यसमा आफूलाई गर्वको महशुस गर्दछु । दोस्रो, देशमा राष्ट्रिय विपत्तिका स्थितिहरु यो बीचमा पनि आए । चाहे महाभुकम्पको कुरा होस् । कहिले ठूला–ठूला पहिरो र बाढीका कारणले भएको क्षति होस् ।

त्यो सबैमा मैले आफ्नो तर्फबाट कहिले प्रधानमन्त्रीको रुपमा र कहिले विपक्षी दलको नेताको रुपमा राष्ट्रिय सहमति बनाउन सबैलाई संगै लिएर जानको लागि मैले भूमिका खेल्ने अवसर प्राप्त गरें । मलाई त्यसमा पनि गर्व छ । र, अझ महत्वपूर्ण राजनीतिक कुरा के हो भने देशमा संविधान घोषणा गराउन, संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान घोषणा गराउने कुरा निकै चूनौतिपूर्ण कार्य भएको थियो । त्यसमा राजनीकि दलहरुका बीचमा सहमतिबिना संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान घोषणा गराउन सम्भव थिएन् । त्यतिवेला पनि मैले यो परिवर्तनको निम्ति ठूलो जोखिम र आन्दोलनको नेतृत्व गरेको नाताले र संविधानसभामा पनि एउटा महत्वपूर्ण उपस्थितिको नाताले मैले भूमिका खेल्ने अवसर प्राप्त गरें । मैले त्यतिवेला भएका प्रमुख राजनीतिक दलका नेताहरु कसैलाई प्रधानमन्त्री, तपाईलाई नै म समर्थन गर्छु भनेर पहिले नै एउटा प्रतिबद्धता व्यक्त गरें । कतिलाई मैले राष्ट्रपतिमा म समर्थन गर्छु भनेर भनेको थिएँ । र, यो सबै समझदारी बनाएर संविधान घोषणा गराउने सफलता पनि हामीलाई प्राप्त भयो । म त्यसमा पनि गर्व गर्दछु ।”

संविधान जारीपछि आफूहरुबीच संविधान कार्यान्वयन गराउने मुख्य चूनौति रहेको स्मरण गराउँदै अध्यक्ष दाहालले भने,“मुख्य चूनौति त देशलाई निर्वाचनतिर लगेर देशलाई लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा जान्छ कि जाँदैन् ? संविधान त घोषणा भयो, निर्वाचनतिर सिंगै राष्ट्र जान्छ कि जाँदैन् ? किनकी मधेश, पहाड र हिमाल सबै ठाउँमा बस्ने जनसमूदाय यो निर्वाचन प्रक्रियामा, लोकतान्त्रिक प्रक्रियामा, शान्तिपूर्ण रुपमा सहभागी हुन्छन् कि हुँदैनन् ? निकै नै ठूलो प्रश्न थियो त्यो । मलाई लाग्छ तपाईहरु पत्रकारहरुलाई राम्रोसँग थाहा छ । मैले त्यस्तो बेलामा दोस्रोपटक प्रधानमन्त्रीको हैसियतले मधेशका जनतालाई पनि विश्वासमा लिएर, पहाड, हिमाल सबैका जनतालाई भरोसामा लिएर सबैसँग सहकार्य गरेर चुनावी प्रक्रियामा मैले देशलाई लान मलाई सफलता प्राप्त भयो । त्यसमा मलाई खुशी छ । गर्व छ । अब अहिले यो पछिल्लो कारोनाको संक्रमणको महामारी छ, यो विश्वव्यापी रुपमा देखिएको छ। यो त सानो कुरो छैन् । धेरै नै ठूलो कुरा छ । मानव जातिको ईतिहासमा एउटा ठूलो मोड भएको छ यो कोरोना भाइरसको संक्रमण, यसले अझ सबैभन्दा विकसित र शक्तिशाली भनिएका देशहरुमाथि जसरी कोरोनाले आक्रमण गरिराखेको छ । र, आक्रान्त पारेको छ । यसले धेरै धेरै प्रश्न उब्जाएको छ । हाम्रो विकासको मोडेलको बारेमा, हाम्रो अर्थ नीतिको बारेमा, हाम्रो राजनीतिक प्रणालीको बारेमा, हाम्रो खानपिनको बारेमा, हाम्रो संस्कृतिको बारेमा, हामीले विकास गरेको ग्लोब्लाईजेशन भूमण्डलीकरणको परिस्थितिको बारेमा