पेट्रोलियम ट्याङ्कर चालकको चेतावनी ,तलब नबढाए अाइतबार देखी ट्याङ्कर चल्दैनन्

काठमाडौं ३१ भदौ ०७५/ नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले चालक र हेल्परको तलब वृद्धि नगरेको भन्दै अाज आइतबार सबै ट्याङ्करको साँचो नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घलाई बुझाउने भएको छ ।

नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घका अध्यक्ष ईश्वर लामाले आज एक विज्ञप्ति जारी गरी भदौ ३ गते श्रमिकका सेवा सुविधाका बारेमा १८ बुँदे मागपत्र राखेर नेपाल आयल निगम र ढुवानी व्यवसायी महासङ्घलाई ज्ञापनपत्र बुझाउँदा पनि माग पूरा गर्न आलटाल गरेकाले साँचो बुझाउन लागिएको बताउनुभयो ।

“नेपाल आयल निगम र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले हाम्रा मागप्रति पटकपटक बैठक बस्दासमेत सुनुवाइ गरेन, त्यसैले भोलिदेखि साँचो बुझाएर काम नगर्ने निर्णय गरेका छौँ”, अध्यक्ष लामाले भन्नुभयो ।