0 COMMENTS

नारायण ढुंगाना ,रत्ननगर, चितवन, ४ असार ०७५/ यसपाली चितवनमा किसानका लागि मौरीको रानी वितरण कार्य प्रभावकारी हुन नसक्दा किसान चिन्तित भएका छन् ।

सरकारी कार्यक्रम अनुसार ९४ जना किसानका लागि चार हजार ५०० मौरीको रानी वितरण गर्ने योजना थियो ।मौरीपालन विकास केन्द्र भण्डारा तोकिएको म्यादभित्र करीव ६० प्रतिशत मात्रै मौरीको रानी वितरण गर्न सफल भएको छ । समयमै वितरण नभएपछि अहिले रानी वितरणका लागि म्याद थप भएको मौरीपालन तथा अनुसन्धान केन्द्र भण्डाराका प्रमुख शिव रिजाल बताउनुहुन्छ ।

निर्धारित मिति चैत मसान्तसम्ममा ४ हजार ५०० घार वितरण गरिसक्नुपर्ने थियो । तर आधा पनि रानो वितरण गर्न नसकेपछि पुनः कार्यालयले असार १५ गतेसम्मका लागि म्याद थप गरेको रिजालले बताउनुभयो ।यसपाली मौसममा आएको उतारचढावका कारण समस्या परेको उहाँको दावी छ । रानी बन्नलाई कुमारी रानी बाहिर समागम गरेर आउनुपर्नेमा मौसम समस्याले त्यतै हराउने गरेकाले समस्या भएको रिजालको भनाई छ ।

अघिल्लो वर्ष बाढीका कारण मौरीका घार बगाउँदा सरकारी तवरबाट मात्रै उत्पादन हुन नसक्ने देखेपछि यसपाली निजी क्षेत्रलाई रानी उत्पादनको जिम्मा दिइएको थियो । निजी कम्पनीले जिम्मेवारी अनुसार रानी उत्पादन गरेर दिन सकेको छैन ।उत्पादनको जिम्मा पाएको संचस मौरीपालन केन्द्र चितवनका सञ्चालक शंकर भट्टले आफूले जिम्मेवारी पाए अनुसारको रानी वितरण गर्न नसकेको स्वीकार गर्नुभयो ।

उहाँले एक हजार रानी उत्पादन गर्ने जिम्मा लिएपनि अहिलेसम्म १०० रानी उत्पादन गरेको र अब करीव १०० रानी उत्पादन गर्ने योजना रहेको जानकारी दिनुभयो । आफू विरामी परेको र साथीले समेत धोका दिएकाले समस्या परेको उहाँको भनाइ छ । तर गुणस्तरमा भने ध्यान दिएको दावी भट्टको छ ।

उहाँका अनुसार जिल्लामा रानी उत्पादनका लागि नेपाल बी कन्सर्न भरतपुर, रावल बी फार्म नवलपरासी र संचस मौरीपालन फार्म चितवनले जिम्मा लिएको थियो ।

नेपाल बी कन्सर्नले २ हजार र अन्य २ फार्मले एक÷एक हजार रानी उत्पादन गर्ने जिम्मा लिएका थिए । केन्द्रको ५०० रानी उत्पादन गर्ने लक्ष्य थियो । उनीहरुलाई प्रति रानी उत्पादन गरेबापत ४२५ रुपैयाँ दिने सम्झौतामा उल्लेख छ । एक हजार रानी उत्पादन गरेबापत अनुगमन खर्चसहित रु ५ लाखको बजेट निकासा भइआएको थियो ।

किसानको व्यावसायिकता र घार हेरेर उनीहरुलाई रानी वितरण गर्ने गरिन्छ । एउटा रानी वितरण हुनु भनेको एउटा घार वितरण गरे सरह हुन्छ । एउटा रानी तयार हुन ३०÷३५ दिन लाग्छ । बाहिर उडानमा गएको रानी फर्केनन् भने रानी त्यसै हराएर जाने हुन्छ ।

अहिले यही समस्या भएको मौरीविज्ञ समेत रहनुभएका केन्द्रका रिजाल दावी गर्नुहुन्छ । उहाँका अनुसार जिम्मा लिएका कम्पनीहरुले रानी उपलब्ध नगराउँदा लक्ष्य भेट्न नसकिएको हो । थपिएको म्यादसम्ममा पनि शतप्रतिशत वितरण हुने सम्भावना नरहेको उहाँको भनाइ छ ।

कार्यालयले उचित व्यवस्थापन गर्न नसक्दा रानी वितरण प्रभावकारी हुन नसकेको नेपाल मौरीपालक महासंघ चितवनका अध्यक्ष रोशन पण्डित बताउनुहुन्छ । किसानहरुका लागि महत्वपूर्ण हुने रानी समयमै दिन नसक्नु दुर्भाग्यको कुरा भएको पण्डितको भनाइ छ ।

नेपालमा पाँच हजार बढी मौरीपालक किसान छन् र करीव दुई हजार ४०० मेट्रिक टन मह उत्पादन हुन्छ । चितवनमा करीव ८०० मेट्रिक टन मह उत्पादन हुने नेपाल मौरीपालक महासंघका केन्द्रीय अध्यक्ष शिव पौडेलको भनाइ छ ।

चितवनमा २०५१ सालदेखि मौरीपालन शुरु भएको हो । अहिले ३५० भन्दा बढी किसान मौरीपालनमा रहेको बताइन्छ ।

विशेष गरी मेलिफेरा मौरी व्यावसायिक रुपमा पालिन्छ । सेरेना मौरीले कम मह दिने भएकाले कमैले पाल्ने गरेको जिल्ला कृषि विकास कार्यालय चितवनको भनाइ छ । नेपालमा मेलिफेरा ५० हजार र सेरेना मौरी एक लाख भन्दा बढी गोला रहेको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।