0 COMMENTS

वि.सं. २०७६ श्रावण २७ गते सोमबार तदनुसार ई. सं. २०१९ अगस्ट १२ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : पवित्र श्रावण महिनाको अन्तिम सोमवार, सोमप्रदोष व्रत, नेवारहरूको पर्व बहिद्यवोय, श्रावण शुक्लपक्ष (गुँलाथ्व) द्वादशी तिथि, दिउँसो ०१:०१ बजेसम्म, त्यसपछि त्रयोदशी तिथि, पूर्वाषाढा नक्षत्र, मध्यरात्रीपछि ०४:१७ बजेसम्म, त्यसपछि उत्तराषाढा नक्षत्र, चन्द्रमा धनु राशिमा (अहोरात्र व्याप्त), विष्कुम्भ योग, दिउँसो ०१:१६ बजेसम्म, त्यसपछि प्रीति योग, सुरुमा बालब करण दिउँसो ०१:०१ बजेसम्म, त्यसपछि कौलव करण मध्यरात्रीपछि ०१:२२ बजेसम्म, अन्तिममा तैतिल करण, आनन्दादि योग : उत्पात, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : नैऋत्य, वारशूल : पूर्व, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:३२ बजे, सूर्यास्त : साँझ ०६:४४ बजे. दिनमान : ३३ घडी ०० पला (१३ घण्टा १२ मिनेट, रात्रीमान : २६ घडी ६० पला (१० घण्टा ४८ मिनेट)

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
अमृत वारवेला : बिहान ०५:३२ देखि ०७:११ सम्म र साँझ ०५:०५ देखि ०८:०५ सम्म, लाभ वारवेला : दिउँसो ०३:२६ देखि ०५:०५ सम्म, शुभ वारवेला : बिहान ०८:५० देखि १०:२९ सम्म, आज यात्राका लागि पुरुषको नेतृत्वमा उत्तर र पूर्व दिशाको तथा महिलाको नेतृत्वमा ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा चामल वा दूध खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । भोलि कुनै विशिष्ट चाडपर्व र उत्सव छैन अनि कुनै मुहूर्त पनि जुरेको देखिंदैन ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
धार्मिक वा सांस्कृतिक महत्त्वको यात्राको सम्भावना छ । बिर्सिसकेको आफन्त वा साथीभाइसित भेटघाट हुने सम्भावना छ । चाहेजस्तो सहयोग नपाइए पनि धन, मान र प्रतिष्ठामा कमी हुनेछैन । भाग्यमा चन्द्रमा भए पनि धेरै आशावादी बन्ने समय छैन, आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पुर्याउन सक्दैनन्, त्यसैले कुनै काम गर्दै हुनुहुन्छ आफ्नै बुद्धि र बलको प्रयोग गरेमा अन्त्यमा सफलता प्राप्त भइ छाड्ने सङ्केत छ । आकस्मिक यात्राको योग भए पनि यात्राबाट सोचेजस्तो प्रतिफल प्राप्त हुनेछैन । तर तीर्थव्रत तथा देवालय आदिको भ्रमणबाट सन्तुष्टि मिल्नेछ । छात्रछात्राले बढी कन्फिडेन्स हुने समय देखिंदैन, राम्रो परिणाम प्राप्त गर्न कडा मिहिनेत गर्नु आवश्यक छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आठौं घरमा चन्द्रमा र शनिश्चरको युतिसम्बन्ध देखिन्छ, परिस्थिति अप्ठ्यारो छ, यद्यपि आज प्रयास गरेका केही काम बन्ने समय छ । मौसमी रोगव्याधिको सम्भावना छ, स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । अर्काको भर नपर्नु बेस हुनेछ, आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि प्रयत्न गर्दा चुनौतीहरू पन्छाउँदै केही अवसर हात पार्न सकिने छ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिने छ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । यद्यपि सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिने छ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । आस मारेको कामले उत्साह जगाउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
प्रेम र मित्रताको बन्धनमा कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । दाम्पत्य जीवनमा रमाइलो रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिने छ । नयाँ ज्ञान सिक्ने मौका छ । मन प्रसन्न रहनेछ । व्यावसायिक यात्राको सम्भावनासमेत छ । तर पतिपत्नीका बीचमा विचारमा बेमेल हुने र झैझगडाको सानो सङ्केत पनि देखिन्छ, संयम हुनु राम्रो हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
