0 COMMENTS

काठमाडौं, ९ माघ । सरकारले स्कुल बसहरुलाई बिहान नौं बजेभित्र अनिवार्य रुपमा स्कुल कम्पाउण्डभित्र प्रवेश गरिसक्नुपर्ने व्यवस्था गर्न लागेको छ । गत १ माघदेखि नै लागू हुने गरी सरकारले यस्तो नियम बनाउन खोजे पनि सरोकारवालाहरुसँगको सुझाव अनुसार केही समयपछि मात्र यस्तो नियम लगाउनेमा सरकार पुगेको छ ।

सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न भन्दै ३७ बुँदे कार्ययोजना पारित गरेको थियो । गत १५ पुसमा बसेको मन्त्रीपरिषद बैठकबाट ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धी अल्पकालीन कार्ययोजना २०७६’ पारित भएको हो । उक्त कार्ययोजनाको १४ नम्बरमा स्कुल बसहरु बिहान नौं बजेसम्म अनिवार्य रुपमा स्कुलको कम्पाउण्डभित्र प्रवेश गरिसक्ने व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई जिम्मा तोकेको थियो । सरोकारवाला संघ संस्था तथा निकायले तत्काल यस्तो नियम लागू गर्न कठिन हुने जनाएपछि सरकार तत्कालका लागि पछि हटेको छ । सरकारले आगामी शैक्षिक सत्रदेखि भने यो नियम लागू गर्न लागेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले नौं बजेभित्र बसहरु विद्यालय कम्पाउण्डभित्र छिराईसक्ने व्यवस्था गर्न सबै सकरात्मक भएको भन्दै तयारी भइरहेको जनाए । ‘यसमा सबैको सहमति छ, अब केही महिनापछि यो नियम लागू हुन्छ,’ उनले राजधानीसँग भने ।

स्कुल बसहरु बिहान ९ देखि १० बजेपछि पनि सञ्चालन हुँदै आएका छन् । ‘पिक आवर’ मा स्कुल बस सञ्चालन हुँदा उपत्यकाको ट्राफिक जाम झनै थपिन पुगेको आरोप लाग्ने गरेको छ । यो खबर आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।