0 COMMENTS

वि.सं. २०७६ ज्येष्ठ ०५ गते आइतबार तदनुसार ई. सं. २०१९ मई १९ तारिख, ज्येष्ठ कृष्ण प्रतिपदा, अनुराधा नक्षत्र, बृश्चिक राशिको चन्द्रमा, परिघ योग, बालब र कौलव करण, आजको मूहुर्त : शुभविवाह, रुद्राभिषेक(रुद्रीपूजा), द्रव्यप्रयोग वा लगानी, भोलिको मूहुर्त : अग्निवास(होमादि), चूडाकर्म(छेवर),

आजका लागि अशुभ समय :–
राहु काल : साँझ ०५:०५ देखि ०६:४७ सम्म, यमघण्ट : दिउँसो १२:०१ देखि ०१:४२ सम्म, गुलिक काल : दिउँसो ०३:२४ देखि ०५:०५ सम्म,

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
शुभ वारवेला : दिउँसो ०१:४२ देखि ०३:२४ सम्म, अमृत वारवेला : बिहान १०:२० देखि १२:०१ सम्म, लाभ वारवेला : बिहान ०८:३८ देखि १०:२० सम्म, भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको तथा स्त्रीको नेतृत्वमा आग्नेय (दक्षिणपूर्व) र नैऋत्य (दक्षिणपश्चिम) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने अमिलोपिरो चटपटे खानेकुरा वा जौ खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ । पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आज झिनामसिना समस्याको सामना गर्दै निरन्तरको लगनशीलता र संघर्षपछि सफलता प्राप्त हुने दिन हो । चन्द्रमा अनिष्ट भए पनि राशिमा परेको राम्रा ग्रहको प्रभावले स्वास्थ्यमा सुधार आउने छ । सानोतिनो समस्याले तपाईंको उत्साहमा कमी ल्याउने छैन । नयाँ काम थाल्दा व्यवहारिक लाभ पुग्नेछ । तपार्इंको व्यक्तिगत दृष्टिकोणले दूरगामी सकारात्मक परिणाम प्रदान गर्नेछ । दानपुण्यप्रति आकर्षित बन्नुहोला । झैझगडा र मुद्दामामिलाबाट फाइदा नै हुनेछ । आर्थिकरूपमा सबल बन्नु हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । सामाजिक सम्मान र प्रतिष्ठा प्राप्त हुने दिन छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मायाप्रेम, रतिराग र भावनात्मक क्रियाकलापमा आजको समय व्यतीत हुनेछ । विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । सन्तानपक्षको सहयोग मिल्नेछ । समय राम्रो छ, प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । परिवारजन र आफन्तजनसँग आत्मीय सम्बन्ध कायम हुनेछ, तपाईंका विचार र भावनामा उनीहरू सकारात्मक देखिने छन् । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । साझेदारीमा गरिएको व्यवसायबाट लाभ लिन सकिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज आमा वा मामाको आशीर्वादले काम गर्न सक्छ । मनमा शान्तिको अनुभूति हुनेछ । सिर्जनात्मकता र व्यवहारिकतातर्फ मन आकर्षित हुनेछ । घरायसी समस्या समाधान गर्न सकिने छ । माया र प्रेमको वातावरण तैयार हुनेछ । तर्क, विवाद र झैझगडा जस्ता क्षेत्रबाट लाभ मिल्नेछ । आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुनसक्छ । दूरदराजको यात्राको सम्भावना छ । वैदेशिक प्रयोजनका लागि गरिएको प्रयास सार्थक हुनेछ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
प्राज्ञिक, बौद्धिक र लेखनकार्यमा मिहिनेत गर्ने विचार आउने छ । सन्तति वा भाइबहिनीका समस्या हल गर्न केन्द्रित हुनु पर्नेछ र तिनको शिक्षादीक्षा र भविष्यका बारेमा घोत्लिन बाध्य भइनेछ । इष्टमित्र र बन्धुबान्धवले तपाईंका सकारात्मक धारणालाई बढावा दिनेछन् । खानपान र मनोरञ्जनको अवसर पनि जुर्नेछ, तर पाचन प्रणालीमा आउन सक्ने खराबीले दिकदारी हुनसक्छ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा धेरथोर समय दिइने छ । बौद्धिक र सृजनात्मक क्षमतामा आएको कमीले चिन्तित तुल्याउन सक्छ । मन भावुक र प्रेमिल बन्नाले गरेको काममा अवरोध हुने सम्भावना पनि छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
चौथो घरको चन्द्रमाले मानसिकतामा थोरै विचलन ल्याए पनि प्रणयसम्बन्ध र प्रेमको वातावरण बन्नेछ । सन्तति पक्षको साथसहयोग प्राप्त हुनेछ । घरायसी सुखको अनुकूलता हुनेछ । नातागोता र आफन्तजनसँग भेटघाटको योग छ । दीर्घकालिक प्रतिफल प्राप्त हुने क्षेत्रमा धन लगानीको सम्भावना छ । आफन्त, नातागोता वा घरपरिवारबाट आवश्यक सहयोग प्राप्त हुनेछ । परिश्रम गरेबमोजिम आम्दानी र प्रतिष्ठा प्राप्त हुनेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको सल्लाह र परामर्श प्राप्त हुनाले रोकिएको काम बन्ने समय छ । मन बढ्ने योग छ र सामाजिक मर्यादामा प्रतिष्ठा प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सामाजिक काममा संलग्न हुनुपर्ला । दाजुभाइ वा नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । पेसाव्यवसाय वा रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ, आकाङ्क्षा पूर्ण हुनेछन् । आम्दानीमा कमी आउने छैन । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । धार्मिक÷सामाजिक काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुनसक्छ । परोपकारी काममा दिलचस्पी बढ्न सक्छ । दिदीबहिनी वा कुटुम्बका काममा सघाउनु पर्नेछ । मेवा मिष्ठान्न र परिकार मिल्नेछ । प्रतिष्ठा बृद्धि गर्ने समय चल्दैछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आर्थिक क्षेत्रबाट ठूलो लाभ लिन सकिने छैन, तर दैनिकीमा खासै असर पर्दैन । स्वास्थ्यमा चिसो र घाँटीको सामान्य समस्या देखिन सक्छ । कार्यमा बिलम्ब हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा धनखर्च गर्न मन हौसिने छ । दिदीबहिनी वा भान्जाभान्जीका चाहना पूरा नहुनाले ठाकठुक पर्नसक्छ । घरायसी परिबन्दले खर्चको मात्रामा बृद्धि हुने सम्भावना छ । गहना, कपडा वा धातुको कुनै वस्तु किन्दै हुनुहुन्छ भने मोलतोल गर्न नबिर्सनु होला । परिवारमा पाहुनाको चाप बढ्न सक्छ र तिनको आवाभगतमा समय प्रदान गर्नुपर्नेछ । आवश्यकता अनुरूप बन्दव्यापारमा समय दिन सकिंदैन ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आजको दिन राम्रो छ । यद्यपि क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । नियमित तथा दैनिक कामधन्धा र व्यवसायबाट राम्रो फाइदा हुनेछ । गुमेको वा सापटीमा गएको धन फिर्ता आउनेछ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा समेत राम्रो छ । मन उत्ताउलो, भावुक र चञ्चल बन्नसक्छ । आजको प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिने छ । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । नौलो र रमणीय स्थानको यात्रा पनि हुनसक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
बाह्रौं घरमा चन्द्रमा रहेकाले खर्चमा नियन्त्रण गर्नुपर्छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुपर्छ । पारिवारिक वातावरण पनि तपाईंको अनुकूल हुने छैन । प्रणयसम्बन्धमा चिसोपन आउने छ । बन्दव्यापार र व्यवसायमा समय दिन सकिंदैन र सोचेबमोजिम काम नबन्न सक्छ । लगानीमा रहेका धनको उचित प्रतिफल नआउनाले दिक्क लाग्नेछ । छर–छिमेकमा पनि सानातिना असमझदारी बढ्ने योग छ । प्रतिस्पर्धामा पराजय ब्यहोर्नु पर्छ । दुर्गमस्थान र टाढाको यात्राको सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु नै ठिक हुनेछ । कल्पना र भावनामा केन्दित भइने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ । विगतका कमीकमजोरीलाई बेवास्ता गर्दै मन प्रसन्न बनाएर काम गर्नुहोला, सफलता तपाईंको मुट्ठीमा छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । आम्दानीमा कमी आउने छैन । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । आर्थिक पक्ष सबल बन्नेछ, कारोबारमा गतिशीलता आउने छ र व्यवसायबाट पनि राम्रै लाभ हुनेछ । मायाप्रेमका लागि समय जुट्ने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
दिन राम्रै भए पनि आफन्तहरूबाट भनेजस्तो सहयोग प्राप्त हुन सक्दैन । कडा मिहिनेतका कारण गुमेको प्रतिष्ठा पुनः प्राप्त गर्न सकिने छ । नचाहेको क्षेत्रमा विभिन्न जिम्मेवारी वहन गर्दै दौडधूप गर्नु पर्ने दिन छ । सुरुमा दिक्क र झर्को लाग्दो महसुस भए पनि अन्त्यमा सफलता नै मिल्नेछ । तर सचेत रहनु होला, सामान हराउने वा प्रतिफल नआउने क्षेत्रमा धनखर्च हुनसक्छ । अचल सम्पत्तिको कारोबार गर्दा सामान्य रूपमा फाइदा लिन सकिने छ । बन्दव्यापारका क्षेत्रमा झिनामसिना समस्या देखिन सक्छन् । घरायसी समस्यामा समय व्यतीत हुनसक्छ । मनोरञ्जन वा खेलवाडबाट टाढा बस्नु जायज हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
नवौं भावमा चन्द्रमा रहेकाले सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्नसक्छ । त्यसैले सामाजिक वा सांस्कृतिक क्रियाकलापमा सहभागी बन्नु राम्रो हुन्छ । व्यक्तिगत मानसम्मानको रक्षाका लागि प्रयास हुनेछन् । रोकिएका काम ढिलो गरी बन्नेछन् । धार्मिक वा सांस्कृतिक महत्त्वको यात्राको सम्भावना छ । झर्कोलाग्दो दिन भएपनि साँझमा शुभ कुराको सङ्केत मिल्नेछ । बिर्सिसकेको आफन्त वा साथीभाइसित भेटघाटको सम्भावना छ । दाजुभाइ र दिदीबहिनीले कामधन्दामा चाहेजस्तो सहयोग गर्ने छैनन्, यद्यपि धन, मान र प्रतिष्ठामा कमी हुनेछैन । कर्म गरेअनुरूप भाग्य निर्माण हुने दिन छ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी÷सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।