काममा अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ला । शत्रुहरूको चलखेल बढे पनि विजय तपाईंको हातमा छ । विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन । पारिवारिक र दाम्पत्य सम्बन्ध प्रगाढ बन्नेछ । व्यावसायिक यात्राको सम्भावना छ । व्यापार तथा उद्योगतर्फ फाइदा हुने योग छ । वैदेशिक यात्रा पनि लाभदायक रहनेछ । समय मनोरञ्जनपूर्ण छ । तर जुनसुकै काममा सफलता आर्जन गर्न प्रतिस्पर्धा गर्नुपर्ने समय छ । आर्थिक लगानी गर्नुअघि जान्नेबुझ्ने र अनुभवीको राय लिनु बेस हुनेछ । मित्रबाट सहयोग जुटाउन सकिन्छ, तर रिस र आवेगलाई नियन्त्रण गर्नुपर्छ । न्यायिक, कानूनी वा सुरक्षा निकायमा काम गर्नेले आज विशेष जिम्मेवारीको काम गरी प्रतिष्ठा बढाउने दिन हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मिश्रित प्रभाव भएको दिन छ । कुनै समाचारले मन खिन्न हुनसक्छ । हुन त विद्यास्थानमा चन्द्रमा छ, तर पनि पढाइलेखाइमा ध्यानकेन्द्रित हुन सक्दैन । घरिघरि मन अशान्त बन्नेछ, कल्पना र भावनाले डेरा जमाउने समय चल्दैछ । मनोरञ्जन र खेलवाडले लक्ष्यप्राप्तिमा कठिनाइ उत्पन्न गर्नेछ । सहयोगीको साथ पाइँदैन, जे गरे पनि आफैं घोरिनु राम्रो हुन्छ । कुनै काम सम्पन्न गर्न दोहोर्याई तेहेर्याई गर्नु जायज हुनेछ । बन्दव्यापारमा कम मात्र फाइदा होला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । सरकारी कडिकडाउको सिकार भइनेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्नुपर्छ । समय कमजोर भए पनि मिहिनेत र परिश्रमका साथ प्रगति गर्न सकिने नै दिन छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
चौथो भावमा कमजोर चन्द्रमा बसेको दिन छ, हृदय कमजोर हुने र काम बिग्रने डरले सताइरहने दिन हो । आफैंले प्रदान गरेको वाचालाई पालना गर्न सकिंदैन । अनुभवी र जान्नेबुझ्नेसमक्ष आफ्ना समस्या दर्साउँदा पनि सहयोग जुटाउन सकिंदैन । घरपरिवारभित्रका गर्नै पर्ने काममा समय बित्नेछ, तर पनि अपजसको भागी बन्नुपर्छ । स्वास्थ्यमा समस्या आउन सक्छ । सम्झौताले खिन्नता बढाउनेछ भने बुद्धिको सही उपयोग हुन सक्दैन । लक्ष्य पहिल्याउने क्षमतामा कमी आउने छ । परिवारजन तथा बन्धु–बान्धवबीच सम्बन्ध चिसिन सक्छ । तर सतर्क भई व्यवहार गर्नसके बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । तर वैदेशिक प्रयोजनको काममा फाइदा हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
पराक्रम स्थानमा चन्द्रमा र शनिश्चरको युतिसम्बन्ध रहेकाले काममा रोकावट र कममात्र फाइदा हुने समय छ । सहयोगीहरूले हात झिक्नाले अप्ठ्यारोमा पर्ने अवस्था आउन सक्छ । सञ्चित धन खर्च गर्नु पर्ने समय छ । योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ने देखिन्छ । ज्ञानगुन र पठनपाठनमा समय दिन सकिंदैन । परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ । परिश्रम गरे पनि सफलता पाउन धैर्य गर्नुपर्ने समय छ । आशा गरेअनुरूप सहयोगीहरूले साथ दिनपाउने छैनन् । रोकिएका काममा घोत्लिनु परे पनि पुनः प्रारम्भ गर्ने वातावरण बन्नेछ, त्यसैले धैर्य एवं लगनशीलताले मात्र फाइदा पुग्ने दिन छ । परोपकारी र सामाजिक कामका माध्यमबाट लाभ लिन सकिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मुखमा बसेको चन्द्रमा कमजोर छ, अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । पोशाक, पहिरन र सरसफाइमा ध्यान पुर्याउने समय मिल्नेछैन । काममा विघ्नबाधा उपस्थित हुनसक्छन् । आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ । प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन् । मान–सम्मानमा आघात पर्ने देखिन्छ । परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ । सहयोगीहरूले समेत हात झिक्नाले केही अप्ठ्यारोमा परिनेछ । गर्नैपर्ने र बाध्यात्मक आवश्यकता पूर्तिका लागि केही रकम लगानी गर्नुपर्ने समय छ । परिस्थिति विपक्षमा नै रहे पनि प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य सफलता आर्जन गर्न सकिने दिन हो ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
