0 COMMENTS

वि.सं. २०७६ श्रावण २९ गते बुधबार तदनुसार ई. सं. २०१९ अगस्ट १४ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : पूर्णिमा व्रत, श्री शिवजीमा पवित्रारोपण, हयग्रीवोत्पत्ति, बाजुरा बडीमालिका मेला, श्रावण शुक्लपक्ष (गुँलाथ्व) चतुर्दशी तिथि, दिउँसो ०२:५३ बजेसम्म, त्यसपछि पूर्णिमा तिथि, उत्तराषाढा नक्षत्र, बिहान ०५:५६ बजेसम्म, त्यसपछि श्रवण नक्षत्र, चन्द्रमा मकर राशिमा (अहोरात्र व्याप्त), आयुष्मान् योग, दिउँसो १२:४५ बजेसम्म, त्यसपछि सौभाग्य योग, सुरुमा वणिज करण दिउँसो ०२:५३ बजेसम्म, त्यसपछि विष्टि (भद्रा) करण मध्यरात्रीपछि ०३:४१ बजेसम्म, अन्तिममा बब करण, आनन्दादि योग : वज्र, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : पश्चिम, वारशूल : उत्तर, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:३३ बजे, सूर्यास्त : साँझ ०६:४२ बजे, दिनमान : ३२ घडी ५४ पला (१३ घण्टा ०९ मिनेट, रात्रीमान : २७ घडी ०६ पला (१० घण्टा ५१ मिनेट)

आजका लागि अशुभ समय :–
राहु काल : दिउँसो १२:०८ देखि ०१:४६ सम्म, यमघण्ट : बिहान ०७:१२ देखि ०८:५० सम्म, गुलिक काल : बिहान १०:२९ देखि १२:०८ सम्म, काल वारवेला : बिहान ०८:५० देखि १०:२९ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
लाभ वारवेला : बिहान ०५:३३ देखि ०७:१२ सम्म र साँझ ०५:०४ देखि ०८:०४ सम्म, आज यात्राका लागि पुरुष र महिला दुबैको नेतृत्वमा पूर्व र दक्षिण दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा मिठाइ वा तिल खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

भोलिको चाडपर्व र उत्सव :
जनै पूर्णिमा, ऋषि तर्पणी, रक्षाबन्धन, कुम्भेश्वर, गोसाइँ कुण्ड, पशुपतिनाथ मेला, डडेलधुरा भागेश्वर जाँत, सोलु दूधकुण्ड मेला, मुक्तिनाथ यार्तोंग, मानस व्रत समाप्ति, संस्कृत दिवस, व्याजनके, गुँपुह्नि, श्री प्राणनाथ छत्रशाल मिलाप (कृष्णप्रणामी), धनिष्ठापञ्चक प्रारम्भ राती ०९ बजेर १० मिनेटपछि, पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कर्मक्षेत्रमा रहेको चन्द्रमाका कारण कामधामका क्षेत्रमा विभिन्न अवसर जुट्ने समय छ । तर आज अरूलाई वचन दिएको छ भने त्यसलाई पूरा गर्न निक्कै दौडधूप गर्नुपर्ने दिन छ । कुनै पुरानो समस्या हल गर्न वा घरायसी भौतिक सामाग्रीको मरम्मत सम्भार गर्न ऋणभार समेत बढ्न सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । नयाँ काममा हात हाल्नुपर्दा जान्नेबुझ्ने वा अनुभवीको राय लिनु राम्रो हुन्छ । विशेष योजना गोप्य राख्नु जायज हुनेछ । काम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन् । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ । बन्दव्यापारमा पनि फाइदा नै हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
काम गर्दा सोचेभन्दा राम्रो परिणाम प्राप्त हुनसक्ने भाग्योन्नतिको समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । दीर्घकालिक विशेष योजनाहरू कार्यान्वयन गर्न सकिने छ । सामाजिक र परोपकारी काममा मन जानेछ । अनुभवीको सल्लाह र सुझाव प्राप्त हुनेछ । व्यवसायिक वा पेसागत जीवनमा साख कायम रहने छ । बन्दव्यापारबाट राम्रै लाभ लिन सकिने छ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । गृहिणीहरूले धार्मिक/सामाजिक काममा सहभागी हुनुपर्नेछ वा मद्दत लिन चाहनेको सेवा गर्ने अनुकूलता मिल्नेछ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा काम गर्ने तथा विद्यार्थीहरूका लागि उन्नति गर्ने समय छ । प्रतियोगिता वा प्रतिस्पर्धामा सफल भइने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आठौं घरमा रहेको चन्द्रमाका कारण मनमा निराशा र भयको वातावरण सिर्जना