१३ औं साग : तेक्वान्दोमा थपियो २ स्वर्ण, पदक तालिकामा नेपाललाई १५ स्वर्ण

2019-12-03   खेलकुद

काठमाडौं , १६ मंसिर । नेपालले १३ औं सागको टिम पुम्सेमा थप दुई स्वर्ण पदक हात पार्न सफल भएको छ ।

ललितपुरको सातदोबाटोस्थित तेक्वान्दो मुख्यालयमा भएको पछिल्ला दुई खेलमा नेपाली खेलाडीहरुले मुलुकलाई यो सफलता दिलाएका हुन् ।

२३ देखि २९ वर्षसम्मको समूहमा निता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राईको टोलीले श्रीलंकाको चुनौती पन्छाउदै स्वर्ण पदक जितेका हुन् । नेपाली टोली ७ दशमलव ९२० अंक प्राप्त गरेको थियो । श्रीलंका टोलीले ७ दशमलव ८१० अंक प्राप्त गर्दा कास्य पदक विजेता पाकिस्तानको ७ दशमलव ५२० स्कोर प्राप्त गरेको छ ।

त्यसरी नै १७ देखि २३ वर्षसम्मको समूहमा निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिनाको टोलीले भारतलाई हराँउदै स्वर्ण पदक प्राप्त गरेको छ ।

नेपाली टोली ७ दशमलव ९८० अंक बटुल्दा भारतीय टोलीले ७ दशमलव ९७० र कास्य पदक विजेता बंगलादेशले ७ दशमलव ७६० अंक बटुलेको थियो ।

यो जितसहित नेपालले तेक्वान्दोमा ७ स्वर्ण, १ रजत, २ काँस्य पदक बटुलेको छ भने, कराँतेमा ७ स्वर्ण र दुई रजत जित्दा ट्रयाथलनमा १ स्वर्ण गरी नेपालले पदक तालिकामा १५ स्वर्ण, ३ रजत काँस्य पदक जित्न सफल भएको छ ।