कोभिड–१९ ले मनोसामाजिक क्षेत्रमा पारेको असर र यसबाट कसरी टाढै रहने ?

विश्व अहिले कोभिड–१९ को संत्रास र संक्रमणको भएकाले आक्रान्त अवस्थामा रहेको छ । संसारका सबै मानिसहरु यतिबेला घरभित्रकै दायरामा सिमित रहनु परेकोले वृद्ध, बालक, युवा सबै उमेरसमुहका मानिसहरुमा त्रास र दिक्दारी अवस्थामा दिनहरु बिताइरहेका छन् । यसअघि विभिन्न कालखण्डमा विभिन्न मुलुकमा फैलिएको इबोला, सार्स र मर्स जस्ता माहामारीको समयमा पनि सेल्फ क्वारेन्टाइनको अभ्यास गरिएको थियो। नेपालीका लागि लकडाउन, क्वारेन्टाइन र होम आइसोलेसन जस्ता कुरा नयाँ हुन्।

पहिलोपटक भएकाले अलिअलि डर लाग्नु, धेरै जिज्ञासा हुनु स्वाभाविक हो। तर,कवारेन्टाइन समउअवधि लम्बिँदै जाँदा अब मानिसहरू निरास हुन थालिसकेका छन्। आत्तिन थालिसके जस्तो पनि देखिन्छ। कतिलाई लकडाउन अझै कतिदिन हुने हो भनेर दिक्क लागिसक्यो। दिक्क मानेर या लकडाउनको गाम्भीर्यता नबुझेर घरबाहिर निस्केको र प्रहरीको कारबाहीमा परेका कुराहरू पनि सञ्चारमाध्यममा आइरहेका छन्। महामारीको संक्रमण रोक्ने पहिलो उपाय होम क्वारेन्टाइन हो। तर यसले नजानिदो ढंगले मानसिक रोग पनि निम्त्याउँछ, निम्त्याइरहेको छ। धेरै मानिसहरुले मानसिक द्वन्दको अवस्थामा रहेका छन् । के गर्ने ? कसो गर्ने ? कता जाने ? के होला ? कहिले रोकिएला ? विश्व सकिन्छ कि के हो ? भन्ने आ-आफ्नो मनमा लागेका विभिन्न तर्कनाहरु मनमा लिएर कोठाभित्र रहेर कष्टकर जीवन व्यतित गरिरहेका छन् र कुनै पनि निर्णयहरु गर्न सकिरहेका छैनन् । सर्वसाधारण घरभित्र त बसे तर खानेकुरा सकिँदै जान थालेपछि चिन्तित हुन थालेका छन्। मुख्यतया दिनभरि मजदुरी गरेर बिहानबेलुकाको छाक टार्ने सर्वसाधारणलाई मानसिक बोझ धेरै छ। घरै बस्दा दैनिक काम रोकियो, व्यापार व्यवसाय घाटामा गयो, यत्रो घाटा अब कसर पूर्ति गर्ने भनेर तनाव लिने छुट्टै समूह छ। यस्तै तनावले चिट्चिटहापन हुने, निन्द्रा र भोक नलाग्ने, रिसाउने, मनमा डर पैदा हुने, दिमागले केही सोच्न नसके जस्तो हुने वा उदास हुने जस्ता समस्या देखिन्छ।

क्वारेन्टाइनमा बसेर दिनभरि सामाजिक सञ्जालमा कोरोनासम्बन्धी कुराहरू पढ्ने, अफवाह फैलाउने खालका झुटो समाचार बढी पढ्ने बानीले पनि मानिसलाई मानसिक बिरामी बनाउँदै लैजान सक्छ। पहिले दिनभरि काम गरिन्थ्यो, यताउता दौडधुप हुन्थ्यो। यस्ता कुरामा धेरै अल्झिने फुर्सद हुँदैनथ्यो। घरमै बसेपछि कोरोनाकै बारेमा पढ्ने, यसकै कुरा गर्ने सोच्ने भइरहेको छ। यसले एन्जाइटी बढाउने तथा नयाँ खाले मानसिक बिरामी जन्माउने सम्भावना बढी छ। जबजब रोगव्याधी या प्राकृतिक विपद् आएको छ यसले स्वतः मानसिक रोग केही हदसम्म बढाएको छ। जसरी १० वर्षे जनयुद्ध र भूकम्पले बिरामी बढेका थिए। हरेक उमेरका व्यक्तिमा यस्ता समस्या देखिन सक्छन्। बालबालिकामा पनि यस्ता समस्या धेरै देखिएका छन्। केही मानिसहरुमा यो त्रास बढी नै मात्रामा देखिन सक्छ, जसका कारण ती व्यक्तिलाई निरन्तर त्रासको महशुस हुने र असहज हुने समस्या देखा पर्न सक्छ । जसका कारण उक्त व्यक्तिको दैनिक जीवनमा असर पर्न सक्छ ।

