0 COMMENTS

वि.सं. २०७६ भाद्र ०३ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ अगस्ट २० तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : बिरुडा पञ्चमी, डाँछी कोलमती घाटमा स्नान, ललितपुरमा नृसिंह यात्रा, उपाकलंसाया, धनिष्ठा पञ्चक समाप्त राती ०८ बजेर १४ बजे, भाद्रपद कृष्णपक्ष (गुँलागा) पञ्चमी तिथि, मध्यरात्रीपछि ०१:३९ बजेसम्म, त्यसपछि षष्ठी तिथि, रेवती नक्षत्र, बेलुका ०८:१४ बजेसम्म, त्यसपछि अश्विनी नक्षत्र, चन्द्रमा मीन राशिमा, बेलुका ०८:१४ बजेसम्म, त्यसपछि मेष राशिमा, शूल योग, दिउँसो ०३:३३ बजेसम्म, त्यसपछि गण्ड योग, सुरुमा कौलव करण दिउँसो १२:५६ बजेसम्म, त्यसपछि तैतिल करण मध्यरात्रीपछि ०१:३९ बजेसम्म, अन्तिममा गर करण, आनन्दादि योग : शुभ, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : दक्षिण, वारशूल : उत्तर, नक्षत्रशूल : दक्षिण, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:३६ बजे, सूर्यास्त : साँझ ०६:३७ बजे, दिनमान : ३२ घडी ३३ पला (१३ घण्टा ०१ मिनेट, रात्रीमान : २७ घडी २७ पला (१० घण्टा ५९ मिनेट)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
यात्राको योग छ, तर द्वादश भावको चन्द्रमाको अनुकूल प्रभाव देखिंदैन, त्यसैले यात्राका क्रममा होस राख्नु राम्रो हुन्छ । खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ । बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ, काममा बाधा देखिन सक्छन्, तर नअत्तालिई हिम्मतका साथमा काम गर्न सके सफलता नै मिल्ने समय छ । कुनै गोप्य योजना कार्यान्वयन गर्न आजको दिन अनुकूल छ । बन्दव्यापारमा बेफाइदा छैन । आत्मबल र हौसला नत्यागे सफलता पाउनु हुनेछ । वहस र वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । नयाँ कामको वातावरण तैयार हुनेछ, आर्थिक व्यवस्थापनका काम गर्ने अवसर मिल्नेछ । पारिवारिक जीवन सन्तोषप्रद रहने छ, घरखर्चमा बृद्धि हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
राज्यस्थानको बलशाली चन्द्रमाको प्रभावले पराक्रम र प्रसिद्धिमा वृद्धि हुने समय छ । मिहिनेत गर्नुपर्छ, जे गरे पनि सफलता आर्जन हुने दिन छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ वा धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला । नोकरी गर्नेले मानसम्मान पाउने छन् । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । इष्टमित्रले प्रदान गरेको सल्लाहलाई पालना गर्दा फाइदा हुने योग छ । विश्वासको वातावरण बन्नेछ । आत्मबल र निर्णय क्षमतामा बृद्धि हुनेछ । घरायसी वातावरणमा सुधार आउने छ, रमाइलो पारिवारिक जमघट हुनसक्छ । सामाजिक प्रतिष्ठा बढाउने दिन हो ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
स्वास्थ्यस्थिति राम्रो रहनुका साथै काम गर्न जाँगर बढ्ने समय छ । पारिवारिक सुखसम्मृद्धिमा बृद्धि हुनेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुनेछ । नवीन रोजगारीको वा कुनै नयाँ व्यवसायको थालनी गर्न उत्तम समय छ । कुरा काट्नेहरू सक्रिय हुनसक्छन्, तर धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । मातापिता र अभिभावकवर्गको स्वास्थ्यमा सुधार आउने छ । कर्मचारीले हाकिमबाट महत्वपूर्ण कुरा फुत्काउन सक्छन् । ठूलाबडाको सहयोग र सल्लाहले राम्रो फाइदा लिन सकिने छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ । व्यापार/व्यवसायमा सोचेजति लाभ पाइने छ । आफ्नो क्षेत्रमा साख रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज परसेवा र धार्मिक गतिविधिमा सक्रिय हुने दिन भएकाले शत्रु नै भए पनि कसैको आलोचना वा विरोध नगर्नु राम्रो हुनेछ । मनमा कुविचार आउन दिनु हुँदैन, नत्र भाग्यको मार्गमा अवरोध आउनसक्छ । प्रेम र भाइचाराका लागि दानपुण्यमा सहभागी हुनु भएमा रोकिएको काम बन्नसक्छ । तपाईंका विचार र भावनालाई बेवास्ता गर्नेहरूको क्रियाकलापले मनमा विरक्तिको भाव बहन सक्छ । प्रयासमा सफलता प्राप्त हुने दिन छ, तर प्रतिस्पर्धी र शत्रुले तपाईंको प्रतिष्ठामा आघात पुर्याउने प्रयास गर्दैछन्, विचार गर्नुहोला । ढिलै भए पनि चाहना र मनोकाङ्क्षा पूरा हुनेछन् । अन्ततः प्रतिष्ठित व्यक्तिले समेत तपाईको सराहना गर्न सक्छन् । आफन्तबाट भन्दा अन्यबाट आवश्यक सहयोग मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
राती अबेर भाग्यस्थानमा चन्द्रमाको प्रवेश हुने दिन त हो, तर दिनभरि अष्टम भावमा रहेको चन्द्रमाका कारण परिस्थिति अझ विपक्षमा नै रहने सङ्केत देखिन्छ । कडा परिश्रम व्यर्थै खेर जान सक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग चित्त नबुझ्न सक्छ । बोलीमा संयमता अपनाउनु पर्छ किनकि भनेको कुराले विपरीत अर्थ वहन गर्नेछ । नयाँ साथीभाइलाई झट्ट विश्वासमा लिनु हुँदैन । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । कताकता भाग्यबलमा कमी भएको आभास गर्नु हुनेछ । बन्दव्यापार र रोजगारीको क्षेत्रमा लगनशील र सक्रिय भएमा मात्र सफलता पाउनु हुनेछ । दाम्पत्य जीवन पनि निराशापूर्ण नै रहने छ । बेलुकीबाट निराशाको क्रमशः अन्त्य हुने समय आएको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
रमझम र मनोरञ्जनमा आकर्षण बढ्न सक्छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । मेजमानीको अनुकूलता प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ । स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ । दिन ढल्दै जाँदा जिम्मेबारीबोधसमेत बढ्दै जानेछ, अब रामरमाइलो त्यागेर व्यवसायिक गतिविधिमा संलग्न हुन मन लाग्नेछ । आम्दानीका दृष्टिले नराम्रो समय छैन, तर विलासिताका क्षेत्रमा खर्च बढ्न सक्छ । दाम्पत्यसम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने बेला छ । मन रोमान्टिक र भावुक बन्नेछ । पतिपत्नी वा प्रेमीप्रेमिकाका बीचमा सुमधरता स्थापना हुने दिन हो ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ । मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ । घरायसी सुखसुविधा बढाउने कुनै महँगो वस्तुको किनमेल गर्न मन लालायित हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ, धेरै टाढा पनि जानु पर्दैन । आर्थिक समस्या निराकरण गर्ने उपाय पत्ता लाग्नेछ । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना छ । मिष्ठान्न भोजनको अवसर आउने छ, तर आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ, किनभने आज छैटौं भावमा चन्द्रमाको उपस्थिति छ । त्यस्तै झैझगडा र किचलोबाट टाढा रहनु राम्रो हुन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आत्मबल बढ्ने समय छ । ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । बन्धुबान्धव र दाजुभाइका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । माया र प्रेमको वातावरण बन्नेछ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पारिवारिक सहयोग बढ्ने छ । ठूलाबडाले सहयोग गर्नेछन् । आज खासगरी बुद्धि खियाउने र ज्ञानार्जनका क्षेत्रमा लागेकाहरूको दिन हो, शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । गुरुजन, अभिभावक र साथीभाइले उपयोगी र आवश्यक सहयोग प्रदान गर्नेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
