0 COMMENTS

काठमाडौं २८असार०७५/ नयाँ शक्ति पार्टी, नेपालले वर्तमान सरकारका कतिपय क्रियाकलापप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टीका सूचना, सञ्चार तथा प्रकाशन विभाग प्रमुख विश्वदीप पाण्डले बिहीवार एक विज्ञप्ति जारी गर्दै विभिन्न ६ विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

यस्ता छन् ध्यानाकर्षणका बुँदा –

१. लोकतन्त्रलाई संकुचन गर्ने अधिनायकवादी मनोदशाबाट प्रेरित भएर साउन १ गतेदेखि काठमाडौंका विभिन्न सार्वजनिक स्थलहरुलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय अबिलम्ब खारेज गरियोस् । सञ्चारजगत र प्राज्ञिक क्षेत्रमा भइरहेको नग्न सरकारी हस्तक्षेप बन्द गरियोस् । प्रेस र अभिव्यक्ति स्वतन्त्रता पूर्ण रुपमा प्रत्याभूत गरियोस् ।

२. बजेट फ्रिज हुन नदिने नाममा जथाभावी भइरहेको असारे विकास अबिलम्ब बन्द गरियोस् । यस प्रक्रियामा भइरहेको भ्रष्टाचार, गुणस्तरहीन निर्माण र कमिसनखोरीलाई कानुनी कार्वाहीको दायरामा ल्याइयोस् । श्रावण–असारको आर्थिक वर्ष परिवर्तन गरी बैशाख–चैत्रको नयाँ आर्थिक वर्ष कायम गरियोस् ।

३. शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहको चरम निजीकरण, व्यापारीकरण र माफियाकरण अन्त्य गरियोस् । समाजवादी नीति अनुरुप शिक्षा र स्वास्थ्यको व्यवस्था गरियोस् । माथेमा आयोगको सिफारिस, मर्म र भावना अनुरुप स्वास्थ्य शिक्षा विधेयक संसदमा पेश गरियोस् ।

४. महिला हिंसाका घटना नियन्त्रण गर्न, महिला हिंसामा संलग्नलाई कार्वाही गर्न राज्यले देखाएको उदासिनता अन्त्य होस् । पश्चिम नेपालमा कायम रहेको छाउपडी प्रथाको अन्त्यका लागि अबिलम्ब प्रभावकारी कदम चालियोस् ।

५. विकासका नाममा विशेषत: काठमाडौं उपत्यकाभित्र भइरहेको साँस्कृतिक सम्पदाहरुको विनाश र जिर्णोद्धारमा गरिएको लापरवाही अन्त्य गरियोस् । काठमाडौं–निजगढ द्रूतमार्गसँग जोडिएको खोकनाबासीहरुको सरोकारलाई सम्बोधन गरियोस् ।

६. वर्षायामसँगै देशव्यापी रुपमा भइरहेको बाढी, पहीरो, डुबान, कटानको समस्यालाई दृष्टिगत गरी राज्यको तयारीलाई प्रभावकारी बनाइयोस् । यस्ता घटनामा उद्धार, राहत र पुनस्र्थापना कार्यलाई तदारुकताका साथ सम्पन्न गरियोस् ।

नयाँ शक्तिले यिनै विषयमा सरकारको ध्यानाकर्षण गर्न साउन १ गते माइतीघर मण्डलामा प्रदर्शन गर्ने जनाएको छ ।

‘आन्तरिक राष्ट्रिय एकताविना देशको समृद्धि सम्भव छैन । यसका लागि विविधतापूर्ण इन्द्रेणी राष्ट्रियतालाई सम्मान गर्न र सबै राष्ट्रियताहरुको पहिचानको मुद्दामा सबै पक्ष जिम्मेवार बन्न पनि हार्दिक अनुरोध गर्दछौं,’ पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।