0 COMMENTS

वि.सं. २०७६ आश्विन ०१ गते बुधबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर १८ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आजको चाडपर्व र उत्सव : सोह्र श्राद्धअन्तर्गत चतुर्थी श्राद्ध, आश्विन सङ्क्रान्ति, विश्वकर्मा पूजा, वास्तु दिवस, आश्विन कृष्णपक्ष (ञलागा) चतुर्थी तिथि, दिउँसो ०३:१३ बजेसम्म, त्यसपछि पञ्चमी तिथि, भरिणी नक्षत्र, (अहोरात्र व्याप्त), चन्द्रमा मेष राशिमा (अहोरात्र व्याप्त), व्याघात योग, मध्यरात्रीपूर्व ११:०३ बजेसम्म, त्यसपछि हर्षण योग, सुरुमा बालब करण दिउँसो ०३:१३ बजेसम्म, त्यसपछि कौलव करण मध्यरात्रीपछि ०३:३२ बजेसम्म, अन्तिममा तैतिल करण, आनन्दादि योग : काण, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : नैऋत्य, वारशूल : उत्तर, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:४९ बजे , सूर्यास्त : साँझ ०६:०४ बजे, दिनमान : ३० घडी ३८ पला (१२ घण्टा १५ मिनेट , रात्रीमान : २९ घडी २२ पला (११ घण्टा ४५ मिनेट)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आफ्नै घरमा चन्द्रमा भए पनि कृष्णपक्षको चन्द्रमा भएकाले त्यत्ति अनुकूल दिन छैन । अल्छीपन र अर्कमण्यता आजका ठूला शत्रु हुन्, अवसर आए पनि तिनलाई चिन्न नसक्नाले मौकाको फाइदा उठाउन नसकिने समय छ, त्यसैले संयम र धैर्य भई काम गर्ने दिन हो, आजको दिन । आज उपहार, मानसम्मान र पुरस्कारको प्रसङ्ग चले पनि आशा नराख्नु वेश हुनेछ । भोजभतेर र खानपानको अवसर जुटे पनि पेटको खराबीले सताउन सक्छ । सहयोगीहरूले दिएको वचन पूरा गर्न सक्दैनन् । समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन् । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
खर्च गराउने भावमा चन्द्रमाको बास छ तर सजग र सतर्क भई काम गर्नसके आजको दिन पनि लाभकारी बन्न सक्छ । प्रलोभन देखाउनेहरूको पछि लाग्नु भन्दा पनि आफ्नै सुझबुझ र परिश्रमको भर पर्नु राम्रो हुन्छ । बिग्रन लागेको कामबाट पनि धेरथोर लाभ नै मिल्नेछ । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुनसक्छ, सजग रहनुहोला । कडा मिहिनेत र उचित सुझबुझका आधारमा प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ । काममा मान्यजनको सहयोग प्राप्त हुनेछ । धार्मिक कृत्य, परम्परा वा मान्यजनको सेवासुश्रुषामा धेरथोर धनव्यय हुने दिन देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
समय उत्साहवर्द्धक रहेको छ । राज्यस्थानमा बलियो चन्द्रमाको उपस्थिति भएकाले अड्डाअदालत वा कुनै प्रशासनिक काममा सफलता प्राप्त गर्न सकिन्छ, ठूलाबडाको साथसहयोग प्राप्त हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् भने गरेका कामबाट प्रशस्त लाभ हुनेछ । व्यापारमा प्रशस्त फाइदा हुने योग छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पितृधनलाई उपयोग गर्न सकिने छ । छात्रछात्राले प्रतिभा तिखार्ने समय हो, पढाइमा राम्रै प्रगति हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । दाम, नाम, इनाम हात पर्ने बेला छ । दिगो फाइदा हुने काम प्राप्त हुनसक्छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । परिवारजनमा आत्मीयता बढ्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कर्मक्षेत्रमा रहेको चन्द्रमाको शुभप्रभावले गर्दा प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुनसक्ने