कक्षा ११ को नतिजा सार्वजनिक, कात्तिक ३०,  मंसिर १ गते पूरक परीक्षा हुने

2019-09-24   शिक्षा

भक्तपुर ०७असाेज०७६/राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ । नियमित र आंशिक (ग्रेड वृद्धि र अङ्काङ्कन) परीक्षार्थीको परीक्षाफल प्रकाशित गरेको बोर्डले जनाएको छ ।

नियमित तर्फको नतिजालाई जीपीए अनुसार नौ किसिमले बाँडिएको छ । तीमध्ये ३ दशमलब ६१ देखि ४ जीपीए हासिल गर्ने २ हजार ३ सय १९ जना छन् भने ३.२१ देखि ३.६० जीपीए प्राप्त गर्ने १३ हजार ७ सय ७२ जना र २.८१ देखि ३.२० जीपीए ल्याउने ३२ हजार २ सय ५३ जना छन् । यस्तै २.४१ देखि २.८० जीपीए पाउने ५४ हजार ८ सय १६ जना छन् भने २.०१ देखि २.४० जीपीए प्राप्त गरेका विद्यार्थी संख्या ८४ हजार २ सय ३९ छ ।

सबैभन्दा धेरै ८९ हजार ६ सय ५० जनाले १.६१ देखि २ जीपीए पाएका छन् । यस्तै ४३ हजार ३७ जनाले १.२१ देखि १.६० जीपीए, ८ हजार १७१ जनाको ०.८१ देखि १.२० जीपीए र २१ हजार ३ सय ४६ जनाको ०.८० जीपीए रहेको छ ।

गत वैशाख २९ देखि जेठ ८ गते सम्म भएको परीक्षामा पुराना र नियमित गरी ५ लाख ९ हजार ५२ परीक्षार्थी सहभागी थिए । तीमध्ये ३१ जना परीक्षार्थीको नतिजा रद्द भएको बोर्डले जनाएको छ ।

यसैबीच बोर्डले नतिजासँगै पूरक परीक्षाको तालिका पनि सार्वजनिक गरेको छ । आउँदो कात्तिक ३० गते शनिबार र मंसिर १ गते आइतबार गरी २ दिन पूरक परीक्षा हुने छ । कात्तिक ३० गते शनिबारको दिन अनिवार्य अंग्रेजीको पूरक परीक्षा हुने छ । यसैगरी एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा पनि सोही दिन हुने बोर्डले जनाएको छ ।

मंसिर १ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरु मध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा बोर्डले जनाएको छ ।