0 COMMENTS

वि.सं. २०७६ वैशाख ०४ गते बुधबार तदनुसार ई. सं. २०१९ अप्रिल १७ तारिख, चैत्र शुक्ल त्रयोदशी, उत्तराफाल्गुनी नक्षत्र, कन्या राशिको चन्द्रमा, ध्रुव योग, कौलव र तैतिल करण, आजको चाडपर्व र उत्सव : बुध प्रदोष व्रत, भक्तपुर छुमा गणेश यात्रा, महावीर जयन्ती, आजको मूहुर्त : अन्नप्राशन(पास्नी), रुद्राभिषेक(रुद्रीपूजा), पसल थाप्ने, गृहारम्भ (घरको जग राख्ने), शिलान्यास (सामान्य), गृहप्रवेश, वास्तुमुहूर्त, घर छाउने÷ढलान गर्ने, डेरा सर्ने, कलशचक्र, भोलिको चाडपर्व र उत्सव : भक्तपुरमा भैरव भद्रकाली रथयात्रा, भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), वास्तुमुहूर्त, दैलो राख्ने, कलशचक्र,

आजका लागि अशुभ समय :
राहु काल : दिउँसो १२:०४ देखि ०१:४१ सम्म , यमघण्ट : बिहान ०७:१६ देखि ०८:५२ सम्म, गुलिक काल : बिहान १०:२८ देखि १२:०४ सम्म, काल वारवेला : बिहान ०८:५२ देखि १०:२८ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :
लाभ वारवेला : बिहान ०५:४० देखि ०७:१६ सम्म र साँझ ०४:५३ देखि ०७:५३ सम्म, भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको तथा स्त्रीको नेतृत्वमा पूर्व र दक्षिण दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने दही खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ । पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न समस्या आइलाग्न सक्छन् । झिनामसिना र सानातिना कामका लागि पनि निक्कै खट्नु पर्छ । कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक हुनु पर्नेछ । भरिसक्य मुद्दामामिला र झैझगडाबाट टाढा रहनु होला, निर्णय क्षमताले काम नगर्न सक्छ । प्रतिस्पर्धीहरूले औंला ठड्याउने अवसर पाउने छन् । अनपेक्षित वादविवाद पनि हुनसक्छ, संयमता अपनाउनु बेस हुनेछ । भोगविलासमा आकर्षण बढ्न सक्छ, तर मनले चाहेजस्तो परिणाम प्राप्त गर्न गाह्रो छ । मनोरञ्जनात्मक क्षेत्रमा समय र धन खर्च हुनसक्छ । बन्दव्यापारमा चुनौतीको सामना गर्नुपर्छ ।

शुभरङ्ग : सेतो वा घुर्मैलो, शुभअङ्क : ६, शुभदिशा : दक्षिण, इष्टदेवता : विष्णु भगवान्, अशुभ रङ्ग : सुन्तले÷गुलाबी, अशुभ अङ्क : १, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ धन्वन्तरीदेवाय नमः, न्यूनतम जापसङ्ख्या : ०८, के गर्ने : कुरा काट्ने र प्रतिद्वन्द्वीसित सतर्क रहने, के नगर्ने : मुद्दामामिला र झैझगडा

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
एकाबिहानै केही महत्वपूर्ण घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ, जसबाट भविष्यमा राम्रो फाइदा पुग्नेछ । दिउँसोबाट ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइने छ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । आत्मबलमा अझ बृद्धि हुनाले सन्तुष्टि प्राप्त हुनेछ । विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्नेछन् र अन्य सबैले ज्ञानगुन, अध्यात्म र दर्शनका विषयमा आकर्षण देखाउने छन् । कुनै दीर्घकालिक योजनालाई मूर्त बनाउन आजको चिन्तन र उपाय महत्त्वपूर्ण बन्न सक्छ । भाइबहिनी र छोराछोरीका क्रियाकलापबाट सन्तुष्टि मिल्नेछ ।

शुभरङ्ग : आकासे, शुभअङ्क : ९, शुभदिशा : पूर्व, इष्टदेवता : सरस्वती माता, अशुभ रङ्ग : कालो, अशुभ अङ्क : ३, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ वाग्देव्यै नमः, न्यूनतम जापसङ्ख्या : ०७, के गर्ने : आध्यात्मिक वा दार्शनिक विषयको ज्ञान लिने, के नगर्ने : अहङ्कार