यसले धेरै धेरै प्रश्नहहरु जन्माईदिएको छ । मलाई लाग्छ यसले अन्ततः नेगेटिभबाट पोजेटिभतिर जाने ईतिहासमा पनि, प्रकृतिमा पनि र मानव जातिको ईतिहासमा पनि, मान्छेको सोच्ने र चिन्तन गर्ने तरिकामा पनि त्यो विज्ञानले काम गरिनै राखेको हुन्छ । यो नराम्रो महामारी जो फैलिएको छ अहिले । यसले एउटा नयाँ विश्व व्यवस्था कायम गर्न, नयाँ अन्तर्राष्ट्रिय एकता कायम गर्न, नयाँ मानवीय सम्बन्ध र संवेदनालाई विकास गर्न मद्दत गर्छ भन्ने मलाई लाग्छ । यस दृष्टिबाट हेर्दा अहिले मैलेपनि आफ्नो ठाउँबाट यो महामारीकाविरुद्ध मानव जातिको एकताको लागि, नेपाली जनताको एकता, नेपालका सबै शक्तिहरुको एकताको निम्ति लगातार अपिल गरिरहँदा प्रधानमन्त्री मेरै पार्टीको प्रधानमन्त्रीसँग मेरो यो विषयमा कुनै विमति भएको म देख्दिन्। हामी सबै मिलेर जानुपर्छ भन्ने कुरामा । अब कतिपय ईस्युहरुमा होला, तर अहिले त्यो ईस्युमा छलफल गर्ने यो बेला पनि होईन, हामीले बलियो एकताको प्रदर्शन गर्नुपर्छ । हामी सबै मिलेर यो महामारीविरुद्ध लड्ने संकल्प गर्नुपर्दछ । नेपाली जनताले बडो धैर्यताको साथ हामीलाई साथ दिईरहेका छन् । राजनीतिक नेतृत्वलाई जनताले अहिलेपनि साथ दिईरहेको स्थिति छ, त्यसलाई सुदृढ गर्नुपर्छ । यो बेलामा अन्य विषयमा कहिलेकाहीँ देखापर्ने बहसहरु र विवादहरुलाई अहिले अगाडि ल्याउन म विल्कुल चाहन्न । म पार्टी किनभने ठूलो पार्टी, हामीले ऐतिहासिक रुपले एकता गरेका छौं । र, त्यो एकताको नेतृत्व गर्नेमा म र केपी ओली दुई वटा अध्यक्ष भएरनै मुख्य पहल लिएको हुनाले यतिबेला म फेरि विवादका कुरा, विमतिका कुरातिर जान चाहन्न् । जो मान्छेहरु त्यसरी जान्छन् या प्रचार गर्छन् । उनीहरुले बास्तवमा देशको, जनताको आवश्यकत्ता र भावनालाई बुझेका छन् जस्तो मलाई लाग्दैन् । म चाहीँ अहिले त्यतातिर टिप्पणी गर्न चाहन्न् ।”

अध्यक्ष दाहालले यतिवेला देश कोरोनाको महामारीको संकटसँग जुधिरहेको सुनाए । उनले भने,“यो बेलामा धेरै समिक्षातिर लाग्नेपनि परिस्थिति होईन् । हो, हामीले पहल गरेको हो । गठबन्धन बनाएको हो । चुनाव जितेको हो । हाम्रो सरकार छ । हाम्रो ठूलो जिम्मेवारी छ । र, यो बीचमा भएका राम्रा कामहरु र यो बीचमा भएका कमिकमजोरीका समिक्षा गर्नुपनि पर्छ । गल्ती भएका छन् भने सच्याउनुपनि पर्छ । त्यसमा कुनै द्धिविधा र दुईमतको कुरा हुँदैन् । हामीले जे भनेर चुनाव लडेका थियौं । हामी सुशासन दिन्छौं । हामी भ्रष्टाचारलाई रोक्छौं । हामी जनतालाई विकास र समृद्धि दिन्छौं भनेर जे भनेका थियौं । हामी त्यही उद्देश्यमा अटल रहन सक्नुपर्दछ । तर, यी सबै विषयको समग्र समिक्षा गर्ने बेला चाहीँ अहिले होईन् । अहिले अझै दृढ एकता प्रदर्शन गरेर कोरोनाको विरुद्ध विजयी हाँसिल गर्नुछ । यसको लागि हामीले आफ्नो सम्पूर्ण शक्ति लगाउने बेला हो । त्यसकारण म अहिले समिक्षातिर लाग्न चाहन्न् ।”

