विश्वकप क्रिकेट : जब मैदानमा मौरीले आक्रमण गर्यो

2019-06-29   खेलकुद

काठमाण्डाै१४असार/   विश्वकप क्रिकेट अन्तरगत श्रीलंका र दक्षिण अफ्रिकाबीच डरहममा भएको खेलमा अनौठो दृश्य देखियो । मैदानमा हजारौँको संख्यामा मौरी प्रवेश गरेपछि खेल नै केही बेर रोक्नुपरेको थियो ।

यो घटना श्रीलंकाको पारीको दौरान ४८ औँ ओभरमा भएको थियो । त्यतिबेला श्रीलंको स्कोर ८ विकेटको क्षतिमा १९४ रन थियो । मौरीका कारण खेल करिब १० मिनेट रोक्नुपरेको थियो ।

मैदानमा मौरी प्रवेश गरेपछि अम्पायर र खेलाडीहरु मैदानमा नै सुत्न बाध्य भएका थिए । यस्तो घटना पहिले पनि भएको थियो दुई टोलीबीच खेल हुँदा यसरी मैदानमा मौरी प्रवेश गरेको पहिलो पटक भने होइन । सन् २०१७ मा दुई टोलीबीच जोहानिसबर्गमा भएको एकदिवसीय खेलमा हजारौँको संख्यामा मौरी मैदानमा प्रवेश गरेका थिए । यसले गर्दा करिब १ घण्टासम्म खेल रोक्नुपरेको थियो ।

श्रीलंका पराजित

शुक्रबार भएको खेलमा श्रीलंकाले दक्षिण अफ्रिकालाई जीतका लागि २०४ रनको लक्ष्य दिएको थियो । टस जित्दै दक्षिण अफ्रिकाले श्रीलंकालाई ब्याटिङको निम्तो दिएको थियो । श्रीलंकाको पूरा टोली ४९.३ ओभरमा २०३ रन मा समेटियो । जवाफी ब्याटिङमा उत्रेको दक्षिण अफ्रिकाले उक्त लक्ष्य मात्र एक विकेट गुमाएर पछ्याउँदै ९ विकेटको शानदार जीत हासिल गर्यो ।