0 COMMENTS

सुर्खेत, २० चैत०७६/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको परीक्षण गर्ने मेसिन र विशेषज्ञ पठाएसँगै आजदेखि सुर्खेतमा यसको परीक्षण शुरु हुने भएको छ । वीरेन्द्रनगर कालागाउँस्थित प्रदेश अस्पतालमा स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशाला आजदेखि सञ्चालनमा आउने भएको हो ।

प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काले कर्णालीका सबै जिल्लाबाट कोरोना आशङ्कित बिरामीको नमूना सङ्कलन गरी यहाँबाटै परीक्षण गरिने बताउनुभयो । “मेसिन जडान, प्रयोगशाला स्थापनालगायतका सबै तयारी पूरा गरिसकेका छौँ, आजदेखि थ्रोट स्वाबको परीक्षण शुरु हुँदैछ”, उहाँले भन्नुभयो, “प्रयोगशालामा खटिने कर्मचारीलाई आवश्यक तालिम दिने काम पनि भइरहेको छ ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्णालीका लागि कोभिड–१९ को परीक्षण गर्ने आरटीपिसीआर मेसिनसँगै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत डा रामकृष्ण श्रेष्ठलाई विशेषज्ञका रुपमा खटाएको छ । विशेषज्ञ डा श्रेष्ठले एक साता सुर्खेतमै रहेर चिकित्सक तथा ल्याब कर्मचारीलाई आवश्यक परामर्श दिनुहुनेछ । उहाँले एक दिनमा १० जतिको परीक्षण गर्न सकिने र एक घण्टाको अवधिमा एउटा नमूनाको नतिजा बाहिर आउने बताउनुभयो । यसका लागि स्वास्थ्य मन्त्रालयले कर्णालीमा एक हजार किट पठाइसकेको छ । यसअघि कोरोना परीक्षणका लागि नमूना सङ्कलन गरी काठमाडौँ पठाउनुपर्ने बाध्यता थियो । सुर्खेतमै कोरोनाको परीक्षण हुने भएपछि रिर्पोट छिटो आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।