तपाई त विगतमा पनि राष्ट्रिय समझदारी कायम गर्दै अघि बढेको नेता हो । अहिले आएर तपाई र प्रधानमन्त्री ओलीबीच राम्रो समझदारी छ भनेर जनताले बुझ्दा हुन्छ त ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा अध्यक्ष दाहालले समझदारी नभएको भएर पार्टी एकता भएर दुई वटा अध्यक्ष हुनेनै थिएन भन्ने जवाफ दिए । उनले भने,“मूलभुत रुपमा त समझदारी छँदैछ । अस्ति भर्खरै बसेको बैठकमा पनि हामीले पार्टी एकतालाई अझै सुदृढ गरेर लानुपर्ने हुन्छ । हामीले राष्टिय एकतालाई अझै सुदृढ गरेर लानुपर्ने हुन्छ । हामीले सबै दल र सबै पक्षसँग समझदारी बनाउनुपर्छ भन्ने कुरालाई अझै दह«ो बनाउने कुरा गरेका छौं । र, त्यसमा हाम्रो सहमति नै छ ।”
तपाईले अहिले के उद्देश्यले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनुपर्छ भन्नुभएको हो ? भन्ने अर्को प्रश्नमा अध्यक्ष दाहालले भने,“अब मैले राष्ट्रिय सहमति आवश्यक छ भन्ने सन्दर्भमा प्रधानमन्त्रीकै नेतृत्वमा संयन्त्र बनाएर जान सकिने कुरा गरेको हो । तर, मैले त्यसो भन्दैगर्दा मैले साथसाथै के पनि भनेको छु भने मुख्य कुरा सरकार हो । सरकारले बनाउने संयन्त्र, जो बनेको छ । त्यो ठीक छ । त्यसले नै काम गर्नुपर्छ । तर, राजनीतिक समझदारी र सहमति बनाउन प्रमुख प्रतिपक्षी दललगायतका दलहरुलाई पनि विश्वास लिएर जाने सन्दर्भमा मैले भनेको हो । मैले भनेको कुरा यदि सरकारलाई अहिले आवश्यक छैन भन्ने लाग्छ भने मैले फेरी जबरजस्ती गर्न खोजेको त होईन । मैले भन्ने त फेरि त्यस्तो बन्ने हो भनेपनि प्रधानमन्त्रीकै नेतृत्वमा हो है भनेको थिएँ । यदि म भएको भए त त्यसो गर्थें । तर, सरकार त अहिले हाम्रो अर्को अध्यक्ष कमरेड केपी ओलीको नेतृत्वमा छ । उहाँलाई जे सजिलो लाग्छ, त्यही गर्ने हो । तर, मुख्य कुरा राष्ट्रिय सहमित, राष्ट्रिय एकता बनाउन हामी सबैले आफ्नो ठाउँबाट पहल गर्नुपर्छ ।”
म भएको भए उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउँथे
तर, प्रधानमन्त्री ओलीले आजको दिनमा सरकार आफैं सक्षम छ र कुनै अर्को संयन्त्र चाहिँदैन् भनेर प्रतिक्रिया दिनुभयो नि ? भन्ने अर्को प्रश्नमा उनले थपे,“त्यस्तो त होईन्। गर्न सरकारले नै पर्छ । मुख्य जिम्मा भनेको सरकार नै हुन्छ । यो कोरोनाको विरुद्ध लड्ने, राष्ट्रिय सहमति बनाउने, सबै शक्तिहरुलाई विश्वासमा लिएर जाने, पारदर्शी तरिकाले काम गर्ने, यो सबै जिम्मा सरकारको नै हुन्छ । अब त्यो कति भयो ? कति भएन ? भन्ने कुरा त जनताले र ईतिहासले समिक्षा गर्छ । मेरो विचारमा म त्यही पार्टीको अर्को अध्यक्ष हुनुको नाताले सरकारले मूलभूत रुपमा यो लकडाउनलगायतका अरु कार्यक्रमहरु समयमै ल्याएको छ । र, जनतामा यो रोगको संक्रमण हुनबाट रोकथाम गर्नतिर लागेको छ भन्ने कुरामा म प्रष्टै छु । तर, यसलाई अझै भोलि फेरी समस्या बढ्नपनि सक्छ । त्यसको निम्ति सबै शक्तिहरु राम्रो समझदारी बनाउने, सहमति गर्नेतिर लाग्नुपर्छ । तपाईले जोड गरेर हामीभित्र झगडा छ भनेर बनाउन चाहनुभएको छ भने तपाईले आज पाउनुहुन्न । हाम्रोभित्र राम्रो एकता छ । राम्रो एकता बनाउनुपर्छ । म चाहीँ पार्टीलाई अझै एकता गर्ने । देशलाई अझै एकतावद्ध गर्ने र यो संकटको सामाना गर्ने पक्षमा म बोलिराख्छु । म आफ्नो ठाउँबाट सकेको योगदान गरिराख्छु । अहिले अन्य समिक्षातिर तपाई मलाई त्यस्ता प्रश्न आज नसोध्नुहोस् ।”
