गुरु एक ज्ञान अनेक-प्रतिभा भट्टराइ

असार शुक्ल पूर्णिमा लाई वेद अनि अठार पुराण र उपपुराणका रचयिता मत्स्य गन्धा (सत्यवती) र परासर ऋषि का पुत्र व्यास काे जन्म दिन भएका कारण व्यास पूर्णिमा अर्थात गुरु पूर्णिमा पनि भनिन्छ। यसै दिन ऋषि व्यास ले वेद लाई चार भाग (ऋग्वेद, यजुर्वेद ,सामवेद र अथर्ववेद) मा विभाजन गरी संस्कृत भाषामा अनुवाद गरेर प्रदान गर्नु भएको थियो भने सोही दिन गौतम बुद्ध ले वैशाख पूर्णिमाको दिन प्राप्त गर्नु भएको ज्ञान लाई आफ्ना चेला हरूलाई प्रदान गर्नु भएको थियो। तसर्थ यस दिन ती सम्पूर्ण गुरुहरू को स्मरण ,पूजा श्रद्धा र सम्मान गरिन्छ जसले यी वेद पुराण अनि गीता मा लेखिएका कुराहरू लाई जगत् मा प्रवाह गरेर धर्म, अनुशासन, कर्मसिकाउँदै मन्त्रद्वारा अन्त्यमा मुक्ति प्राप्त गर्ने मार्ग निर्देशन गरेका हुन्छन।

त्यसो त हरेक व्यक्तिको पहिलो पाठशाला उसको जन्म घर हुने भएपछि पहिलो गुरु पनि आमा बाबु दाजु दिदी लगायत सम्पूर्ण परिवार जन हरु नै हुने भए भने विद्यालय का गुरु, कलेज का गुरु वाहेक औपचारिक पठाइ सकिए पश्चात् सिकिने विभिन्न कला हरु सिकाउने व्यक्ति पनि गुरु नै मानिन्छन्। साथै विवाह पश्चात पति पत्नी त झन् दैनिक गुरु हुने नै भए।

त्यस्तै गरी मानिसको सिक्ने र सिकाउने काम मृत्यु पर्यन्त चलिरहने प्रक्रिया हुनाले जुनसुकै कुरा पनि सिकाउने मानिस गुरु हुने भए सँगै हामी पनि बेला बखत कसैका गुरु बनिरहेको कुरा थाहा नै पाउँदैनौं। आफूले गरेका कति व्यवहार हरु द्वारा आफू धेरैका गुरु भइएको हुन्छ भने आफूले पनि अरूको काम, बोली संगत काे माध्यम बाट निकै कुराहरु सिकिए बापत आफ्ना पनि धेरै गुरुहरू बनिरहेका हुन्छन्।

मान्छे स्वयम् पूर्ण कहिले पनि हुन नसक्ने भएकले हरदिन गुरुको खोजी गर्नु आफ्नै ज्ञानको भण्डार भर्न का लागि सहायक पनि हुने गर्दछ। तेसो त गुरु ब्रह्मा विष्णु र शिव लाई मानिए सँगै त्रिदेव नै त्रिमूर्ति भएर आउनुभएको दत्तात्रय भगवानका पनि चौबीस गुरु थिए भन्ने कुरा विभिन्न शास्त्रले बताएका छन्। आकाश बाट विशालता, जलबाट पवित्रता, पृथ्वी बाट धैर्यता, अग्नि बाट समानता जस्ता कुराहरू सिक्दै जाने क्रममा दिनभर ग्राहकको प्रतिक्षा गरेर बसेकी तर कोही नभेटेका कारण निरास बनेकी वेश्या बाट पनि अरूको भर पर्नु पर्दा वा आस् गर्दा जीवन दुःखी हुन्छ भन्ने ज्ञान गुरु दत्तात्रेयले लिनुभएको थियो।
यसर्थ ज्ञान लिनका लागि हरदिन हरेकका हरकाम पर्याप्त छन्। न बालक न असक्त न दुःखी न बेबारिस सबै हाम्रा गुरु हुन सक्छन्।

आज भोलि धर्म ,संस्कार ,कर्तव्य र अनुशासनका कुरा हरु ठूला वडा हरु बाट लिइन्छ भने नयाँ नयाँ प्रविधि र चाल चलन अनि नयाँ सामाग्री हरुको प्रयोग बारे जान्न भने नयाँ पुस्ता वा आफु भन्दा साना हरुकै सहयोग लीनु पर्ने हुन्छ।

तर यी र यस्ता गुरुहरू अस्थायी तथा क्षणिक हुने हुनाले, श्रद्धा, सम्मान र स्मरण मृत्यु पर्यन्त त्यही गुरुको गरिन्छ जसले सत्मार्ग र सद्बुद्धि सिकाएर मुक्ति प्राप्त गर्न सकिने मन्त्र दिएका हुन्छन्।