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
चतुर्थ चन्द्र भए पनि दिन लाभदायक नै देखिन्छ । व्यापार व्यवसायबाट मिहिनेत गरेबमोजिम लाभ लिनसकिने छ । सानातिना पारिवारिक समस्यामा रुमल्लिनु पर्ने छ । शरीरमा थकानको अनुभूति हुनसक्छ तथापि घरपरिवार, पारिवारिक सुख, मान्यजनको सेवासुश्रुषामा समय बितेको पत्तो पाउनुहुन्न । विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्नसक्छन् । यता घरैमा बस्नेले समेत सरलताको अनुभूति गर्नेछन् । काममा विविध चुनौतीको सामना गर्नु परे पनि सफलता हासिल हुनेछ । शरीर फुर्तिलो हुनेछ, जोस र जाँगर बढ्नाले आम्दानीमा बढोत्तरी हुनेछ । बन्दव्यापार फस्टाउने छ ।

शुभरङ्ग : कलेजी, शुभअङ्क : ४, शुभदिशा : उत्तर, इष्टदेवता : अष्टमातृका, अशुभ रङ्ग : गाढा नीलो, अशुभ अङ्क : २, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ अष्टमातृकाभ्यो नमः, न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : आमाको वा बृद्ध स्त्रीको आशीर्वाद ग्रहण गर्ने, के नगर्ने : लोभ र मोह

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आत्मीयजनहरूसँग भेटघाट हुनेछ । चाहनाबमोजिम कार्य सम्पन्न गर्न सकिने छ । मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । साथीभाइ र बन्धुबान्धवले सहयोग गर्नेछन् । यात्रा सम्पन्न र सफलतम सिद्ध हुनेछ । सामाजिक काममा दौडधूप हुनसक्छ, मान पाइने छ, राज्यपक्षबाट सम्मानित हुने अवसर मिल्नेछ । धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ । बन्दव्यापारका क्षेत्रमा नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने आज त्यसका लागि अनुकूल समय छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ ।

शुभरङ्ग : हरियो, शुभअङ्क : ३ शुभदिशा : पश्चिम, इष्टदेवता : गणेश, अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे, अशुभ अङ्क : १, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ कार्यविनायकाय महागणाधिपतये नमः, न्यूनतम जापसङ्ख्या : ०८, के गर्ने : परोपकारी र सामाजिक काममा मन दिने, के नगर्ने : दुःखीको अपमान

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आर्थिक पक्ष सुदृढ रहनुका साथै सम्पत्तिसम्बद्ध समस्याहरू समाधान हुनेछन् । काममा सफलता पाइने छ । आज तपाईंको बोलीको कदर हुने दिन हो, महत्वपूर्ण स्थानमा बोली बिक्नेछ । पारिवारिक खुसी मिल्नेछ । दिदीबहिनी र करकुटुम्बले राम्रो सहयोग गर्ने छन् । स्वास्थ्य सबल छ । नोकरी र व्यवसायिक क्षेत्रमा तपाईंको वाणि र व्यवहारप्रति विपरीतलिङ्गीको आकर्षण बढ्नेछ । भौतिक सम्पत्तिको जोहो हुनसक्छ । विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ । सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ । दीर्घकालिक लगानीका लागि उत्सुक हुनुहुन्छ भने आज राम्रो दिन छ ।

शुभरङ्ग : सेतो, शुभअङ्क : २, शुभदिशा : दक्षिण, इष्टदेवता : लक्ष्मी माता, अशुभ रङ्ग : पहेंलो, अशुभ अङ्क : ९, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ सिद्धिलक्ष्म्यै नमः, न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : चेलीबेटी र कुटुम्बसँग नम्र व्यवहार गर्ने, के नगर्ने : फजुल खर्च

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
तपाईंको खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । धेरै दिनपछि आज साँझ पारिवारिक रमझमका लागि समय र धनको जोहो हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन् । तपाईंका महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन् । कुनै लाभदायक वस्तुको किनमेल र कारोबार गरिने छ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । घरायसी वातावरण पनि तपाईंको पक्षमा रहनेछ । समग्रतामा अत्यन्त राम्रो परिणाम प्राप्त हुनेछ ।