कोरोनाविरुद्धको लडाईमा सरकारले चालेका कदमप्रति आफ्नो कुनैपनि असन्तुष्टि नरहेको दाहालले स्पष्ट पारे । उनले भने,“अस्ति हामी सचिवालयको बैठक बसियो, मिडियामा थुप्रै कुराहरु आईराखेका थिए । स्वास्थ्य उपकरणको कुरा, औषधीको कुरा, के कुरा ? आएका थिए, हामी सबैले प्रधानमन्त्रीलाई र प्रधानमन्त्री आफैंले पनि भन्नुभएको थियो कि–यो के के भएको हो ? म छानबिनमा छु । दोषीलाई म छोड्दिन भन्नुभयो । हामी सबैले ल त्यसो गर्नुपर्छ भन्यौं । त्यो चाहीँ जिम्मा फेरी प्रधानमन्त्रीकै हो भन्ने कुरा भएको हुनाले हामीभित्र त्यस्तो कुनै विमति, समस्या भन्ने छैन् । मान्छेहरुले कृत्रिम ढंगले विमति छ भनेर प्रचार गर्यो भने त्यो सत्य हुँदैन् ।”
केपी ओली नै पाँच वर्षको प्रधानमन्त्री, हामीबीच विमति छैन्
उसो भए तपाईले यसअघि भनेजस्तो केपी ओली नै ५ वर्षको लागि प्रधानमन्त्री हो ? तपाई त्यसबाट ब्याक हुनुभएको छैन् नि ? भन्ने अर्को प्रश्नमा अध्यक्ष दाहालले प्रष्ट्याए,“सरकार परिवर्तनको अहिले सम्भावना छैन् । त्यो कुरा टुँगिसक्यो ।” तपाई प्रधानमन्त्री हुनको लागि भित्रभित्रै गृहकार्य गरेको कुरापनि त बाहिर आईरहेको छ ? यसमा चाहीँ कत्तिको सत्यता छ ? भन्ने धमलाको अर्को प्रश्नमा उनले भने,“त्यो बेकारको कुरा हो । त्यो सब चाहीँ मान्छेले मनोगत रुपमा आफ्नो चाहीँ बनको बाघले खानु कहाँ छ ? कहाँ ? मनको बाघले खाएजस्तो कसैलाई लाग्या होला । त्यो बेकारको कुरा हो । केपी ओलीजी नै पाँच वर्षको प्रधानमन्त्री हो। अहिले हामी सबै कोरोनाको विरुद्ध संघर्षमा छौं ।”
कोरोनाविरुद्धको संघर्षमा नेपालले विजय प्राप्त गर्छ भन्नेमा आफू विश्वस्त रहेको पनि दाहालको दाबी छ । उनले थपे,“अहिले हामीले जसरी काम गरिराखेका छौं । यसको रोकथाममा नै जोड दिएका छौं । अनि यसलाई नियन्त्रण गर्ने र उपचार गर्ने तयारी पनि हामीले गरिराखेका छौं । त्यसकारण यसमा नेपालले सफलता हाँसिल गर्छ । नेपाली जनतालाई सफलता प्राप्त हुन्छ भन्ने कुरामा म विश्वास गर्दछु । र, अन्तर्राष्ट्रिय रुपमा, यद्धपी वैज्ञानिकहरुले र थुप्रै स्वास्थ्य विज्ञहरु यसमा लागिरहेका छन् । ती सबैको भनाईले यसको अझैपनि भ्याक्सिन पत्ता लागेको छैन् । जबसम्म खोप पत्ता लाग्दैन् । सम्पूर्ण रुपमा निर्मुल गर्न त गाह«ो हुन्छ भन्ने भनाईहरु पनि आईरहेको छ । तर, पुरै संसार लागेको हुनाले छिट्टै त्यस्तो भ्याक्सिन बन्छ र यो नियन्त्रण हुन्छ भन्ने कुरामा आशावादी भएर विश्वास गरेर नै हामी अगाडि बढ्नुपर्दछ ।”
कोरोनाविरुद्धको लडाईमा भारत र चीनसँग सहकार्य जारी छ
