डेंगु के हो ? कसरी बच्ने ?

काठमाडौं / डेंगु सुरुवा रोग हैन । तर, यो लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ ।

अस्पतालमा भर्ना भएका सबै बिरामीलाई एकै ठाउँमा राख्दा लामखुट्टेमार्फत् डेंगु सर्ने खतरा हुन्छ । त्यसैले, बेडमा भर्ना भएका बिरामीहरुलाई झुलभित्र राखेर उपचार गर्ने गरिन्छ ।

खासगरी एडिज प्रजातिको लामखुट्टे डेंगुका लागि जोखिमपूर्ण हुन्छ । गर्मी एवं वर्षाको समयमा यस्तो लामखुट्टे फैलने भय बढी हुन्छ । त्यसैले डेंगुबाट बच्नु भनेको यस्ता लामखुट्टेको टोकाइबाट बच्नु नै हो । किनभने यसको टोकाइ एवं संक्रमण निकै घातक हुन सक्छ ।

एडिज लामखुट्टे जमेको पानीमा जन्मने र हुर्कने गर्छ । जस्तो कि, कुवाको पानी, खाल्डाखुल्डीमा जम्मा भएको पानी, नालाको पानी आदि । त्यसैले घर आसपासमा पानी जम्ने ठाउँ हुनुहुँदैन ।

 

डेंगु लागेको कसरी थाहा पाउने ?

डेंगुको लक्षण तुरुन्तै देखिदैन, तीन देखि १४ दिनको अन्तरमा देखिन्छ । यसको संक्रमण भएमा एकदमै चिसो अनुभव हुने र ज्वरो आउने गर्छ । तर, आम ज्वरोभन्दा डेंगुको ज्वरो निकै तिब्र हुन्छ ।

यो पनि पढ्नुहोस
राजधानीमा डेंगुको आतंक, बिरामी ६ वर्षकै उच्च
डेंगुको संक्रमण भएको बिरामीलाई कमजोरी अनुभव हुन्छ । साथै लाग्छ । कतिपय बिरामीहरु चक्कर लागेर बेहोससमेत हुन्छन् । खानामा जिब्रोको स्वाद बदलिन्छ । भोक कम लाग्छ । पखाला लाग्छ । टाउको तथा कम्मर दुख्छ । र, गम्भीर अवस्थामा आँखा, नाक आदिबाट रगत बग्न थाल्छ ।

कसरी बच्ने ?

डेंगुबाट बच्नका लागि घर आसपास एवं टोल छेउछाउ पानी जम्न दिनु हुँदैन । नीमको पात बालेर त्यसको धुँवा घरमा फैलाउँदा लामखुट्टे भाग्न सक्छन् । पानी राखिएको भाँडा बर्तन खुला छाड्नु हुँदैन । भान्सा र वाथरुमलाई सुख्खा राख्नुपर्छ । झ्याल ढोकामा जाली लगाउनुपर्छ । शरीर पूरा ढाक्ने गरी लुगा लगाउनुपर्छ । सुतेको समयमा झुल प्रयोग गर्नुपर्छ । घर आसपास लामखुट्टे मार्ने औषधी छर्नुपर्छ ।

उपचार के छ ?

अहिलेसम्म डेंगुको औषधी बनेको छैन । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनु नै यसको एकमात्र उपचार हो । त्यसैले माथिका लक्षणहरु देखिनसाथ अस्पताल जानुपर्छ र चिकित्सकको सम्पर्कमा रहनुपर्छ ।

डेंगु लागेपछि रगतमा प्लेटलेट्सको संख्या तिब्र रुपमा घट्न थाल्छ । यस्तो अवस्थामा औषधीका साथसाथै खानपान र सही दिनचर्या आवश्यक हुन्छ ।सादा भोजन लिनुपर्छ । धेरै नुन भएको खाने कुरा खानुहुँदैन । मसलेदार चटपटे खानेकुरा बन्द गर्नुपर्छ । अनार वा गहुँको जमराको रस पिउनुपर्छ । ताजा मौसमी फलफूल खानुपर्छ । नरिवल पानी वा सफा पानी धेरै मात्रामा पिउनुपर्छ । भिटामिन सी युक्त फल खानुपर्छ । कागती, सुन्तला, अंगुर, जामुन पर्याप्त मात्रामा खानुुपर्छ ।मेवाको पातको रस बनाएर दिनमा दुई/तीनपटक पिउँदा त्यसले फाइदा गर्छ ।