0 COMMENTS

काठमाडौं०७माघ/ प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म घरघरमा मनाइने श्रीस्वस्थानी व्रत आजबाट शुरु भएको छ ।स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ प्रत्येक वर्ष घर–घरमा स्वस्थानीको कथा सुनाउने गरिन्छ । यसै अवरमा महिनाभार साँखुस्थित शालीनदीमा ठूलो मेला लाग्ने गर्दछ । यस वर्षको मेला आजबाट शुरु भएको छ ।व्रतालुले हातगोडाका नङ काटी शुद्ध वस्त्र पहिरिन्छन् । आज बेलुकी पूजारीबाट जल ग्रहण गर्ने व्रतालुले पौष शुक्ल पूर्णिमाका दिन बिहान शालिनदीमा गई स्नान गर्ने गर्दछन् । मध्यान्ह्कालमा माधवनारायणसहित शिव पार्वतीको पूजा गरी स्वस्थानी श्रवण गरिन्छ ।

पार्वतीले स्वस्थानीको व्रत बसेर महादेव पति पाएको र संसारमा दुःखीहरूको उद्धारका लागि महादेवकै स्वीकृतिमा उनी रसातल, पाताल र मत्र्यलोकमा स्वस्थानीबारे प्रचार गर्न गएको व्रतकथामा उल्लेख छ । देवीदेवताका लीलाका प्रसङ्ग जोडिएकाले स्वस्थानी कथाले सुन्ने र सुनाउने सबैलाई मन्त्रमुग्ध पार्छ । सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउन भगवान विष्णुको सल्लाहअनुसार एक महिनासम्म निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको उल्लेख छ ।

एकतीस अध्याय रहेको यस व्रतकथाको बाह्रौँ अध्यायमा श्रीस्वस्थानीको महिमाबारे वर्णन गरिएको छ । श्रद्धापूर्वक श्रीस्वस्थानीको व्रत बसी कथा वाचन तथा श्रवण गरेमा दुःख तथा रोगव्याधि नाश हुने र मनले चिताएको पुग्ने पार्वती, गोमा र नवराजजस्ता पात्रका माध्यमबाट देखाइएको छ ।

राजधानीको मखनटोलस्थित तारिणीबहालभित्र पनि श्रीस्वस्थानीको मन्दिर छ । शिवसहितको उक्त मूर्ति राजा प्रताप मल्लको पालामा नेपाल संवत् ७९४ मा स्थापना गरिएको मूर्तिपदमा उल्लेख छ ।

स्वस्थानीमा कसैले पनि अभिमान र अवहेलना गर्न नहुनेजस्ता नैतिक शिक्षा पनि दक्षप्रजापति र चन्द्रावतीजस्ता पात्रका माध्यमबाट समाजलाई दिनाका साथै सधैँ सत्यको जित र असत्यको हार हुन्छ भन्ने कुरा मधु–कैटभ, तारकासुर, जालन्धर र त्रिपुरासुरजस्ता दैत्यहरूको पराजयबाट पनि चित्रण गर्न खोजिएको छ ।

परम्परादेखि नै स्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको शालिनदीमा एक महिनासम्म विभिन्न जिल्लाबाट भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

स्कन्दपुराणको केदार खण्डमा सूर्य मकर राशिमा प्रवेश गरेपछि लाग्ने माघ मेलामा पानी शुद्ध र स्वच्छ हुने उल्लेख छ ।

माधवनारायण मेला

माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले शनिबार पत्रकार सम्मेलन गरी मेला व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
माघ ७ गतेदेखि एक महीनासम्म चल्ने शालिनदी मेलाका लागि यातायात, सुरक्षा र स्वास्थ्य, लगायतका विषयमा सम्पूर्ण तयारी पूरा भएको मूलआयोजक समितिका अध्यक्ष्ग गोविन्दबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

समितिले गएको वर्ष ३० लाख दर्शनार्थी सहभागी भएकामा वर्ष पनि सोही अनुपातमा श्रद्धालु भक्तजन आउने अपेक्षा गरिएको जनाएको छ । मेलामा राखिएका विभिन्न पसलबाट पसलहरुले जथाभावी पैसा लिने गरेकाले समितिले यसवर्ष बजार व्यवस्थापन तथा अनुगमनका लागि छुट्टै टोली बनाएको उहाँले जानकारी दिनुभयो ।
महानगरीय प्रहरी प्रभाग साँखुकी प्रहरी निरीक्षक लक्ष्मी खनालले मेलाका लागि ९० प्रहरी परिचाललन गरिने बताउनुभयो । सुरक्षाका लागि प्रहरी ‘हेल्प डेक्स’ राखिने र ट्राफिकको उचित व्यवस्थापन पनि गरिने जानकारी दिनुभयो ।
महीनाभर शालिनदी आउने भक्तजनका लागि पाँच÷पाँच मिनेटमा साँखुबाट शहरका विभिन्न भागमा जाने सार्वजनिक यातायातको व्यवस्था गरिएको समितिले जनाएको छ ।
शङ्खरापुर नगरपालिका, इलाका प्रशासन कार्यालय, महानगरीय प्रहरी प्रभाग साँखु र समितिको संयुक्त बैठकले निर्माण सामग्री ओसार्ने ट्रक ट्रिपरलगायत मालबाहक सवारी साधनलाई बेलुकी पाँच बजेपछि मात्र साँखु क्षेत्रमा प्रवेश गर्न दिइने निर्णय गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।