कोरोनाविरुद्धको लडाईमा नेपालबाट भारत र चीनसँग पनि सहकार्य भैरहेको दाहालले विश्वास दिलाए । उनले भने,“तपाईले भनेजस्तै मलाई ईहिासमा यो कुराको पनि गौरव प्राप्त भयो भनौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि चिनफिसँग बडो नजिकबाट पटक–पटक बैठक गर्ने, छलफल गर्ने र अन्तरंग कुराकानी पनि गर्ने, अझ भारतको गोवामा त मेरो अन्तरंग कुरा गर्ने अवसर जुट्यो । र, यो त्रिदेशीय साझेदारीको बारेमा होस या हाम्रा दुवै छिमेकीसँग राम्रो सम्बन्ध विकास गर्ने बारेमा खुलेर कुरा गर्ने सन्दर्भमा मेरो विश्वासको गहिरो सम्बन्ध त दुवै नेतासँग बनेकै छ । र, मैले दोस्रो चोटी प्रधानमन्त्री हुँदाखेरि पनि दुवैतिर विशेष दूत पठाएर एउटा सन्तुलन कायम गर्ने, कताकता एकपाखे हुन्छ कि नेपाल भन्ने चिन्ता त्यतिवेला मानिसहरुको मनमा थियो । तर, हामी त्यस्तो होईन । हाम्रो स्वतन्त्र परराष्ट नीति, असंलग्न परराष्ट्र नीतिको आधारमा हामी निर्देशित छौं । नेपाल यसबाटै निर्देशित छ । र, त्यहीअनुसार मैले पनि भारत र चीन दुवैसँग एउटा सकारात्मक, रचनात्मक विश्वासको सम्बन्ध बनाउने पहल गरें । र, त्यसले एउटा सकारात्मक सन्देश पनि दियो पनि । र, अहिले यहाँसम्म आउँदा हाम्रो सन्तुलित सम्बन्ध छ भन्ने मलाई लाग्छ । र, यो कोरोनाकै सन्दर्भमा पनि मैले भारतीय नेताहरुसँग पनि र चिनियाँ नेताहरुसँगपनि सहकार्यको निम्ति, मैले उहाँहरुले गरेको पहलको निम्ति बधाईपनि भनेको छु । र, सहकार्यको निम्ति आवश्यकत्ता छ । र, हामीलाई सहयोगको खाँचो छ । अहिले यो सन्दर्भमा अलिक उपकरण, औषधी, अरु साधन र स्रोतमा सहयोग गर्न सक्ने स्थितिमा चीन छ । अहिले विश्वमा अमेरिका कोरोनाबाट सबभन्दा बढि आक्रान्त भएको अवस्था छ । युरोप आफैं आक्रान्त भएको स्थिति छ । यो भाइरस चीनको वुहानबाट सुरु भयो । तरपनि चीनले मूलभूत रुपमा अहिले उसको अर्थतन्त्रको कारणले पनि होला, अमेरिकालाई पनि थुप्रो सहयोग गरेको छ । युरोपलाई सहयोग गरेको छ । अफ्रिकालाई सहयोग गरेको छ भने हाम्रो छिमेकी नेपाललाई त सहयोग नगर्ने कुरा भएन ? त्यसकारण मैले राष्ट्रपतिलाई नै चिठ्ठी लेखेर सहयोगको अपेक्षा पनि गरें । र, यो माथि मूलभूत रुपमा चीनले जो विजय प्राप्त गर्दै गईरहेको छ त्यसको निम्ति मैले बधाई पनि भनें । त्यस्तैगरि भारतीय नेताहरुलाई पनि मैले भनेको छु । खासगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जसरी सार्कस्तरमा सहकार्यको निम्ति भिडियो कन्फरेन्समार्फत पहल लिनुभयो । मैले उहाँलाई पनि बधाई भनेको छु । उहाँले जसरी रोकथामको लागि त्यति विशाल भारतमा जुन पहल लिनुभएको छ, त्यसको निम्ति पनि मैले उहाँलाई बधाई भनेको छु । र, सफलताको शुभकामना भनेको छु । र, हामी सहकार्यको निम्ति तत्पर छु । हाम्रो प्रधानमन्त्रीपनि यो प्रक्रियामा सहभागी हुनुहुन्छ भनेको छु ।”
लकडाउन लम्ब्याउनुपर्छ, यो नै कोरोनाविरुद्धको मुख्य हतियार हो
