0 COMMENTS

काठमाडौँ, ३ चैत ०७४/ विभिन्न माग राखी १८ दिनदेखि अनशनरत राष्ट्रिय जनता पार्टीका नेता रेशमलाल चौधरीले आज आफ्नो अनशन तोड्नुभएको छ ।

गृहमन्त्री रामबहादुर थापाले चौधरी अनशनरत वीर अस्पताल पुगेर अनशन तोडाउनुभएको हो । कैलाली क्षेत्र नं १ बाट निर्वाचित चौधरी आफूलाई संसद् सदस्यको प्रमाणपत्र तथा शपथ ग्रहणको व्यवस्था मिलाउनुपर्ने, आफूमाथिको मुद्दा फिर्ता लिनुपर्ने, पहिचानका आधारमा संघीय सीमांकन हुनुपर्ने लगायत माग राखी अनशन बस्नुभएको थियो ।

अनशन तोडाउँदै गृहमन्त्री थापाले मुद्दा र अदालती विषय बाहेकका अन्य विषयका माग पूरा गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । चौधरीले टीकापुर घटनाका दोषीलाई कारबाही हुनुपर्ने पक्षमा आफू पनि रहेको स्पष्ट पार्दै घटनाका बेला आफू बर्दिया जिल्लामा रहेको जिकिरका साथ आफू निर्दोष रहेको बताउनुभएको थियो ।

अनशन फिर्ता लिने क्रममा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरु राजेन्द्र महतो, शरत्सिंह भण्डारी लगायतका नेताहरु पनि उपस्थित हुनुहन्थ्यो ।
चौधरीको अनशन फिर्ता लिने सम्बन्धमा आज नै प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्वकमल दाहाल ‘प्रचण्ड’ले राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलगायत नेताहरुसँग छलफल गर्नुभएको थियो ।

कैलालीको टीकापुरमा विसं २०७२ भदौ ७ गते वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ जनाको मृत्यु भएको घटनामा मुख्य योजनाकारको आरोप लागेपछि फरार रहेका चोधरी गत मंसिरमा सम्पन्न निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित भएपछि गत फागुन १४ गते अदालतमा उपस्थित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।