गर्ने दिन भए पनि शुभ ग्रहको प्रभाव भएकाले आत्मबल र हिम्मत बढाएर काम गर्न सके आजको दिनलाई राम्रो बनाउन सकिने छ । सामाजिक र पारमार्थिक काममा झुकाव बढ्ने छ । नयाँ कामको जिम्मेवारी प्राप्त हुनेछ । दूरदराजको क्षेत्र वा विदेशमा रहेका आफन्तसँग आत्मीयता बढ्ने छ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ । सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिने छ । अप्रत्याशित उपलब्धी प्राप्त हुँदा मनमा उमङ्ग पलाउने छ । प्रविधिसँग सम्बद्ध उपकरणमा खराबी आउनाले महत्त्वपूर्ण काममा विघ्न आउन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मनोरञ्जन केन्द्रित दिन हुनेछ । व्यवसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ । काममा परिवारजनको साथले उत्साहित भइनेछ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । प्रेम वा मित्रताको बन्धन कसिनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । दाम्पत्य जीवन रमाइलो रहनेछ । व्यवसायमा लाभ लिने समय छ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । आतिथ्यपूर्ण सम्मान पाइएला । मिहिनेत र परिश्रमको बलले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ । नयाँ मित्र बनाउन पाइने छ । साझेदारी र पार्टनरसिपको कामबाट फाइदा हुनेछ । ज्ञानार्जनका क्षेत्रका व्यक्तिहरू र छात्रछात्राका लागि नयाँ ज्ञान सिक्ने मौका छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
छैंटौं घरमा रहेको चन्द्रमाको मिश्रित फल प्राप्त हुने दिन छ । रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनसक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । कामको चापबाट फुर्सद पाइनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यता प्राप्त होला । आफ्नो क्षेत्र र विषयमा पकड कायम रहने छ । शत्रु र प्रतिस्पर्धीले चलखेल बढाए पनि डराउनु पर्दैन । मनमा घरिघरि डर र चिन्ताले बास गर्न सक्छ, जे गरे पनि आत्मबल र हिम्मतका साथमा गरेको जाति हुन्छ, अनि महत्त्वपूर्ण काम गर्नु छ भने आमा वा घरकी बृद्ध स्त्रीको आशीर्वाद ग्रहण गरेमा सफल भइने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज बुद्धिक्षेत्रमा बलियो चन्द्रमाको उपस्थिति छ । त्यसैले बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ । आफनो क्षेत्रमा अधिकार जमाउन सकिने छ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय आएको छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । बौद्धिक कार्यबाट धनलाभ हुनेछ । सन्तति वा आफ्नो प्रतिभा प्रदर्शन गरी प्रशंसा तथा प्रसिद्धि पाउने समय छ । गुरुजनको विशेष सहयोग जुट्नेछ । खासगरी छात्रछात्राका लागि अध्ययनमा प्रगति हुने समय छ, इच्छाशक्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन हुनेछ । गृहिणीहरूले माइतीपक्षको शुभ समाचार सुन्न पाउने समय आएको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । अरूको व्यवहारले शङ्का उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग हुनसक्छ । पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ । महत्वाकाङ्क्षी योजना फलीभूत हुनेछन् । प्रयत्न गर्दा विशेष काम गर्ने वातावरण तयार हुनेछ । व्यवहारले अरूको विश्वास जित्न सकिने छ । विद्यार्थीहरूका लागि पढाइलेखाइमा प्रगति हुनेछ, तर याद गर्नुपर्छ, आज हडबड गर्दा काम दोहोर्याउनु पर्ने स्थिति आउन सक्छ । आज सबैले कुनै महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्नु छ भने केही समय पर्खंदा वा दोहोर्याएर गरेको राम्रो हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज तेस्रो भाव अर्थात पराक्रम स्थानमा बसेको