कोरोनाविरुद्ध सरकारले लगाएको लकडाउन लम्ब्याउनुपर्छ भन्ने तपाईको पनि मान्यता हो ? भन्ने धमलाको अर्को प्रश्नमा उनले भने,“यो महामारीको प्रकृति हेर्दा यसको विश्वव्यापी स्थिति हेर्दा नेपालमा पनि विस्तारै खाली विदेशबाट आएकालाई मात्रै होईन, नेपालमै भएकालाई पनि संक्रमणका केही संकेतहरु देखिए, त्यसले गर्दा जतिसुके अप्ठ्यारो भएपनि लकडाउनलाई एउटा मुख्य हतियारको रुपमा हामीले प्रयोग गर्नैपर्ने देखिन्छ । अझै केही समय । अब त्यो सरकारले सबै स्थिति बुझिराखेकै छ । केही समय अझै हामीले धैर्यता लिर्नैपर्ने छ । केही समय पीडा भोग्नैपर्ने स्थिति छ । तर, दोस्रो कुरा दैनिक ज्यालादारी गर्ने, जनताको समस्याको सम्बोधन गर्ने उपाय, र केही मानिसहरु शहरबाट घर जान चाहन्छन्, तिनलाई उच्च सतर्कताका साथ घर जाने वातावरण बनाईदिने, किसानहरुको समस्यापनि सरकारले केही उच्च सतर्कताका साथ गरिदिने । व्यवहारिक पनि बन्नुपर्छ । यी दुई वटा कुरातिर हेरियो भने नेपाली जनताले फेरि पनि हामीलाई साथ दिन्छन् । नेपाली जनताहरु धेरै दुःख, कष्ट, विपद्हरु भोगेर आएका छन् । धेरै बलिदानीहरु गरेको जनता हुन् । नेपाली जनताले नबुझ्ने कुरा छैन् । यस्तो विषयमा नेपाली जनता संसारका सबैभन्दा सचेत जनताभित्र पर्छन् । यो कुरा बझेर मैले नेपाली जनताले सरकारलाई, पार्टीलाई र नेतृत्वलाई साथ दिन्छन् भन्ने विश्वास लिएको छु ।”
अध्यक्ष दाहालले विश्वभरि छरिएर रहेका नेपालीहरुले पनि अहिलेको यो कोरोनाको समस्यालाई गम्भिर रुपमा भोगिरहेको सुनाए । उनले भने,“चाहे त्यो अमेरिकामा होउन्, चाहे युरोपमा होउन् । चाहे मध्यपूर्वमा होउन्। जहाँ होउन् उहाँहरु यो समस्यासँग जुधिरहेका छन् । हामी नेपाली भएको नाताले संसारको जुनसुकै कुनामा बस्ने नेपालीहरुको समस्याप्रति गम्भिर छौं । कतिपय देशले तिमीहरु आफ्नो देश जाउ भनेको पनि सुनिन्छ । त्यस्तो अवस्थामा हामीले कुनै न कुनै उपाय अपनाउनुपर्छ । पार्टीहरुले, सरकारले र हामीले सोच्नुपर्ने हुन्छ । नेपालीप्रति हाम्रो विशेष दायित्व छ । यो बेलामा विभिन्न देशमा रहेका नेपालीहरुले आफ्नो अनुशासन पालना गरेर यसकाविरुद्ध जुध्नको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय एकता प्रदर्शन गर्ने कुरामा पनि नेपालीहरुले एउटा उदाहरण प्रस्तुत गर्नुपर्छ । हामी सबैको आ–आफ्नो दायित्व छ । सबैले मिलेर यो समस्याको सामना गर्नुपर्छ ।”
यो बेलामा व्यवसायीहरुले मुठ्ठी फुकाएर सहयोग गरौं
राहत वितरण प्रभावकारी भएन ? भन्ने पनि गुनासो आईरहेको सुनाउँदै उनले सही तरिकाले वितरण गर्नुपर्ने धारणा राखे । सरकारले यसबारेमा निर्णय गरिसकेकोले सबैले समन्वय गर्नुपर्ने उनको भनाई छ । उनले भने,“काठमाडौंबाट हिँडेर सप्तरी, सुनसरी जाने भनेर मान्छेहरु बाटो लागेका छन् । कुम्लो, कुटुम्बो बोकेर हिँडेका छन् । त्यो देख्दा बडो भावुकपनि हुने गरेको छु । त्यसकारण ती सबै जनताप्रति, मजदुरहरुप्रति, गरिब जनताप्रति मेरो विशेष सहानुभूति छ । उहाँहरुलाई सरकारको तर्फबाट राहतको घोषणा पनि भएको छ । साथसाथै, मैले निजी क्षेत्रका व्यवसायीहरु, अलि पुँजीपतिहरुलाई यस्तो बेलामा, किनकी यो कोरोनाले त अहिले पुँजीपति पनि भनेको छैन्, मजदुरपनि भनेको छैन् । यो जातिपनि भनेको छैन् । त्यो जातिपनि भनेको छैन् । यो देशपनि भनेको छैन् । त्यो देशपनि भनेको छैन् । यो धर्मपनि भनेको