0 COMMENTS
प्रतिभा भट्टरार्इ

मेरी छोरीलाई,आज भोली नमज्जा लाग्छ रे “मामू घरमै बस्नुहुन्छ”, भन्नुपर्दा अनि निक्कै गर्व लाग्थ्यो रे स्कूल अनि कलेज का प्रोजेक्ट वर्क हरुमा excellent पाउँदा शिक्षक हरुले आफैंले लेखेको वा अरू कसैले सिकाईदिएको भनेर सोध्दा ‘मामुले!’ भन्न पाउँदा। उसलाई मैले सिकाउने कुराहरू जीवनभर कहाँ सकिन्थ्यो र तर उस्को बाल मस्तिष्कले सोचेको होला अब मामू घरमै बस्ने भएपछि सिकाएका कुराहरू सही हुँदैनन् जति म्याम भनेर चिनिँदा हुन्थे।

तर उसले विर्सिछ आफ्नी आमाको न्यानो अंगालोमा बसिरहन मन् लाग्दा उसकी आमाले जबर्जस्ती भूईँमा राखि औंला चुस्न दिएर टाढिएकी अनि आमा आउने बेला भयो भनेर बार्दलिको बार समाएर बाटो हेरिरहँदा आमा आफ्नो काम अनि बाटोको जामले ढिलो आउँदा मेरो माया भए पाे भनेर घुर्की लगाएकी।परिस्थिति,वातावरण अनि साथी भाइ लगभग उस्तै उस्तै भए पनि,फरक भयो त केवल वरिपरिका खाली जमिनहरुमा बनेका अग्ला अग्ला भवन हरु, सानो विरुवामा लागेका फलहरू अनि मिठो तोते बोली बोल्ने बालकको स्वरमा आएका, धोत्रेपन हरु। यसरी लामोसमय सम्म एउटै ठाउँमा विताइएकोले होला सायद रङ्गीन बन्दै गइरहेको परिवेशमा पनि फिक्का अनुभव गर्दै,कहिले पुगौँ लाग्ने ठाउँमा एकदिन मात्र जान नपर्दा पनि ठूलै उपलब्धी हासिल गरे झैँ लाग्ने भइसकेको थियो।

हरेक दिन बिहान युद्धस्तरमा काम गर्दा पनि फोन अनि मूलढोका मा बज्ने घण्टी हरुले अल्मल्याएर बनिसकेका अनि खान नभ्याइएका खाना हरु, व्यस्त सडकमा बुलेट बाइकको आवाजले थर्काएको मन् सहित भीड छिचोलेर हिलो-चिप्लो हुरी-झरी अनि खाल्डा हरुको पर्वाह नगरी कुद्नु पर्ने वाध्यता, गाडी छुट्दा र नचल्दा का असहजता, अझै घरका प्रिय व्यक्तिहरूलाई बिसन्चो भएको समयमा पनि अनि “आज एकदिन नगए हुँदैन र ?!”, भनेको सुनिसक्दा पनि आफ्नै उपस्थितिमा गर्नु पर्ने काम सम्झेर घडी हेर्दै, कुनै दुर्घटनामा अङ्ग भङ्ग भएका व्यक्तिहरू छट्पटाए झैं छटपटिएको मन् बिसाउन नपाउँदै सम्हाल्नु परेका काम,कर्तव्य सँगै थपिन पुगेका नयाँ कामहरू आइपर्दा, समय एकनासले चलिरहन्छ ,न ढिलो, न चाँडो, यसले कसैको विन्ती अनि घुर्की सुन्दैन भनेर जान्दा जान्दै पनि संका गर्न मन् लाग्थ्यो भने जसोतसो काम सकाएर गाडी चढ्न पुग्दा कसैले “आज त गाडी बन्द छ रे!!”, भनेको सुन्दा, भन्ने मान्छेकाे गल्ति कहाँ छ र भन्ने बुझेरै पनि रिस् उठेर आउँथ्यो र पनि याे मेरो मात्र समस्या कहाँ हो र, भन्दै फटाफट हिँडेर घर पुग्दा भने दुखेको मनको अदृश्य मल्हम बनेर आएको समय लाई धन्यवाद दिन करै लाग्थ्यो।

हो ,यी र यस्ताअनेकौ समस्या हरुका कारण नै गरिरहेको काम छोडिदिन मन् लागेको भएपनी यी सबैले भोगेका अप्ठ्याराहरू कसलाई सुनाउनु थियो र? अनि त किताब देखेपछि पढीहाल्ने बानीले यौटा कुरा पढ्न पुगें,जस्मा ‘मानिसले आफ्नो उमेरमा गर्नै नहुने गल्तिहरु’ भनेर पहिलो नम्बरमा लेखिएको थियो- गर्न मन् नलागेको काममा अल्झेर बसिरहनु, याे वाक्यले मेरो दिमाग मजाले क्लिक गरिदियो अनि बाँकी पढ्दा पनि नपढी अब गल्ती गरिन्न भन्ने निर्णय लिंदै अलि अलि ‘money is everything’ भन्ने लागे पनि ‘but nothing’ भन्दै आफ्नो मनलाई बाँधिदिए।

त्यसैले त वर्षौं सम्म जेल परेको कैदी उम्कन पाए जस्तै उन्मुक्त हुँदै रहर लागेको ठाउँ र मन्दिर घुम्न पाएकी छु, आफ्नो घरलाई महल बनाउन जानेकी छु, नयाँ नयाँ कुराहरू सिक्ने अवसर हरु जुटाएकी छु अनि राम्री देखियोस् या नदेखियोस् आफूलाई सजाउन भ्याएकी छु।तर पनि आफ्नो घरलाई नै महत्व दिएर अनि ममताले सिँजेर खोजि खोजि काम गर्दा मिल्ने सन्तुष्टि लाई नै जीवनको अनमोल कमाइ मानेर मन् बुझाइ रहँदा पनि आफूले नै नदेखेको अनि जतन गरेको मन् दुखाउने चाहिँ अरु नै हुँदो रहेछ। कुनबेला,कस्ले कहाँ अनि कसलाई कसरी मन् दुःखाइदिन्छ थाहै हुँदो रहेनछ।

एक अपरिचित ले प्रयोग गरेकाे शब्द जस्ले मेरो मन् चसक्क भइदियो।मूल ढोकाको घण्टी सँगै आएको अनुसन्धान अधिकारीले सोधेका प्रश्नहरूको पालै पालो जवाफ दिने क्रममा, उसले मेरो नामको पछाडि लेखिदिएको थियो ” बेरोजगार ।”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।