समय छ । रोजगारी र बन्दव्यापारको क्षेत्रबाट प्रशस्त फाइदा हुने योग छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । व्यापारमा फाइदा हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । नाम, दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिने छ । सामाजिक दायित्व बढ्नेछ । कर्मको प्रतिफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । परिश्रम र मिहिनेतका बलमा प्रशस्त लाभ उठाउन सकिने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कृष्णपक्षको समय भएकाले भाग्यभावमा रहेको चन्द्रमाको कमजोर प्रभाव देखिन्छ । व्यस्त दिनचर्यामा सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने समय छ । मनमा डर र त्रासको निवास भएकाले दिक्क लाग्नसक्छ, तर परिश्रम र मिहिनेतको प्रयोग गरेमा अन्त्यमा खुसीको वातावरण बन्नसक्छ । सामाजिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ, यद्यपि नयाँ जिम्मेवारीले दूरगामी भविष्यमा सकारात्मक परिणाम प्राप्त हुनेछ, तर कुनै किसिमको नेतृत्व वहन नगरेको जाति हुन्छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट चाहिं प्रतिष्ठा मिल्न सक्छ । अनावश्यक र बकमफुसे कुराकानीमा समय बिताउनु राम्रो हुँदैन, प्रतिष्ठा प्राप्तिका लागि अलि बढी मिहिनेत र सङ्घर्ष गर्नुपर्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
अष्टम भावको चन्द्रमाको नकारात्मक ऊर्जा प्राप्त गर्ने समय छ । मनमा डर र त्रासको निवास हुनेछ, आत्मबल र निर्णयक्षमतामा कमी आउनाले बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिने छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला । सवारीमा सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पार्न सक्छ । तर आफ्नै राशिमा राशिपति रहेकाले जे गरे पनि हिम्मतले गरेको काममा फाइदा हुने दिन हो ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मन फुरुङ्ग हुनेछ । हाँके/ताकेका काममा सफलता मिल्नेछ । विभिन्न अवसरको प्राप्ति हुनाले मन प्रसन्न रहनेछ । सुन्दर पहिरनमा ठाँटिएर सँगीसाथी र मनपर्ने मान्छेको मन लोभ्याउन सकिने समय छ । घरपरिवारमा पनि साथसहयोग मिल्ने समय छ, प्रेम वा मित्रताको बन्धन कसिने समय छ । आफन्त र साथीभाइको सहयोग तथा हौसला प्राप्त हुनेछ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । मनग्ये धनलाभ हुनेछ । व्यवसायको सिलसिलामा रमाइलो यात्रा हुनसक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिने छ । व्यापार/व्यवसायबाट लाभ हुनेछ । कामबाट फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ । आत्मीयजनसँग भेटघाट हुने योग छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
यात्राको योग छ, यात्राबाट विशेष लाभ होला । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । आर्थिक क्रियाकलापमा सोचेअनुरूप फाइदा उठाउन सकिन्छ । हुन त तर्क र बहसमा पकड भएकै दिन छ, त्यसैले आत्मसम्मानको रक्षा हुनेछ । गरेका क्रियाकलापमा सफलता मिल्नेछ, पुराना समस्या र विघ्नबाधा हटाउन सकिने छ । बन्दव्यापारबाट सामान्यतया फाइदा नै हुने समय हो । श्रममूलक काम र कृषिचौपायाबाट पनि लाभ हुनेछ । अधिकार प्राप्तिका लागि अलि संघर्ष गर्नुपर्ला । दिन सामान्यतया राम्रै भए पनि छैटौं भावमा चन्द्रमा रहेकाले अनावश्यक वादविवादमा पर्न