चतुर्थ भावमा रहेको चन्द्रमाको अनुकूल फल मिल्दैन, त्यसैले मनका विकारलाई बाहिर निस्कन दिनु हुँदैन । आज तर्कवितर्क, झैझगडा र विवादका विषयमा अघि नबढेको जाति हुन्छ । संयम हुनसके दिन राम्रो बनाउन सकिने छ । मान्यजन, हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको सहयोग जुटाउन सकिने छ । प्रेमजीवन र दाम्पत्यसुखमा राम्रो छ । स्वास्थ्यस्थितिमा सुधार आउने छ । दिनको सुरुवातमा आलस्य र थकानको महसुस भए पनि आनन्द र उल्लासको वातावरणमा समय व्यतीत हुनेछ । आम्दानीको नयाँ स्रोत देखा पर्नेछ । परदेशमा बसी रोजगारी र व्यवसाय गर्नेहरूले खानपीन र मनोरञ्जनका क्षेत्रमा खर्च गर्ने सम्भावना छ । सायंकालमा ज्ञानमूलक क्षेत्रमा आकर्षण बढ्ने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
पराक्रम र प्रसिद्धि बढाउने समय छ, त्यसैले सानातिना कुरामा अल्मलिएर समय खेर फाल्नु हुँदैन । बन्धुबान्धव, साथीभाइ र मित्रवर्गबाट उत्कृष्ट सहयोगको आशा गर्न सकिन्छ । भाइबहिनीले पनि सन्तुष्ट तुल्याउने छन् । भोजभतेर र खानपिन जस्ता सामाजिक कार्यमा सहभागी बन्नु पर्नेछ । दीर्घकालिक फाइदाका लागि गरिएको प्रयासमा सफलता मिल्नेछ । बन्दव्यापारमा सोचेको फाइदा हुने दिन छ । आम्दानीमा बढोत्तरी हुनेछ । झैझगडा र विवादमा विजयी बन्नु हुनेछ तर बोलीवचनमा कडापन त्यागेको राम्रो हुन्छ । धार्मिक क्षेत्रमा मन आकर्षित हुनेछ । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । आज छात्रछात्राले सामूहिक क्रियाकलाप वा सहकार्यका माध्यमबाट प्रतिष्ठा बृद्धि गर्ने दिन हो ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मिष्ठान्न भोजन मिल्नेछ । बोलीको प्रभाव बढ्नेछ, आफन्तले प्रशंसा गर्नेछन्, जाँगर बढ्नेछ । चेलीबेटी र कुटुम्बपक्षका काममा समय दिनु पर्नेछ । बन्दव्यापार राम्रो छ । आर्थिक लगानी बढाउन अनुकूल समय देखिन्छ । नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ, कारोबारमा सुधार आउने योग छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । हरेक क्रियाकलापमा फड्को मार्न सक्ने दिन हो । रोकिएको सम्पत्ति फिर्ता आउने दिन छ, अनुकूल प्रयास गर्दा लाभ हुनेछ, त्यस्तै कुनै पुराना अड्किएर बसेका काम पूरा गर्न सकिने छ । विशेष सभासमारोह वा सामाजिक अभियानमा सहभागी बन्ने मौका छ । प्रतियोगितात्मक क्रियाकलापमा सफल भइने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आज तपाईंको राशिमा रहेको चन्द्रमा धनभावमा प्रवेश गर्दैछ, अब निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ । मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ । नयाँ कामका लागि नयाँ अवसर आउनेछ । दैनिक कामकाजसमेत सजिलै सम्पन्न हुनेछन् । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । घरपरिवारमा राम्रो छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । आत्म–विश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।