राशिमा चन्द्रमा छ, तर शुभफल प्राप्तिमा कठिनाइ देखिन्छ । मन उत्सुक, उत्ताउलो र चञ्चल बन्ने समय छ । बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ । हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ । खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिन सक्छ । सहयोगीहरू कमै भेटिनेछन् भने फुर्सीदलाहरूले अलमल्याउन सक्छन् । योजना बनाई अघि बढ्न सकिंदैन, तर नियमित कामधाम र बन्दव्यापारमा बेफाइदा हुँदैन । मिहिनेत र लगनशीलताले रङ देखाउन सक्छ, आत्मबल र संयमता नगुमाई काम गरेमा निराश हुनु पर्दैन । झिनामसिना समस्या देखिए पनि समग्रमा उपलब्धी नै हासिल हुने दिन हो ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
हुन त बाह्रौं भावमा चन्द्रमा छ, यद्यपि राशिस्वामीसँग युतिसम्बन्ध बनाएर बसेको हुँदा सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काम प्राप्त हुनसक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने छ । टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा लगानी बढाउन सकिने छ । स्वास्थ्यप्रति सतर्क रहनु पर्छ, खास गरी जोखिम मोल्ने काम र गरिष्ठ भोजनबाट टाढा रहनु राम्रो हुनेछ । भेटघाटमा अलमलिनाले नियमित काममा बाधा पुग्न सक्छ । चुनौती देखिए पनि स्वाभिमानको रक्षा गर्न सकिने छ । दिगो आम्दानी हुने काम फेला पार्न सकिने छ । बरु फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छनर्् । प्रतिस्पर्धीलाई उछिन्न सकिने छ । टाढाका आफन्त वा साथीभाइसित भेटघाट हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
राज्यस्थानमा राशिस्वामी शनिश्चर र चन्द्रमाको युतिसम्बन्ध रहेकाले समय उत्साहवर्द्धक रहने छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । गरेका कामबाट प्रशस्त लाभ हुने समय छ । व्यापारमा फाइदा हुनेछ, आम्दानीका नयाँनयाँ स्रोत फेला पर्नेछन् । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पितृधनको उपयोग गर्न सकिने छ । आध्यात्मिक विषयवस्तु र दर्शनशास्त्रमा रुचि जाग्ने छ, नयाँ ज्ञान प्राप्त हुनेछ । पढाइलेखाइमा राम्रै प्रगति गर्न सकिने छ । परिवारमा सुमधुर सम्बन्ध कायम हुनेछ । सरकारी र प्रशासनिक कामबाट लाभ लिन सकिने छ । सामाजिक सम्मान प्राप्त गर्न सकिने छ । गृहस्थीहरूले छोराछोरीको उन्नतिप्रगतिका लागि लगानी बढाउने समय हो ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
कर्मक्षेत्रमा चन्द्रमा रहे पनि आजको दिन मिश्रित प्रभाव भएको समय छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट खासै लाभ पाउन सकिंदैन । व्यापारमा समय दिन नसकेमा बेफाइदा हुनेछ । सामाजिक काम र परोपकारका मार्गमा अवरोध आउने छ । विशिष्ट व्यक्तिसँग उठबसले गर्नै पर्ने काम रोकिन सक्छ । त्यस्तै आफू व्यस्त रहनु पर्ने भएकाले नोकरचाकर र सहयोगीको उपयोग गर्न सकिंदैन । हरेक काम दोहोर्याउनु पर्ने र काम ढिलाइ हुने हुँदा मनमा निराशा र वैराग्यका भावना टुसाउन सक्छन्, तर हिम्मत हार्नु हुँदैन, कडा मिहिनेत र परिश्रम गर्नसके लाभसमेत हुने समय हो, प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुनसक्छ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।