0 COMMENTS

काठमाडौँ, २० कात्तिक ०७५/ प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको उपसभापतिमा पार्टी संसदीय दलको उपनेता विजयकुमार गच्छदार मनोनयन भएकाछन।

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग पार्टी एकताका सम्बन्धमा भएको सहमतिअनुसार उनलाई उपसभापति पदमा मनोनयन गर्ने निर्णय गरेको हो ।

बैठकले काङ्ग्रेसको साङ्गठनिक संरचनामा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका पार्टीगत संरचना एवं भ्रातृ र शुभेच्छुक सङ्घसंस्थाको समायोजनसम्बन्धी आवश्यक कार्य गरी प्रतिवेदन पेश गर्न एक समितिसमेत गठन गरेको छ ।

सो कार्यका लागि उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा पाँच सदस्यीय समायोजन समिति गठन गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । यस समितिले केन्द्रीय कार्यसमितिको आगामी बैठकमा प्रतिवेदन पेश गर्नेछ ।

महासमितिको बैठक मङ्सिर २८ देखि पुस ३ गतेसम्म

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकले आगामी मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँमा गर्ने भनिएको पार्टीको महासमितिको बैठक मङ्सिर २८ देखि पुस ३ गतेसम्म गर्ने निर्णय गरेको छ ।

दीपावली, नेपाल संवत्, छठलगायत चाडपर्व प्रारम्भ भइसकेको र सो समयमा केन्द्रीय कार्यसमितिको बैठक बस्न व्यावहारिक नहुने भन्दै महासमिति बैठकको मिति सारिएको मुख्य सचिव पौडेलले जानकारी दिनुभयो ।

बैठकले काङ्ग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा ३८ बमोजिम गठन हुने केन्द्रीय लेखापरीक्षण समितिको संयोजकमा पार्टीका केन्द्रीय सदस्य श्यामकुमार घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालको नाममा रहेको जग्गामा व्यापारिक मल र सभागृह बनाउने तयारी गरिएको कुराप्रति काङ्ग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अस्पतालको जग्गा कुनै पनि निकाय वा तहले अन्य प्रयोजनका लागि प्रयोग गर्ने÷गराउने कार्य गलत भएको ठहर गर्दै त्यस्तो कार्य अविलम्ब रोक्न बैठकले सम्बन्धित पक्षलाई सचेत गराएको छ ।

बैठकले सर्लाहीको रामनगर गाउँपालिका–४ का काङ्ग्रेस कार्यकर्ता रामविलास महतोलाई गोली हानी हत्या गरेको घटनामा संलग्नलाई तत्काल कानूनी कारवाही गर्न माग गरेको छ । बैठकका निर्णय सार्वजनिक गर्न जारी गरिएको विज्ञप्तिमा सो घटनाका मृतकलाई शहीद घोषणा गरी घाइतेको निःशुल्क उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरिएको छ ।

बैठकले पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताका रुपमा मनाउँदै आएको दीपावली, नेपाल संवत्, छठलगायत पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजु–भाइ तथा दिदी–बहिनीमा सुख, शान्ति र समृद्धिको शुभ–कामना व्यक्त गरेको छ ।

काङ्ग्रेसले मानव अधिकारवादी तथा पूर्वस्वास्थ्यमन्त्री पद्मरत्न तुलाधरको निधनप्रति दुःख व्यक्त गरेको छ । बैठकले डोल्पामा सोमबार जीप दुर्घटनामा परी १० जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरुप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । बैठकले सो घटनाका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।