0 COMMENTS

नमराज भट्ट,१माघ/  शान्ति र समद्धिका लागि योग’ भन्ने मूल नारासहित मंगलबार चौथो राष्ट्रिय योग दिवस–२०७५ मनाइएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको प्रांगणसहित ७७ वटै जिल्ला तथा आयुर्वेदसम्बद्ध सबै संस्थाहरूमा विभिन्न कार्यक्रम गरी योग दिवस मनाइएको हो ।

स्वस्थ तथा तन्दुरुस्त रहनका लागि योग अत्यन्त उपयोगी मानिन्छ । पछिल्लो समय अस्वस्थकर जीवनशैलीका कारण मानव स्वास्थ्यमा नकारात्मक प्रभाव चुलिँदो छ । पूर्वीय दर्शनद्वारा व्यवस्थित तथा ऋषि–महर्षिहरूद्वारा सिद्ध योगको बहुआयामिक महत्वबोध गर्दै पछिल्लो समय विश्वभरि नै योग दिवस मनाउने गरिएको छ ।आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले विभिन्न योगाभ्यास गरे । कार्यक्रममा योगगुरु राजकुमार कार्कीले विभिन्न योगासन तथा प्राणायम गराएका थिए ।

कार्यक्रममा आयुर्वेद क्याम्पस कीर्तिपुरअन्तर्गत नेपाल आयुर्वेद विद्यार्थी समाजद्वारा आयोजित राष्ट्रिय योग दिवस २०७५ का अवसरमा योगसँग सम्बन्धित राष्ट्रिय नारा लेखन प्रतियोगितामा प्रथम, दोस्रो तथा तेस्रो हुने विद्यार्थीलाई स्वास्थ्य तथा जनसंख्याराज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले पुुुरस्कार वितरण गरेका थिए । राज्यमन्त्री यादवले स्वस्थ रहनका लागि योग अत्यन्त उपयोगी भएको बताए । ‘योगाभ्यासले शरीरका सम्पूर्ण मांसपेशीमा निकै फाइदा पुर्याउँछ,’ उनले भने, ‘शरीरमा भएको ८० प्रतिशत ब्लकेजलाई योगाभ्यासले निकै फाइदा पुर्याउँछ भने नसर्ने रोगको रोकथामको एक मात्र उपाय योग गर्नु नै हो ।’
हाल विश्वभर कुल बिरामीको ६० प्रतिशतभन्दा बढी नसर्ने रोगबाट ग्रस्त छन् । नसर्ने किसिमका रोगमध्ये पनि मानसिक समस्या, मोटोपनसम्बन्धी समस्याले आधा हिस्सा ओगट्छ । यस्ता समस्याबाट बच्न योग तथा अन्य शारीरिक व्यायाम अपरिहार्य छन् ।

कार्यक्रममा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले स्वास्थ्यबारे जनचेतना तथा जागरण फैलाउन डेमो देखाउने उद्देश्यले योग दिवस मनाइएको बताए । अस्वस्थकर जीवनशैलीका कारण स्वास्थ्यमा पर्ने नकारात्मक प्रभाव हटाउन तथा नसर्ने रोगको निराकरणमा समेत योगले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आयुर्वेद चिकित्सक डा. बाबुराज अमात्यले जानकारी दिए ।

चौथो राष्ट्रिय योग दिवसको अवसरमा स्वास्थ्य मन्त्रालय आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागद्वारा आयोजित कार्यक्रममार्फत प्रथम, दोश्रो एंव तेस्रो स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई प्रमाणपत्र, नगद पुरस्कार एंव मायाको चिनो प्रदान गरिएको हो ।

नारा प्रतियोगितामा प्रथम हुन सफल एलिजा दाहाल, दोस्रो हुन सफल जेनिशा सापकोटा तथा तेस्रो हुन सफल ज्योति ढकाललाई माननीय स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादव तथा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका छन् ।प्रतियोगिताको पुरस्कार स्वरूप प्रथम पुरस्कार नगद रु २५००, द्वितीय पुरस्कार रु १५०० र तृतीय पुरस्कार रु १००० प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।