उनीहरुको दैनिक व्यवहार पुर्ण व्यव्स्त रहने व्यक्ति आफुलाइ घरको दायरामा सिमित राख्नुपर्दा विभिन्न प्रकारका भावनात्मक ,व्यवहारिक, शारिरिक एवम् मनोवैज्ञानिक असरहरु देखिनु स्वभाविक प्रक्रियाहरु हुन् भने कोभिड–१९ ले निम्त्याउन सक्ने मनोसामाजिक समस्या र मानसिक स्वास्थ्य केके हुन सक्छन् र यस्ता समस्याहरुलाइ कसरी न्यूनीकरण गर्न सकिन्छ र मनोसामाजिक सहयोग कसरी गर्न सकिन्छ भन्ने विषय आजको सवाल हो ।

एउटा मनको कुरा अर्को मनले बुझ्ने सहयोगी संजालको अभाव, समस्या आईपर्दा सामना गर्ने नकारात्मक सीपको प्रयोग र पुर्व अवस्था ग्रहण गर्ने क्षमताको अभावमा कुनै पनि व्यक्तिमा मनोसामाजिक समस्या उत्पन्न हुन्छ । व्यक्तिमा मन तथा समाजबिच निरन्तर तालमेलको अभावले उत्पन्न हुने भावनात्मक समस्यालाई मनोसामाजिक समस्या भनिन्छ । मनोसामाजिक समस्या भएपछि व्यक्तिको व्यवहार वा क्रियाकलाप असामान्य हुन्छ । दैनिक क्रियाकलाप सुचारु रुपले संचालन गर्न कठिन हुन्छ । यसले व्यक्तिहरुमा नकारात्मक भावना, सोचाई, धारणा र व्यवहारमा परिवर्तन आउने गर्दछ । व्यक्तिको भावना (मनमा), शरीर, व्यवहार र सम्बन्धमा विभिन्न समस्याहरु देखिन्छ भने त्यो नै मनोसामाजिक समस्या हो । एक व्यक्तिको कारण समुदायमा रहेका अन्य व्यक्तिहरु र समुदायमा भएका सामाजिक क्रियाकलापका कारण व्यक्तिहरुलाई मनोसामाजिक समस्याहरु हुनसक्छ ।

मनोसामाजिक समस्याका कारणहरु पनि छन् । जस्तै :– बेचबिखनमा पर्नु, सामाजिक लान्छानाहरु लगाउनु, दाइजो प्रथा, प्राकृतिक प्रकोप, निको नहुने रोगहरु लाग्नु, सामाजिक विभेद, घरेलु हिंसा तथा दुव्र्यवहार, हिंसात्मक कार्यहरु, आर्थिक समस्या, बेरोजगारी, दुर्घटना, यातना, प्रेममा असफलता, केही कार्य वा योजनामा असफल हुँदा, आफन्तको निधन हुँदा, बाल्यकालको नराम्रा घटनाहरु आदि कारणले गर्दा मनोसामाजिक समस्या देखापर्ने हुन्छ ।

कोभिड–१९ ले मनोसामाजिक समस्या भएपछि देखिनसक्ने असरहरु –
– शरीर भारी गह्रौ भएको महसुस गर्नु
– निद्रामा गडबढ हुनु
– सजिलै वा छिटो थकित महसुस गर्नु
– लगातार पेट तथा टाउको दुखिरहनु
– आत्म विस्वासमा कमि हुनु
– सोच्न सक्ने शक्तिमा ह्रास आउनु
– घटनाको बारबार झल्को आइरहनु
– निर्णय लिन र दिन नसक्नु
– छिटो रिस उठनु
– संकालु हुनु
– झर्को मान्नु
– निराश हुनु
– एक्लोपनको महसुस हुनु
– आफुलाइ दोसि ठान्नु
– चिन्तित भइरहनु
– शंका गर्नु
– समाज विरोधी क्रियाकलापहरु गर्नु

मनोसामाजिक समस्या थाहा पाउने सहज तरिका : यदि व्यक्तिले गर्ने दैनिक क्रियाकलाप परिवर्तन भएमा वा आफ्नो दैनिक रुटिनप्रति चासो नदेखाएमा सामान्य भन्दा फरक खाले व्यवहार देखाएमा

