0 COMMENTS

karuna-kunwar1प्रश्न-  म उमेरले ६५ वर्ष भैसकें । मेरी श्रीमती ५८ वर्षकी छिन् । छोराछोरी सबै आ–आफ्नो बाटो लागिसके । लगभग पाँच वर्षअघि घरायसी तनाव थियो । त्यही बेला बिस्तारै यौनइच्छा घट्दै गयो । अहिले उक्त तनाव पूर्ण रूपमा समाधान भैसकेको छ, तर यौनइच्छा अझै बढेको छैन । यद्यपि मनमा भने चाहना हुन्छ र हरेक दिन तयार हुने प्रयास गर्छु तर एकाएक अल्छी महसुस हुन्छ । अब उमेर ढल्किसक्यो, म किन यस्तो सोच्छु भनेर आफैंलाई धिक्कार्छु । यो पीडा बढ्दै गएको छ, तर कसैलाई भन्न सकिन । श्रीमतीको भने यौनइच्छा घटेको छैन र कुनै प्रश्न पनि गरेकी छैनन् । तैपनि उनको यौनइच्छा पूरा गरिदिन नपाउँदा पीडा हुन्छ । यो पीडा हटाउने कुनै उपाय छ कि ?

उत्तर – करुणा कुँवर, मनोविद-  दैनिक तनावका कारण मानसिक अवस्थामा असर परेको हुन्छ । मनस्थितिमा असन्तुलन आउनासाथ शरीरले असजिलो महसुस गरिहाल्छ । यतिबेला नकारात्मक ग्रन्थिहरू पनि सक्रिय हुन्छन् । शरीरले त्यही किसिमको केमिकल्स उत्पादन गर्न थाल्छ । तनाव कम हुनेबित्तिकै शरीरले दिने प्रतिक्रिया फरक भैहाल्छ । जहाँसम्म यसले दम्पतीको यौन गतिविधिमा पार्ने नकारात्मक प्रभावको कुरा छ, मानसिक स्वास्थ्यमा असर पर्नासाथ यसको समग्र शरीरमा नकारात्मक असर परिहाल्छ । दम्पतीको मुडमा नकारात्मक असर हुन थाल्छ । यौनसम्पर्कका लागि बन्नुपर्ने वातावरण–परिवेश बन्नै सक्दैन । एकअर्काबीच मायामोहको स्थिति रहँदैन । आपसी माया सञ्चारको वातावरण तयार हुँदैन । यसले गर्दा जोडीको यौनिक सम्बन्ध त्यति राम्रो रहँदैन । शारीरिक बनावट एवं मनोवैज्ञानिक असरका कारणले दम्पतीको सम्बन्धमा प्रतिकूल असर परेको हुन्छ ।

दम्पतीबीचको यौनसम्बन्धले तनाव कम गर्छ भन्ने भनाइ विभिन्न संस्कृतिमा विद्यमान छ । यौनसम्बन्धले दम्पतीको जीवनमा भएको तनाव कम गर्छ कि गर्दैन भनेर अनुसन्धानहरू पनि भएका छन् । यौन क्रियाकलापले श्वासप्रश्वास, रक्तसञ्चार तथा नशा प्रणालीलाई आनन्द महसुस गराउँछ भन्ने विषयमा युनिभर्सिटी अफ सिफिल्डका रोय जे लेभिनले अनुसन्धान गरेका छन् ।

अब तपार्इंको प्रश्नतर्फ लागौं, पुरुषहरूको उमेर ढल्कँदै जाने क्रममा क्रमिक रूपमा यौनइच्छा घट्दै जान्छ । विभिन्न अध्ययनबाट यो कुरा पुष्टि भैसकेको छ, तर यसो भन्दैमा यो सबै पुरुषमा लागू हुँदैन । कतिपय पुरुषले उमेर ढल्कने क्रमसँगै आफ्नो यौनईच्छालाई पनि कायमै राखेका हुन्छन् । यौनइच्छा नहुनुका विभिन्न कारण हुन सक्छन् । विशेषगरी उदासीपन र चिन्ता छ भने यौन चाहना घट्दै जान्छ । अर्को अवस्था भनेको इन्डोक्राइन हार्माेनको गडबडी र यदि कुनै औषधि लगातार रूपमा लामो समयदेखि खाइरहेको अवस्था छ भने पनि यौन चाहनामा कमी आउँछ । केही अध्ययनले पुरुषहरूमा ५० वर्षको उमेरपछि शून्य दशमलव ४ देखि शून्य दशमलव ८ प्रतिशतले टेस्टोस्टेरोन हार्माेन घट्दै जान्छ, जसका कारण यौनचाहनामा कमी आउने देखाएको छ । अर्को एक अध्ययनअनुसार जसले ६० नाघिसकेपछि यौनचाहना बढी हुनु भनेको राम्रो होइन, असमान्य व्यवहार हो भन्ने विश्वास गर्छन्, उनीहरूको यौन इच्छामा पनि र्‍हास आउन सक्छ ।

उमेर ढल्कँदै गएपछि पनि यौनजन्य आनन्द लिन सकिन्छ । यद्यपि उमेरमा र उमेर ढल्किएपछिको यौनचाहना, गतिविधि र मजबुतीमा फरक हुन्छ । २० वा ३० वर्षको उमेरमा र ६५ वर्षको उमेरमा हुने सेक्समा केही भिन्नता हुन्छ । २० वा ३० वर्षको उमेरमा बालबच्चा वा करियर महत्त्वपूर्ण पाटोका रूपमा विद्यमान हुन्छन्, तर ६५ वर्षको उमेरमा यी कुरा महत्त्वपूर्ण नहुन सक्छन् । यतिबेला यौनसाथीबीच नजिकको सम्बन्ध सबैभन्दा महत्वपूर्ण कुरा बन्न पुग्छ । प्रश्नमा उल्लेख भएअनुसार तपाईंकी श्रीमतीले तपाईंलाई बुझ्ने प्रयास गर्नुभएको छ जुन तपाईंका लागि राम्रो पक्ष हो । यस्तो सम्बन्धमा सकारात्मक सोचले काम गर्ने बानी बसाल्ने, मानसिक तथा शारीरिक अवस्था तन्दुरुस्त अवस्थामा राख्ने तथा चिन्ता कम गर्ने क्रियाकलाप गर्दा मानसिक स्फूर्ति बढ्दै जान्छ र यौन आनन्दको उचाइ बढ्दै जान्छ, अर्थात् एक पक्षले अर्को पक्षलाई सहयोग गरिरहेको हुन्छ र जीवन रोमाञ्चकारी बन्दै जान्छ । त्यसैले यौनसम्पर्क र उमेरको केही सम्बन्ध त पक्कै छ, तर मानिसहरूले यसलाई कसरी लिइरहेका छन् भन्ने कुरा महत्वपूर्ण हो । यौनसम्पर्क र यौनजन्य गतिविधिबाट आनन्द लिने कुरा बुढ्यौलीमा पनि सम्भव छ । फरक यति हो कि मानिसहरूले बुढ्यौलीसँगै आफूलाई समायोजन गर्दै लगेका छन् कि छैनन् ? उमेर बढ्दै जानु सामान्य कुरा हो । यससँगै सेक्सको नियमित रुटिन परिवर्तन गर्नुपर्ने हुन सक्छ । तपाईंको तनाव हाल समाधान भए पनि पुरानै तनावको असर बाँकी हुन सक्छ । तपाईंले आफ्नो समस्या पहिचान गर्नु राम्रो हो, त्यसैले बढी ढुक्क हुन मनोविद्सँग परामर्श गर्नु उचित हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।