0 COMMENTS

जनै पूणिर्मा अथवा रक्षा बन्धन नेपालका साथ-साथै भारतमा पनि ठूलो उल्लासका साथ मनाइने गरिन्छ । नेपालमा जनै पूणिर्मा भनेर मनाइने यो पर्वमा पुरुषहरुले एक दिन अगाडिबाट नै चोखो खाएर भोलिपल्ट बिहान नुहाएर मन्त्रसहित जनै लगाउँछन् । साथै हरेक कुराबाट रक्षा होस् भन्ने उद्देश्यले पुरोहितको हातबाट रक्षा बन्धन बाँधेर यो पर्व मनाइन्छ ।

भारतमा यो पर्वमा दिदीबहिनीले आफ्ना दाजु-भाइको लामो आयु र हरेक विघ्न-बाधाबाट रक्षा होस् भनेर राखी बाँधिदिने चलन छ । त्यसो त हिजोआज नेपालमा पनि भारतको यो संस्कृति भित्रिएको छ । आज हरेक दिदी-बहिनीले आफ्ना दाजुभाइको सुस्वास्थको कामना गर्दै राखी बाँधिदिने चलन बढ्दै गएको छ ।

रक्षा बन्धनको चलन कसरी चल्यो अथवा रक्षा बन्धनको नाम कसरी रक्षा बन्धन रहन गयो भन्ने बारेमा अनेक प्रश्नहरु समय-समयमा उठ्ने गर्छ ।

पौराणिक कथाहरुको कुरा गर्नु पर्दा भविश्य पुराणमा इन्द्र र शचीको कथा छ भने श्रीमद्भागवत पुराणमा वामन र बालीको कथा छ । ती दुई कथाहरुमा कुन कथाको घटना अगाडि घटेको थियो भन्न कठिन छ । तर भविष्य पुराणमा लेखिएको कुरामा ध्यान दिने हो भने देवता र असुरहरु बीचमा जब युद्ध शुरु भयो । दैत्य देवताहरुमाथि भारी पर्न थाले ।

देवताहरु युद्धमा हार्न लागेको देखेर भगवान इन्द्र हतारिँदै ऋषि वृहस्पति कहाँ गए । तब बृहस्पतिको सल्लाह अनुरुप इन्द्रकी श्रीमती शचीले रेशमको एउटा धागो मन्त्रको शक्तिले पवित्र गरेर आफ्ना श्रीमानका हातमा बाँधिदिइन् । संयोगले त्यो दिन श्रावण पूणिर्माको दिन थियो । मन्त्रिएको धागोका कारण देवताहरु युद्धमा विजयी भए । भनिन्छ, त्यही समयदेखि श्रीमतीहरु श्रीमान् युद्धमा जाँदा जीतको कामना सहित उनीहरुको हातमा राखी बाँध्ने चलन चल्यो ।

त्यस्तै अन्य कथा स्कन्ध पुराण, पद्मपुराण र श्रीमद्भागवत पुराणहरुमा पाइन्छ । जसमा असुरराज दानवीर राजा बलीले देवताहरुसँग युद्धमा हराएर स्वर्गमा अधिकार जमाएका थिए । असुरराजको घमण्ड चरम सीमामा पुगेको थियो । असुरराजको अहंकारलाई चकनाचुर बनाउनका लागि भगवान विष्णुले अदितिको गर्भबाट वामन अवतार लिए र ब्राहृमण भेषमा राजा बली कहा भिक्षा मागे ।

राजा बली महान दानवीर थिए । उनले ब्राहृमणलाई जे माग्छौ दिनेछु भनेर वाचा गरे । ब्राहृमणरुपी भगवान बिष्णुले बलिसंग भिक्षामा तीन पाइला भुमिको माग गरे । बलिले ब्राहृमणको मागलाई तुरुन्त हुन्छ भने । तर, भगवान बिष्णुले आफ्नो विशालरुपमा प्रकट भएर दुई पाइलामा सम्पुर्ण आकाश, पाताल र धरती नापे । बाँकि एक पाइला कहाँ राख्ने भनेर भगवानले बलिलाई प्रश्न गरे । उनले आफ्नो शीर देखाउदै तेस्रो पाइला राख्न अनुरोध गरे ।

बलिको यस्तो अनुरोध सुनेर भगवान खुशी भए र उनलाई रसातलको राजा बनाएर अजर-अमर हुने वरदान दिए । राजा बलिले यो वरदानसँगै आफ्नो भक्तिको कारण देखाउँदै भगवानलाई दिनरात आफुसंगै बस्नु पर्ने वाचा पनि लिए ।

भगवान बिष्णुले आफूले लिएको वामन अवतार त्यागेर पुनः लक्ष्मी माता कहाँ जानुपर्ने थियो । तर, आफुले राजा बलिलाई गरेको वाचाका कारण बलिसँगै रसातलमा बस्नु पर्ने बाध्याता भयो । उता लक्ष्मी पनि भगवान बिष्णुको वाचाका कारण चिन्तित भएन् । यस्तो स्थितिमा नारदमुनिले लक्ष्मीलाई एउटा उपाय बताए ।

नारदले बताएअनुरुप लक्ष्मीले राजा बलीलाई राखी बाँधेर आफ्नो दाजु बनाइन् र आफ्नो श्रीमानलाई आफुसँग लिएर आइन् । संयोगले त्यो दिन श्रावण महिनाको पूणिर्मा तिथि थियो । त्यस समयदेखि नै रक्षा बन्धनको पर्व मनाउने प्रचलन भएको मान्यता हिन्दू ग्रन्थहरुमा पढ्न पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।