रमणीय यात्रामा रोएको मन्ः प्रतिभा भट्टराइ

एक यात्रा भनेर चिनिएको जीवन, भित्र गरिएको रमणीय यात्रा अनी त्यो यात्रा सँग समेटिएको एक अन्तर मनको यात्रा जुन हिन्दी सिनेमा थ्री इडियट्स हेरे देखि नै मन्मा बुनिएको थियाे जहाँ छिमेकी मुलुक भारत को उत्तरा खण्ड मा पर्ने शिमला का मनमोहक प्राकृतिक दृश्यहरुको छायाङ्कन रहेको थियो।

रहर लागेको अनि मिलेको अवसरलाई संयोग मानेर यात्राको तयारीमा खुसीहरू समाल्दै, कलेज ,स्कुल, अफिस अनि घर व्यवहारका साना तिना काम हरुको व्यवस्था मिलाएर पहाडकी रानी भनेर चिनिने उक्त क्षेत्रको सपना मनमा सजाउँदै लागिएको बाटोमा भेटिएका जाम, मुग्लिन सडक खण्डको आँखै नदेखिने गरी उडेको घुलो अनि अन्य अप्ठ्यारा हरु सबै शिमलाकाे यादमा हराएका थिए। महेन्द्रनगर सम्म आफ्नै देशका खोला पहाड जंगल बाटो नियाल्दै र तस्बिरहरु बटुल्दै हिँडेका हामी लाई नेपाल छोडे पश्चात भारत लाग्ने गाडी राम्रो भेटिएको र चालक पनि नयाँ प्रविधि मा पोख्त अनि रसिलो भएकोले ठाउँ ठाउँमा जानकारीहरु गराउँदै हामीले भने बमोजिमका काम गरिदिने हुनाले हाम्राे यात्रा झनै सहज बनेको थियो।

बाटोमा रहेका नैनीताल, नहान, सोलान जस्ता रमणीय बस्तीहरुलाई नियाल्दै र छोड्दै हामी साझ ४ बजे तीर शिमला काे प्रमुख स्थानमा पुगेका थियौ। पुग्ने वित्तिकै देखि अत्यन्त हर्षित हुँदै घुमघाम मा जुटेका हामी त्यहाँ लागेको भिड, रमाएका मानिसहरू अनी सुन्दर प्रकृति र मानवीय विकास देखेर साँच्चै प्रफुल्लित हुँदै सेल्फीमा रमाई रहँदा भने खै किन मेरो मन् अनायास झस्किन पुग्यो र भन्यो, हिमालय पर्वत राजको सयौं पहाडी रानी हरु भएका, अनि अलौकिक प्राकृतिक सुन्दरताले भरिएका भू स्वर्ग मानिने धरातल भएको पवित्र कर्म भूमि नेपालमा जन्मिएकी म सुन्दरता हेर्न यहाँ सम्म आएकीमा विरक्तिएर आँखा रसाउन पो थालेछन्। मनमोहक वातावरण र पारिवारिक यात्रा अनी देखिएको आँशू काे गलत अर्थ लाग्ने डरले त्यहाँ लागेका भिड हरुलाई आफ्नै देशको रारा, खप्तड मा लागेको सम्झँदै र चन्द्रा गिरीमा देखिने भीडमा मिसाउदै रमाउने कोसिस गरिरहे।

जहाँतहीँ फोहर फाल्न नपाइने अनि थुक्न नपाइने सो ठाउँका मानिसहरूलाई के थुक नआउने होला र अनि त्यत्रो ठूलो बस्तीमा फोहर ननिस्कने होलान् र की नियम र सभ्यताले बाँधिएका हुन् भन्ने सोच्दै साथै रमाएका हुलहरुलाई नियाल्दै जाँदा एउटा सपिङ सेन्टर मा छिर्न लागेको मनलाई त्यहाँ देखिएका नेपाली अनुहारहरूले झनै लोभ्याएकाे थियो। सिम्लाको विशेष उत्पादन रहेको उक्त पसलमा सामान हेर्ने र कुरा गर्ने क्रममा उनीहरुले हामी लाई कहाँ बाट आएका हौ भनेर सोधे हामीले पनि गर्वका साथ भन्यौ नेपालको काठमाडौं बाट तब उनीहरुले भने, ओहो! त्यहाँ त बन्द हडताल, आतंक हुन्छ हैन र अनि धुवाँ धुलो पनि त्यस्तै कसरी बस्छौ तिमीहरू ?भनेको सुनेपछि, आफूले स्वयम् पनि कुनै दिन देशको परिस्थितिलाई केही भनिएको भएता पनि आफनो देश प्रतिको छिमेकी मुलुकको धारणा सुनेर छिया छिया भएको मन् लिएर बडो साहसका साथ भनियो हैन हैन केही छैन त्याे पहिला थियो कहिले काँही आजभोलि त त्यस्तो केही हुन्न हाम्राे देश घुम्न आउनुहोस न सगरमाथा छ, लुम्बिनी छ, अनि पशुपतिनाथ मन्दिर पनि भन्दै रित्तो हात फर्किदा मेरो मनले भने भनिरहेको थियो। आखिर मेरो देशमा पनि त घाम लाग्दा हिलो हुँदैनथ्यो अनि पानी पर्दा धूलो हुँदैन थियाे नि है भनेर मन बुझाउँदै अर्को पसलमा राखिएका सामान हरुले आकर्षित गरेको भएता पनि छिर्ने आँट गर्न नसकी गन्तव्य तिर लागियो।

जब आफु बसेको लज आयो अनि साँचो लिने बहानामा एकै छिन काउन्टरमा के बसिएको थियो, लज मालिकले पनि सोध्यो कहाँबाट आउनु भएको ? झसङ्ग भएको मनलाई जवाफ दिने रहर नभएको भए पनि करैले भनियो नेपालबाट अब उसले फेरि कहानी सुरु गर्यो ,ए अस्ति भर्खर नेपाली दुई केटाहरुले मनालीमा हिउँ खेल्दा खेल्दै ज्यान गुमाए नी।

अब त झन् मन् टुक्रा टुक्रा भयो र भन्यो ? के मेरो देशमा हिउँमा खेल्ने ठाउँ छैनन् ? की विकास निर्माणको अनि प्रचार को अभाव मा पछि पर्यो? र ती कलीला दुई देशक कर्णधार हरुले विदेशी भूमिमा गएर मृत्यु बरण गर्नु पर्यो? अनि कस्का छोरा होलान्? कस्ता थिए होलान् अनि बाँचेका भए आफ्नो देशको लागि के गर्थे होलान् ? हरे, कठै अनि बिचरा भन्दै अन्ततः मन् बुझाउन करै लाग्यो उनीहरूको दिन त्यति मात्र रहेछ भनेर।
यसरी आँखा ले प्रसस्त सुन्दरता देखेको तर मनले रमाउन नपाएको यात्रा बन्यो शिमला।