समस्या परेको व्यक्तिले अभिव्यक्त गर्ने भावनाहरु :-
समुदाय अनुसार मनोसामाजिक समस्यामा परेको व्यक्तिले व्यक्त गर्ने तरिकाहरु फरक फरक हुन्छन् । जस्तैः मन भत्–भत् पोलिरहन्छ, टाउको तातिन्छ, टाउको दुख्छ, आत्मा रून्छ, दिक्क लाग्छ, विरक्त लाग्छ, नरमाइलो लाग्छ, जिउ सिरिङ्ग सिरिङ्ग हुन्छ, मुटु झस्किन्छ, मन चिसो हुन्छ, जिउ भारी हुन्छ, जिउ गल्छ, ,कसैले बोलाएको जस्तो झझल्को आउछ छाती पोलेको जस्तो हुन्छ, छाती थिचेको जस्तो हुन्छ, हात खुटा छुटेको जस्तो हुन्छ, शरीर भारी हुन्छ आदि ।

मनोसामाजिक सहयोग :
मनोसामाजिक सहयोगले मानिसको स्वस्थ सामाजिक सम्बन्ध कायम गरी आफ्ना जीवनका आवश्यकतालाई प्रभावकारी तथा सन्तुष्ट रुपले पुरा गर्न क्षमता अभिवृद्धि गर्दछ । मनोसामाजिक सहयोगबाट मानिसले आफ्नो जीवनमा आइपर्ने वाधा, अड्चन, भावनात्मक तनावलाई सही तरिकाले सामना गर्दै तथा आफ्ना स्रोत तथा साधनलाई परिचालन गरी मानसिक तथा सामाजिक रुपमा आफुलाई विकास गर्न सक्दछ । मनोसामाजिक सहयोग अन्तरगत निम्न कुराहरु पर्दछन् ।

मनोविमर्श :
स्व-हेरचाहका विधिको वारेमा जानकारी दिने

तनाव र चिन्ता कम गर्दा यस्ता उपायहरु अवलम्बन गर्नुपर्नेछ :
१. सकेसम्म परिवारका सदस्यहरुसंगै बस्ने ।
२. परिवारका सदस्यहरु टाढा भए नियमित सम्पर्क रहिरहने ।
३. मनका भावनाहरु सेयर गर्ने ।
४. खाना, खाजा, पानी, निन्द्रामा ध्यान दिने ।
५. बालबालिकाहरुलाई क्रियाकलापमा व्यस्त गराउने । उनीहरुका लागि कथाका कितावहरुको व्यवस्था गर्ने । चित्रहरु बनाउन लगाउने । बालबालिकाहरुलाई डरलाग्दा घटना वा समाचारहरु नसुनाउने ।
६. जानकारी लिन परेमा विश्वसनिय समाचारहरु हेर्ने ।
७. यो रोग विश्वको साझा समस्या हो । समस्या व्यस्थापन गर्न शक्तिशाली देशहरु लागि परेका छन् । विस्तारै समस्याहरु कम हुन्छन् भन्ने भावनाको विकास गराउने ।
८. नियमित योग अभ्यासहरु गर्ने ।
९. आस्था अनुसार आफुलाई मन लाग्ने क्रियाकलापमा व्यस्त रहने ।
१०. गर्दै आएको दैनिक क्रियाकलापलाई निरन्तरता दिने ।
११. आफुलाई संका लागेका स्वास्यकर्मी वा मनोविमर्शकर्ताको सहयोग लिने ।
१२. आफुलाई पनि माया गरौँ, अरुलाई पनि माया गरौं ।
१३. अरुका कुराहरु सुनौं, आफ्ना कुराहरु पनि अरुलाई सुनाउँ ।
१४. प्रशस्त मात्रामा पानी पिउने ।
१५. सकारात्मक मात्र सोच्ने ।
१६. बिहान उठेर शारिरिक ब्यायाम तथा योगा गर्ने ।

कोरोनाको अनावश्यक त्रासबाट बच्न सबैभन्दा प्रभावकारी उपाय भनेको परिस्थितिको सत्य–तथ्य बुझ्न सक्ने हुनु हो । कोरोनाको संक्रमण, यसको जोखिम र लक्षणहरुबारे विश्वासिलो र भरपर्दो निकाय र माध्यमबाट मात्र सूचना/जानकारी लिनु जरूरी हुन्छ न कि सामाजिक सञ्जालमा शेयर गरिने ‘उत्तेजक’ कुराहरुबाट । हामी सबैले सत्यतथ्य र विश्वसनीय समाचार मात्र हेर्ने, सामाजिक सञ्जालमा शेयर गर्ने, अफवाहपूर्ण समाचारहरु निषेध गर्ने, स्वस्थ जीवन शैली अपनाउने र कोरोनाको संक्रमणबाट आफू जोगिन र अरुलाई पनि जोगाउन विशेष सावधानी अपनाऔं ।

देबकी पौडेल – अध्यक्ष : सकारात्मक प्रेरणा अभियान नेपाल