चन्द्रमाको मिश्रित प्रभाव प्राप्त हुने दिन छ । त्यसैले इष्टमित्र र साथीभाइसँग सन्तुलित व्यवहार गर्नु पर्ने दिन हो, आज । आफन्तहरू टाढिनेछन् भने काम बिग्रने डरले सताउनेछ । पहिले दिएको वचनले अप्ठ्यारोमा पर्न सकिन्छ । हाँके/ताकेका काममा परिबन्दले गर्दा सोचेभन्दा फरक मोड लिन सक्छ । सहयोगीहरूको भावना बुझ्न नसक्दा केही अप्ठ्यारोमा पर्न पनि सकिन्छ । सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ । कृषि तथा पशुपालनमा लागत बढ्नेछ । पारिवारिक असमझदारीले पनि काममा अप्ठ्यारो पर्न सक्छ । तापनि मिहिनेत गर्दा फाइदा नै हुनेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन भने खिन्न रहनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
दोस्रो भावमा बसेको चन्द्रमाको प्रभाव केही कमजोर देखिन्छ । हुन त धनधान्य वृद्धिका लागि गरिएका प्रयास सफल हुनेछन् । तर आज सहयोगीहरूको भावना बुझ्न नसक्दा नरमाइलो हुनसक्छ, सतर्क रहनु पर्छ । सहयोग र उपहारको आशा गरेमा निराश भइने छ । तर इष्टमित्र र परिवारजनको साथ सहयोग गुम्ने छैन । मनपर्ने भौतिक साधन जोड्न धनको बाधा हुनसक्छ । नयाँ काम थाल्न निकै दौडधूप गर्नु पर्नेछ । प्रतिस्पर्धीसित सतर्क रहेको राम्रो हो । व्यापार तथा कृषिमा फाइदा नै हुने देखिन्छ । काममा ढिलो गरी सफलता आर्जन गर्न सकिने छ । एउटै कामलाई दोहोर्याएर गर्नुपर्ने परिस्थिति बन्न सक्छ । कुटुम्ब र इष्टमित्रलाई चित्त बुझाउन गाह्रो छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मिहिनेत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिने छ । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । सानो प्रयत्नले ठूलो फाइदा हुनेछ । दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ । उपलब्धिले थप उत्साह जगाउनेछ । बोलीको भरमा काम सम्पादन हुनसक्छ । तार्किक क्षमताले लाभ र मानसम्मान दिलाउनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । आज आफ्नै राशिमा चन्द्रमाको निवास छ, त्यसैले तपाईंलाई साथ र हिम्मत दिने व्यक्तिहरू प्रशस्तै भेटिनेछन् । कडा मिहिनेत र लगनशीलताको आवश्यकता देखिन सक्छ, तर मनग्ये धन आर्जन हुने समय छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
बाह्रौं भावमा चन्द्रमाको उपस्थिति छ, त्यसैले धेरै आशावादी नभई लगनशीलता र इमानदारीका साथमा काम गर्न सके उपलब्धी नै हासिल गर्न सकिने दिन छ । आम्दानीका बाटोमा केही असहजता देखिए पनि मिहिनेत गर्दा आजको आर्थिक सङ्कटको निवारण हुनेछ । तर समय र नियमको अनुशासनलाई उल्लङ्घन गर्नु हुँदैन । प्रतिस्पर्धी र शत्रु सक्रिय हुनसक्छन्, त्यसैले आँटेका/ताकेका काममा गोपनीयता कायम राख्नुपर्छ । छरछिमेकमा देखिएका असमझदारी हटाउने प्रयास सार्थक हुनेछ । चिताएका काममा शुभचिन्तकहरूले साथ दिनेछन् । टाढाका साथीभाइको निम्तो प्राप्त हुनसक्छ अथवा घरका बृद्ध सदस्यको भावनाअनुसार कतै तीर्थ वा मन्दिरको भ्रमणमा जान सकिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
श्रमको उचित मूल्याङ्कन हुनेछ भने गरेका कामबाट सामान्य लाभ मिल्नेछ । लगनशील बन्दा पछि फाइदा हुने काम प्रारम्भ हुनसक्छ । लाभस्थानमा चन्द्रमा रहेकाले व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने समय छ । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पैत्रिक धनको उपयोगबाट विशेष फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता पनि मिल्नेछ । आम्दानी बढ्नेछ भने परिवारजनसँगको सम्बन्ध आत्मीय बन्नेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । छात्रछात्राले प्रतिभा तिखार्ने समय आएको छ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।