दु:खमा ताना मार्ने काम कसैले नगरौ-सारिकाश्री

प्रिय मित्रहरु, हामी सम्पूर्ण न्युयोर्कबासी नेपालीहरु कोरोना भाईरसको ईपीसेन्टरमा बसेर यो अत्यास लाग्दो क्रुर समयसँग लडीरहेका छौ।अहिलेसम्म यहाँ पाच जना नेपालीको मृत्‍यु भईसक्यो।अरु कती संक्रमित हुनुहुन्छ कुनै आकड़ा छैन। सकारात्मक सोच राख्दै आत्माबल जतीनै बलियो बनाउन कोशीस गरे पनि आफ्नै आँखा अगाडि मृत्‍यु नाचेको देख्दा, आफ्ना मान्छेहरु भकाभक मृत्‍युको गास बनेको देख्दा भएको अली अली होस पनि हराउदो रहेछ, दह्रो मुटु पनि यसै यसै काप्दो रहेछ। यो समयमा सकारात्मक भावहरुको कती खाचो छ, त्यो पनि आफ्नो नेपाली समुदायबाट, अझ बढी महसुस भईरहेको छ। हामी यती बेला क्रुर भाईरस बिरुद्धको बाहिरी लडाईंका साथ बन्द कोठाभित्र यसको प्रभावले निम्त्याई रहेको मानसिक अन्तरद्वन्दको दोरोहो लडाईं लडी रहेका छौ।यो बन्द समयमा समय काट्न सबैभन्दा प्रयोग हुने माध्यमनै शोशल मिडिया रहेछ। केही समय यता हामीलाई खट्किएको खास गरेर युरोप, अमेरिकामा हुने नेपालीहरुलाई लक्षित गरेर सोसल मिडियाहरुमा बनाईएका जोक्स,मिम्स, मन बिझ्ने गरी लेखिएका स्ट्याटसहरु हुन र यो प्रचलन धेरैनै बढ्दो छ।यो पढ्दा, हेर्दा हामीलाई हाम्रो चहराई रहेको घाऊमा नुनचुक छर्किए झै हुन्छ।

हामी नेपाली संसारको जुनसुकै कुनामा रहु हाम्रा आमा -बुवा, दिदी-बहिनी, दाजु -भाई पिडामा पर्दा हामी बाहिर रहेकाहरुलाई पनि उत्तिकै पिडा हुन्छ। हिजो जस्तो लाग्छ भुईचालोले देश ढल्दा हामी पनि काम गर्ने ठाउँमा जोडीएको टेलीभिजनमा त्यो भयानक दृष्य हेर्न नसकी रुदै घर फर्किएको, अली अली पनि राहत होला कि भन्दै टोक्रो थापेर एकएक सुकी जम्मा पारेको, स्वयम सेवक बनेर नेपाल आमालाई फेरी उठाउन सकिन्छ कि भनेर जागिरनै लात हानेर मातृभूमी कुदेको । यस्तो कुन चाँही दु:ख, पिडा नहोला जहाँ आफ्ना नेपाली दाजुभाइ, दिदीबहिनीहरुलाई दु:ख पर्दा आफ्नो गास काटेर हामीले आफ्नो सहभागिता नजनाएको ? यस्तो कुन पल होला हामी टाढा रहेर पनि हामी आफ्नो कर्तब्यबाट चुकेको? कुन चाँही यस्तो दु:ख, पिडा होला जहाँ घरदेश रुदा परदेशीको आँखा नभीजेको? यो समयमा यस्ता कुराहरु उप्काएर हामीले गरेको सहयोग, सद्भभावको गिन्ती गराउन खोजेको नठान्नु होला। किनकी प्रेम, स्नेह, सद्धभाव त्यो अनमोल चिज हो जसलाई कुनै शब्दले व्याख्या गर्नै सक्दैन। बस् यती मात्र भन्न खोजेको हो कि हामी जहाँ रहु हाम्रो एकता जिउदो रहोस्, हाम्रो भाईचारा कतई नमरोस। हामीलाई थाहा छ सबै हाम्रो पिडामा सकरात्मक भाव लिएर हाम्रो हौसला बढाउदै हाम्रो साथ खडा हुनुहुन्छ। तर, जसलाई हाम्रो पिडाले छोएको छैन उहाहरुलाई मेरो दस औंला जोडेर आग्रह छ – प्लिज, यो समय देश बाहिर हुने कसैको पनि मनोबल गिराउने कुनै पनि कुरा नलेख्नु, नभन्नु होला । साथीहरु , आज बाचिएछ भने भोली त्यस्ता कुराहरु भन्ने दिन कती आउछन कती। भोली यही चौतारीमा निर्धक्क मनले “परदेसिनु रहर हो कि बाध्यता ?” बिषयमा बहस गरौला नि। बस् , यो समय घर भित्रै बसेर सकिन्छ भने आफ्नो आफ्नो इश्वरसँग सबैको सकुशलताका लागि प्राथना गरौ, सकिदैन भने छुद्र बचन बोलेर, लेखेर पिडासँग लडीरहेकाहरुको चित्त दुखाउने, मनोबल गिराउने, दु:खमा ताना मार्ने काम कसैले नगरौ।