सकिन्छ, प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन्, विचारलाई तौलेर मात्र व्यक्त गर्न बुद्धिमानी हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज पठनपाठन र ज्ञानगुनका क्षेत्रमा लागेकाहरूका लागि उपलब्धी नै लिने दिन हो, तर मन कल्पना र भावना डुब्ने भएकाले अलि बढी तल्लीनता दिनुपर्ने हुन्छ । अनुशासित र लगनशील भएमा मात्र सोचेको उपलब्धि प्राप्त हुनसक्छ । प्रयत्न गरेका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । सेवामूलक कामबाट धनलाभ हुनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट सामान्य लाभ मिल्नेछ । बौद्धिक प्रतिस्पर्धामा धेरै आशावादी हुनु हुँदैन । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ, तर जस पाउन गाह्रो छ । सन्ततिका समस्यामा ध्यान केन्द्रित हुनसक्छ । उपहार वा पुरस्कारको पर्खाइमा हुनुहुन्छ भने निराशा हात पर्नेछ । आफ्नै बाध्यताले सहयोगीहरूले साथ दिन सक्दैनन् । खेलवाडमा रुचि जाग्न सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
चौथो भावमा रहेको अशुभ चन्द्रमाको प्रभावले मानसिक तनाव र चिडचिडेपन बढ्ने दिन छ । चिन्तन तथा एकान्तमा मन रमाउनेछ । परिवारमा आमा वा पति/पत्नीको स्वास्थ्यस्थितिका बारेमा सचेत हुनुपर्छ । पारिवारिक सद्भाव प्राप्त गर्न सकिंदैन । आत्मीयजनसँगको दूरी बढ्ने छ । गर्नै पर्ने काम माया मारेर छरछिमेकी वा सँगीसाथीको काममा खट्नु पर्ने समय छ । बेसुरमा वचन दिने बानीले पनि दुःख पाइने छ । पार्टनरलाई समय दिन नसक्नाले साँझमा फकाउने फुल्याउने गतिविधिमा सक्रिय हुनुपर्ने छ । दिन नराम्रो नै भए पनि योजना गोप्य राखी गरेमा केही काममा सफलता मिल्नेछ । बिग्रिएको सम्बन्ध र पहिलेका कमजोरीलाई सुधार गर्न सकिने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
दाजुभाइ र बन्धुबान्धवको काममा सहयोग लिन/दिन सकिने समय छ । उद्योग तथा बन्दव्यापारमा प्रशस्त फाइदा हुनेछ । कमाएको धन सञ्चित हुनेछ वा पारमार्थिक काममा लगानी गरिने छ । पुरानो समस्यालाई निराकरण गर्ने अवसर पाइने छ । घरायसी र दाम्पत्य सम्बन्ध अनुकूल रहने छ । कृषि तथा पशुपालनको क्षेत्रमा राम्रो मुनाफा आर्जन गर्न सकिने छ । दैनिक काममा सामान्य चुनौती देखिए पनि प्रतिस्पर्धात्मक र प्रतियोगितात्मक क्रियाकलापबाट लाभ लिन सकिने छ । इष्टमित्र र सहयोगीहरूको साथ पाइने छ । पराक्रम भावमा बलियो चन्द्रमा रहेकाले आफ्नो आत्मबल र निर्णयमा गरिएका कामबाट फाइदा लिन सकिने छ । समाजमा प्रतिष्ठित बन्ने मौका मिल्नसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आज मुख छुच्चो हुने दिन होफ त्यसैले जोसँग बोल्दा पनि शब्द र शैलीलाई तौलेर प्रयोग गर्नुपर्ने हुन्छ । उता मनमा आलस्य र अल्छीपनको निवास हुनाले अवसरले पछ्याउँदा पनि तिनलाई उपयोग गर्न सकिंदैन, कतिपय परिस्थितिमा आफ्नै जिद्दीपना र हठ गर्ने बानीले समेत दुःख पाउने अवस्था आइलाग्न सक्छ । त्यसैले आज सद्विचार लिनेहरूका लागि मात्र समय उत्साहजनक रहने छ । धैर्यताका साथमा प्रयत्न गर्दा मनग्ये फाइदा उठाउन सकिने दिन हो । प्रेमसम्बन्ध र मित्रवर्गसँगको व्यवहारमा पनि सचेत हुनुपर्छ, नत्र तीतोपन बढ्ने सम्भावना छ । आर्थिकपक्ष पनि उति उत्साहप्रद रहने छैन, तापनि, आजको दिनलाई योजना र प्रयासका बलमा राम्रो तुल्याउन सकिने समय हो ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।