छैन् । त्यो धर्मपनि भनेको छैन् । संसारका मानिसमाथि मात्रै त्यसले एकै ढंगले आक्रमण गरेको छ । कुन ठूलो पदको ? कुन सानो पदको ? भनेर पनि त्यसले भेद छुट्याएको छैन् । यस्तो बेलामा हामीले अलिकति मानवीय हृदय खोलेर त्यस्तो निजी व्यवसायीहरुलाई अगाडि आउन र मजदुर र सबै निमुखाहरुलाई सहयोग गर्न अलिक मुठ्ठी खोल्न मैले सुरुमा पनि अपिल गरेको थिएँ । म आजपनि फेरि भन्न चाहन्छु । के रछ त धन भनेको ? हामीले भुकम्पको बेलामा एकचोटी भोग्यौं । सब घर, बंगला भनेजति सब भागभाग भयो । हामी सबै चौरमा पुग्यौं । सबै टेन्टमा बस्यौं । भुकम्पले झण्डैझण्डै सबैलाई समाजवाद आयोजस्तो बनाईदियो भनेर हामीले नेगेटिभ्ली टिप्पणी गरेको पनि सुन्यौं । अहिलेपनि मान्छे मात्रैलाई एकतावद्ध होउ भनेर नेगेटिभ्ली सन्देश दिएको जस्तो फिल हुन्छ । तिमीहरु चाहीँ यो अहंकार नगर । धनी छु भनेर घमण्ड नगर । ठूलो पदमा छु भनेर घमण्ड नगर । तिमी केही नै होईनौं । तिमीहरु मान्छे सबै एउटै हौ भनेर शिक्षा दिएजस्तो लाग्छ । त्यो बुझेर चाहीँ त्यस्ता निजी व्यवसायीहरुले यो बेलामा मुठ्ठी खोल्नुपर्छ भनेर म अनुरोध गर्न चाहन्छु ।”
आम रुपमा सरकारलाई र राजनीतिक नेतृत्वलाई जनताको अपार साथ छ
दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा गैसकेको र त्यो प्रक्रिया अघि बढिरहेकोले सबैले यसलाई सफल पार्न आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताए । उनले भने,“म त्यसको निम्तिपनि सबैसँग विशेष अनुरोध गर्न चाहन्छु।” नेपाल सरकारले कोरोनाविरुद्ध जे नीति बनाएको छ र जे कार्यक्रम बनाएको त्यो मूल रुपमा ठीक रहेको पनि दाहालको भनाई छ । उनले भने,“मैले सुरुमै सर्वदलीय बैठकमा पनि यो कुरा राखेको थिएँ, यो लकडाउन समयमै सरकारले गरेको छ । कोरोना संक्रमण रोक्नको लागि सबैभन्दा ठूलो कुरा त रोकथाम नै हो । सतर्कता अपनाउने कुरा हो । त्यसमा सरकारको तर्फबाट आधारभुत रुपले ठीक पहलकदमी भएको छ भन्ने नै ठान्दछु । र, नेपाली जनताले पनि आम रुपमा यसलाई समर्थन गरेर, सहयोग गरेर सफल पार्न अगाडि बढेकै मैले देख्छु । मैले त्यतिवेला पनि भनेको थिएँ, अहिलेपनि भन्छु र म भनिराखेकै छु । जतिबेला राष्ट्रिय विपत्ति या अन्तर्राष्ट्रिय विपत्ति आउँछ, त्यतिवेला हामीले राष्टिय एकताको र मानव जातिकै एकताको पक्षमा हामी उभिनुपर्ने हुन्छ । सबैसँग हातेमालो गरेर, सबैसँग सहकार्य गरेर, सबै एक भएरमात्रै हामी यसखालका विपत्तहरुको सामना गर्न सक्छौं । त्यो प्रयास मैले सुरुदेखि गरेको छु । र, अहिले सरकारले पनि सर्वदलीय बैठकमार्फत या विभिन्न रुपमा राष्ट्रिय सहमति बनाउन पहल गरेकै छ । र, त्यसलाई हामीले समर्थन पनि सबैले गरेकै छौं ।”
अन्य वर्षभन्दा यस वर्ष नयाँ परिस्थितिको अनुभुत सबैले गरिरहेको सुनाउँदै उनले यो महामारीविरुद्धको लडाई जित्न सबै एकजुट हुनुपर्ने पनि बताए । दाहालको भनाई छ,“अहिले संसार नै कोरोना भाइरसको महामारीको कारणले नयाँ संघर्षमा छौं ।”
मिलेर खाना पकाउँछौं, विहान ननभेज बेलुका भेज खान्छौं
