युवकमाथि गो*ली प्रहार

2019-09-23   अपराध

सप्तरी, ६ असोज/राजविराजबाट सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ बह्मपुरस्थित घर फर्किरहेका २४ वर्षीय भगवती मण्डलमाथि आइतबार राति अज्ञात समूहले गो*ली प्रहार गरेको छ ।

भारतीय नम्बरको मोटरसाइकलमा रहेका दुई जनाले डाक्नेश्वरी नगरपालिका–८ विषहरिया टोलस्थित कोशी पम्प नहर नजिक रोकी एक्कासि गो*ली प्रहार गरेको मण्डलले बताए । मण्डल राजविराजबाट स ११ प १३६६ नम्बरको मोटरसाइकलबाट बह्मपुरस्थित घर गइरहेका थिए ।

मण्डलको बायाँ हातको पाखुरामा गोली लागेर घाइते भएको अवस्थामा उपचारार्थ राति अस्पताल आएको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकले बताएका छन् ।

मण्डलको पाखुराबाट अत्यधिक रक्तश्राव भएकाले उनलाई तत्कालै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको अस्पतालका अहेव सन्तोष मेहताले जानकारी दिए । मण्डलको उपचार धरानस्थित प्रतिष्ठानमा भइरहेको छ ।

गो*ली प्रहार गरी फरार रहेका अभियुक्तको खोजीकार्य तीव्रताका साथ भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाइले बताए ।