शुभरङ्ग : गुलाबी, शुभअङ्क : १, शुभदिशा : पूर्व, इष्टदेवता : हनुमान्, अशुभ रङ्ग : हरियो, अशुभ अङ्क : ८, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ अं अङ्गारकाय नमः, न्यूनतम जापसङ्ख्या : १०, के गर्ने : नैराश्यभाव त्याग गर्ने, के नगर्ने : कल्पनामा र भावनामा डुब्ने काम

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
दिउँसोका तुलनामा बिहानको समय बढी सकारात्मक देखिन्छ । सुरुमा मनमा उत्साह र उमङ्ग देखिए पनि चन्द्रमा बाह्रौं घरमा रहने हुँदा आत्मबलमा कमी देखिन सक्छ, तर शरीरमा स्फूर्ति, उत्साह र उमङ्गलाई नत्याग्नु राम्रो हुन्छ । छरछिमेकी वा साथीभाइले काममा सहयोग गर्नेछन् । अप्ठ्यारामा परेका व्यक्तिको सहयोग गर्दा धन खर्च हुनेछ । शुभकार्य वा दानपुण्यमा मन आकर्षित हुनेछ । रमाइलो र सार्थक यात्राको योग छ । घरभित्रका समस्या हल गर्न आर्थिक व्ययभार बढ्नसक्ने सम्भावना देखिन्छ । दिन छिप्पिंदै जाँदा तनाव र चिडचिडेपन बढ्न सक्छ । रिसराग र प्रतिशोधको भावना त्याग्नु राम्रो हुनेछ ।

शुभरङ्ग : बैजनी वा पहेंलो, शुभअङ्क : ४, शुभदिशा : उत्तर, इष्टदेवता : कुल÷पितृदेवता, अशुभ रङ्ग : हरियो÷चम्किलो, अशुभ अङ्क : ७, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ बृं बृहस्पतये नमः, न्यूनतम जापसङ्ख्या : १९, के गर्ने : खर्र्चमा नियन्त्रण, के नगर्ने : विलम्ब र ढिलासुस्ती

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
चिताउँदै नचिताएको कुनै महत्वपूर्ण कार्य सिद्धि हुने छ । विपरीतलिङ्गीसँग विनम्र भावले व्यवहार गर्दा राम्रो हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । भाइबहिनी वा सन्ततिका कारण खुसीको वातावरण बन्नसक्छ । बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । समाजसेवाबाट वा साथीभाइको विचारलाई अनुसरण गर्दा लाभ हुनेछ । अपूरा कार्य पूर्ण हुनेछन् । ज्ञानविज्ञान र चिन्तनमननमा समय बित्नेछ ।

शुभरङ्ग : नीलो, शुभअङ्क : ३, शुभदिशा : पश्चिम, इष्टदेवता : शिवजी, अशुभ रङ्ग : घिउरङ्ग÷क्रिम, अशुभ अङ्क : ६, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ सूर्यसुताय शनये नमः, न्यूनतम जापसङ्ख्या : २३, के गर्ने : बन्दव्यापार र लाभमूलक काममा लगानी, के नगर्ने : अनुशासन भङ्ग

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आत्मविश्वासमा कमी आए पनि साथीभाइ र सहयोगीको मद्दतले सोचेजस्तै लाभ लिन सकिने छ । मातापिता वा कुनै मान्यजनको सेवासुश्रुषाका लागि खट्ने परिस्थिति छ । पेसा वा व्यवसायमा आबद्ध हुनुहुन्छ भने मिहिनेत र लगनशीलतामा कमी आउन नदिनु होला, नत्र सानो त्रुटिका कारण काम बिग्रन सक्छ । श्रममूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । प्रयाससाध्य समय छ, संयम भई पूर्ण गर्नुहोला । प्राविधिक कामबाट ढिलो भए पनि सोचेजस्तो सफलता हात पर्नेछ । अध्ययन र चिन्तनमा ध्यान केन्द्रित हुन सक्दैन । नतिजाको पर्खाइमा हुनुहुन्छ भने निराश हुनुपर्छ, तर बन्दव्यापारमा फाइदा नै छ ।

शुभरङ्ग : कालो, शुभअङ्क : २, शुभदिशा : दक्षिण, इष्टदेवता : कुल÷पितृदेवता, अशुभ रङ्ग : कलेजी, अशुभ अङ्क : ५, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ कुलदेवताभ्यो नमः, न्यूनतम जापसङ्ख्या : २३, के गर्ने : जग्गाजमिन र घरायसी बन्दोवस्तीको प्रयास, के नगर्ने : अल्छीपन र अकर्मण्यता