अहिले लकडाउनको अवधिमा यहाँले कसरी समय व्यतित गरिरहनुभएको छ ? परिवारलाई कसरी समय दिनुभएको छ ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने,“अब मैले यो धेरै चोटी भनिनै सकें । फेरि एकचोटी भन्छु । म विहान प्रायः पाँच बजे उठिसक्छु । उठिसकेपछि आधा घण्टा मेरो संगित सुन्नेमा जान्छ । पूराना गीत सुन्छु । एकदम पूराना गीत सुन्छु । म आधुनिक गीतपनि सुन्छु । त्यसपछि नित्य कर्म गरेपछि मेरो एक्सरसाईज सुरु हुन्छ । म विहान चालिस मिनेटजति एक्सरसाईज गरेर खलखल पसिना निकाल्छु । म दैनिक पसिना निकाल्छु । नुहाईधुहाई गरेपछि पत्रपत्रिका हेर्ने गर्छु । पत्रपत्रिका अध्ययन गरेपछि मेरो घरमा अहिले सबैले एक्सरसाईज गर्ने गरिएको छ । घरको कम्पाउण्डमा कोही हिँड्ने, कोही साईकल चलाउने, म आफैंपनि २० देखि २५ मिनेट साईकल चलाउँछु । मेरो म्याडम त विरामी छन्, पहिले दैनिक थेरापी गरिन्थ्यो । तर, अहिले दैनिक थेरापी गराउन अस्पताल लैजान सकिँदैन् । हामी परिवारका सबै सदस्य मिलेर उनलाई यहाँ घुमाईन्छ । तपाईले पनि देखिसक्नुभयो । मेरो दायित्व छ । डाक्टरले पनि यो उपचारको क्रममा भने क्या, अब सीताजीले झण्डै तपाईलाई ५० वर्ष सेवा गर्नुभयो, अब तपाईले पनि सेवा गर्नुपर्ने हुन्छ उहाँलाई भने । यो विराम यस्तो हो कि सबैले सेवा गर्यो भने बाँच्ने हुन्छ, नत्र अप्ठ्यारो हुन्छ भनेर भनेको कुराले पनि मलाई छोएको छ । हामी परिवारका सबै सदस्यले त्यो फिल गर्छन् । अहिले अलिक प्रगति पनि भएकोजस्तो लागेको छ । अहिले अलिक सजिलोसँग हिँड्ने भएकी छिन् । त्यसमा पनि हामीलाई सन्तोष नै छ ।त्यसपछि हाम्रो समय जान्छ खानपिनमा । हामीले खानपिनको नियम बनाएका छौं अहिले । परिवारमा बसेर कसरी खाने ? बिहान ननभेज र बेलुका भेज खाने । बेलुका थोरै खाने नियम छ । विहान चाहीँ भयो भने (सधैं हुनपर्छ भन्ने छैन) भयो भने माछा, मासु खाने । अहिले समय भएकोले घरको छतमा दाउरामा खाना पकाउने गरिएको छ । त्यसो गर्दा अलिकति मेहनत पनि देखिनेभयो । सामूहिकजस्तो पनि भयो । खानेकुरापनि मिठो हुनेभयो । युट्युबमा हेरेर खाना बनाउनतिर पनि लागिएछ ।”
क्यापिटल र द फ्चयुर ईज एसियन पुस्तक पढ्दैछु
उनले अहिले आफ्नो समय अध्ययनमा पनि खर्च भैरहेको सुनाए । उनले थपे,“दिउँसो चाहीँ म पढ्छु । खासगरी अहिले यो विश्व व्यवस्थासम्बन्धी, अहिलेसम्म पुँजीवादले विकास गरेको विश्व व्यवस्थाले के ल्यायो ? के भयो ? भन्नेबारेका किताबहरु मैले पढ्छु । थोमसले लेखेको क्यापिटल भन्ने पुस्तक पढेको छु । यो किताब धेरै महत्वपूर्ण छ । मेरो अहिले त्यसमा ध्यान छ । अर्को एउटा फ्युचर ईज एसियन भन्ने पराग खन्नाको पुस्तक पनि पढ्दैछु । दिउँसो दुई तीन घण्टा पढ्ने, लेख्ने गरेको छु । बेलुका फेरि हाम्रो घुम्न निस्किने हुन्छ । फेरि एक्सरसाईज । विहान ब्रेकफाष्टपछि आवश्यक हेरेर नेताहरुसँग फोनमा कुरा गर्ने गरेको छु । प्रधानमन्त्रीले बोलाउनुभयो भने भेट्न जाने गर्छु ।”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।