प्रिय मित्रहरु, यो समय घरभित्रै थुनिए भनेर दिक्क पनि नमान्नु होला। हाम्रो वरपर सबै खराब मात्र भएका छैनन् एकपटक बाहिर चिहाएर हेरौ त प्रकृतिको मुहार कसरी निखारिएको छ। हरदम शहरतिर हानिने गोडाहरु आज कसरी गाउतिर बिस्तारै मोडिदै छन। पारिवारिक महत्व भुल्दै गरेका नवपिढीहरुले एकाएक कसरी पारिवारिक एकताको महत्व बुझ्दैछन्। ति सालौसाल बाझा खेतहरु अब अन्न झुल्ने आशमा कती मुग्ध छन। करेशा बारीहरुले कसरी अब लटरम्म फलफुल, तरकारी फलाउने सपना बुन्दैछन। आकाश आफ्नो स्व-निर्मलता बोकी कसरी झन झन निलो बन्दैछ। बिना बैश मुर्झाएका फुलहरु निस्चिन्तताकासाथ फेरी कसरी मुस्कुराउदै छन। मान्छेका कोलाहलभित्र कैदी बनेका चराहरु आज कसरी निर्धक्क साथ पखेटा फिजाएर उड्दै छन। रसायानिक धुवा, धुलो बिनाको स्वच्छ हावा कसरी आज हाम्रो झ्यालसम्म ठोक्किन आईपुग्दै छ। त्यसैले, यो समय परनिन्दा भन्दा आफ्नो अन्तरमनको यात्रामा जोड दिउ। चाइना, अमेरिकाका रोबोटिक उदय या अस्तताका कुरा भन्दा मानविय मुल्य- मान्यताका धरोहरहरुलाई अझ बलियो, अझ मज्बुत बनाउने कसरी त्यो बारे सोचौ। परनिर्भरताको न्युनीकरण गरी स्वावलम्बनका चिरस्थाइ बाटोहरु के के हुन सक्छन त्यसको खोजी गरौ। अझसम्म पनि हाम्रो आपुर्तीहरुमा त्यती कमी आईसकेको छैन। त्यसैले भित्र थुनिनु बाहेकका अरु समस्याले हामीलाई त्यती गाजी सकेको छैन। त्यसैले अझ पनि हामी आफ्नो खाली मस्तिष्कले प्रकृति हामी बिरुद्ध उभिएर अन्याय गरेको आभाष गर्छौ। जन्मदिने आमा हुन या आफ्नो छातीमा हामीलाई पाल्ने प्रकृति यि कहिल्यै पनि आफ्ना सन्तानसँग रिसाउदिनन्, अन्याय गर्दिनन। केही गल्ती भएको भए झक्झाउछिन, सम्झाउने चेष्टा गर्छिन। यो अहिलेको बिनास हामी मानव समुदायको आँफैले गरेको अतीको खती हो र यस्ता ज्यानमारा भाईरसहरु अतीका बारेमा सोच्नु पर्ने सुचकहरु हुन। यदी प्रकृतिले अन्याय गर्थिन भने हामीले उनको रक्षामा धर्म छोडे झै उनले पनि हाम्रो मौलिक बाच्ने आधारहरुमा आफ्नो धर्म छोड्थिन्।उनले आफ्नो धर्म नछाडेका कारणनै हामी घरभित्रै थुनिए पनि बाहिर हाम्रा बाच्ने आधारहरु अझै ज्युदो छन। घाम उदाएकै छ, हावा बहेकै छ, माटोले हाम्रो खाना उब्जाएकोनै छ, खोलाहरु आफ्नै गतीमा कलकल गरी बगेकानै छन । त्यसैले, यो लकडाउन आफु र आफु बसेको धर्तीका बारेमा फेरी एकपटक पुन: सोच्ने मौका मान्छु म त । यो मौकालाई हामी सबैले सक्दो सकारात्मक कर्मतिर लगाउदै आफु पनि बाचौ र आफु बस्ने धर्तीलाई पनि स्वास्थ्य राखेर बचाउ ! हामीले याे लेख सारिकाश्री काे फेसबुक बाट साभार गरेका हाै ।।