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । पारिवारिक समस्याहरू हल हुनेछन् । घरायसी र दाम्पत्य सम्बन्धमा सुमधुरता आउने छ । पहिले गरेका क्रियाकलापको मूल्याङ्कन र प्रशंसा हुनेछ । रोकिएका काम सुरु गर्ने वातावरण बन्नेछ । आर्थिक पक्षमा टेवा पुग्नेछ । सामाजिक कार्यमा महत्वपूर्ण उपलब्धी हासिल हुनेछ । टाढा रहेका आफन्तजनको उन्नति र प्रगतिको समाचार सुन्न पाउनु हुनेछ । मान्यजनको आशीर्वाद पाउनु हुनेछ । लामो दूरीको यात्रामा निस्कन वा यातायातको साधन किन्न आजको दिन अनुकूल छ । गरेका काममा भाग्यले साथ दिनेछ ।

शुभरङ्ग : गाढा पहेंलो वा केशरी, शुभअङ्क : ९, शुभदिशा : पूर्व, इष्टदेवता : धर्मराज, अशुभ रङ्ग : चम्किलो÷उज्यालो, अशुभ अङ्क : ४, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ धर्मराजाय नमः, न्यूनतम जापसङ्ख्या : १९, के गर्ने : धार्मिक, सामाजिक र परोपकारी काम, के नगर्ने : अपमान

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आठौं घरमा चन्द्रमा रहेको छ, यद्यपि तपाईंको राशिमा शुभग्रहको दृष्टि रहेकाले राम्रा र प्रसन्नताका समाचारहरू सुन्न पाउनु हुनेछ । सानातिना घरायसी समस्याहरू देखिए पनि तिनले दैनिकीमा खास फरक पार्ने स्थिति छैन । जीवनसाथीसित वैचारिक मतभेद हुनसक्छ, तर अन्त्यमा मेलमिलापको वातावरण बन्नेछ । लामो समयदेखि गर्न नभ्याएका आवश्यक काम पुनः थालनी गर्न आज अनुकूल समय छ । मनमा कताकता चिन्ता र शङ्का सिर्जना भए पनि आज उत्साहमा कमी हुन दिनुहुँदैन । तपाईंको रोकिएको काम बन्न सक्छ । उपलब्धीमूलक यात्राको योग छ । गरेको कामबाट सन्तोषजनक परिणाम प्राप्त हुनेछ ।

शुभरङ्ग : नीलो, शुभअङ्क : ८, शुभदिशा : उत्तर, इष्टदेवता : भगवान् महादेव, अशुभ रङ्ग : हरियो, अशुभ अङ्क : ३, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ मृत्युञ्जयाय नमः, न्यूनतम जापसङ्ख्या : १०, के गर्ने : आवेग, संवेग, रिसराग र क्रोधमा नियन्त्रण, के नगर्ने : सट्टापट्टा र जोखिमपूर्ण काम

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
कामकाजमा जाँगर चल्दैन, मन भावुक र रोमान्टिक बन्न सक्छ । सोचेजस्तै सफलता प्राप्त गर्न निक्कै खट्नु पर्नेछ । बन्दव्यापार र व्यवसायका अप्ठ्यारा र असजिला पक्षको चिन्तनमा एकाबिहानै मन रुमल्लिन सक्छ । पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने स्थगित गर्नु ठिक हुन्छ, किनकि आज साझेदारको भर पर्नु हुँदैन । दाम्पत्य जीवनमा चिसोपन बढ्नाले फकाउने र फुस्ल्याउने काममा समय बित्ने सङ्केत छ, त्यसैले बेलैमा स्थिति नियन्त्रणमा लिनु पर्छ । जीवनसाथीलाई समय दिनु र सानो घरायसी भ्रमणमा निस्कनु राम्रो हुन्छ । मनोरञ्जनात्मक क्षेत्र र सँगीसाथी हानिकारक बन्न सक्छन् ।

शुभरङ्ग : हलुका रातो, शुभअङ्क : ७, शुभदिशा : पश्चिम, इष्टदेवता : राधाकृष्ण, अशुभ रङ्ग : पहेंलो, अशुभ अङ्क : २, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ कामदेवाय नमः, न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : पति÷पत्नी र प्रेमी÷प्रेमिकाको भावनालाई बुझ्ने प्रयास गर्ने, के नगर्ने : कामुकता

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी÷सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।