0 COMMENTS

काठमाडौँ, ३ वैशाख ०७५/ वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ ।

यस वर्षको आमाको मुख हेर्ने औँसी सोमबार परेको छ । सोमबारे औँसीमा बिहान उठेर नबोली स्नान गरेमा यो लोकमा सुख शान्ति र परलोकमा सद्गति पाइने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा लिइन्छ । वैशाख कृष्णपक्ष औँसीका दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात् मातृऔँसीका रुपमा समेत मनाउँछन् ।

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा लगाउने र मीठा मीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । यसो गरेमा मातृ ऋणबाट मुक्त भइने जनविश्वास छ ।

आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।