ती मकैका बोटहरुःप्रतिभा भट्टराइ

 वर्षाको साथ पाएर दिन प्रति दिन हलक्क बढ्ने ती मकैका बोटहरु लाई के थाहा की उसको हुर्काइ सँगै कसैको मनभित्र किन त्यसै त्यसै डर मडारिएर आउँछ अनि घर साथीहरु सँग को गफ र पढाई वाहेक घरै अगाडि भएका ती बोटहरुलाई देख्ने बित्तिकै छटपटी बढेर आउँछ भनेर।उ आफ्नो कर्तव्य पूरा गर्न बर्षाको पानी सँगै गाउँदै र हावाको स्पर्श सँग नाच्दै जुँगा, खोस्टा र घोगा हुँदै हुर्किरहेको थियो।

९ वर्ष सम्मको पढाइको अन्तिम कक्षा थियो १० अनि आफुनै ठूलो जान्ने र शिक्षक हरुका प्यारा हुन पाइने कक्षा पनि थियो भने विछोडको समय नजिकिए सँगै साथीहरु सँग को सामिप्यता बढ्ने कक्षा पनि त थियो १०। अनि साथीहरु सँगै गणना हुने पुरुष साथीहरु पनि धेरै भएका भए पनि बोल्नु पर्ने काम र कुरा नभेट्ने साथै बोल्नु राम्रो नमानिने समाजमा हुर्किएकी म भित्र छिमेकी दिदीको केटा साथीसँग बोलेकै कारण छिटो विवाह गरिदिएर पाएकी दुःख अनि एउटी साथीले पुरुष साथी सँग हिँडेकै कारण नराम्रो सँग बुवाको कुटाई खाएकी कहानी सुनेकी म भित्र काे त्रसित मनले पनि केटा साथी सँगको संगत जरुरी ठानेको थिएन तर छुटिने पलको आगमनले निम्त्याएको रमाइलो गर्न पट्टि लागेको मनले चाहने पिकनिक र सांगितीक कार्यक्रमका साथै एसएलसी परीक्षा काे तयारीका लागि गरिने कामहरूको बहानामा केहि पुरुष साथीहरु सँग छोटा कुराकानी हरु भने हुने गर्दथे। यस्तैमा एउटा पुरुष साथी जो मेरो हरेक क्रियाकलाप नियाल्ने र सुझाव दिने गर्दथ्यो।

आफू फेल नै भए पनि परीक्षा मा आएका मेरा नम्बरहरू हेरेर दङ्ग पर्नु, म स्कुल आए नआएको नियाल्नु, स्कूल नजिकै रहेको मेरो घरको खोजिनीति गर्नु अनि मैले वास्ता नै नगरेको ट्युसन को व्यवस्था मिलाउनुसाथै उसले भनेको नमान्दा घुर्की लगाउनु उसको अघोषित डिउटी थियो। कहिले काँही सारै रिस नउठेको पनि होइन तर आजभोली त्यही कुरा सम्झँदा लाग्ने रमाइलो के हो ?त्यो चाई थाहा भएन। यसरी मेरा हरेक कुरा हरु विचार गर्ने क्रममा उसले एक दिन मलाई भनेको कुरा जुन नराम्रो छदै थिएन थियो त बस् रहर, मन् र उमेर छोरीका र छोराका उस्तै हुने भए पनि समाजले छोरीका लागि लगाएको बन्देज का कारण बनेको त्रसित मन् जस्का कारण मलाई उस्का प्रश्नको जवाफ नै दिन मन् नलाग्ने, उ स्कुल नआइदिए हुन्थ्यो जस्तो लाग्नेअनि उसलाई देख्ने बित्तिकै मकैका बोट देखे झैं डर लाग्ने हुन थाल्योर म बिस्तारै बिस्तारै म ऊ सँग नबोल्ने हुन पुगे।आफ्नो नबोलाई सँगै बढेको उसको भावुक पनको अनुभव नगरेकी पनि थिइन् मैले तर आफ्नै मन् भित्र को डरले पिरोलिएकी म बोलेर कुरा छिनो फानो गर्न सक्ने अवस्था मा थिइन्।

यत्तिकैमा ऊ नभन्दै विद्यालय मा देखा पर्न छाडेको थियो। अनि आउनै लागेको एसएलसी परीक्षा को अगाडि स्कूल छोडेर गएको ले कहाँ किन गयो र उस्को परीक्षा को के होला भन्ने विषयमा मन् एकोहोरिएको भएता पनि त्याे अल्लारे मनले मकैको बोटको हुर्काइ सँगै लाग्ने डरकाे अन्त्य भएको महसुस गरी खुसी पो हुन पुगेछ जुन खुसीले आजभोलि पनि मकैका बोटहरु देखिने समयमा अदृश्य काँडा बनेर मन् चस्काइरहन्छ। मलाई सल्लाह दिने सहयोग गर्ने र मेरो खोजिनीति मा रमाउने त्याे पुरुष साथीले मलाई मात्र यती भनेको थियो तिम्रो घरमा कति धेरै मकैका बोटहरु रहेछन् समय भएपछि म खान आउछु है ?