0 COMMENTS

काठमाडौँ २चैत०७४/बिहिबार भएको महत्वपूर्ण खेलमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटको एकदिवसीय मान्यता पाएको छ । यो नेपाल क्रिकेटले पाएको अहिलेसम्मकै ऐतिहासिक उपलब्धि हो ।

ओडीआई स्टाटसका लागि महत्वपूर्ण खेलमा नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हरायो । लगत्तै नेदरल्यान्ड्सले हङकङलाई पराजित गरेपछि नेपालको ओडिआई स्टाटस पक्का भएको हो ।

नेपाली टोलीले सन् २०२२ सम्मका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को माथिल्लो स्थानको यात्रा पक्का गरेको छ। सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको नेपालले २२ वर्षपछि एकदिवसीय मान्यता पाएको हो ।

आइसीसीले १२ पूर्ण राष्ट्र सहित नेपाल, नेदल्याण्ड्स, स्कटल्याण्ड र यूएर्इलार्इ सन् २०२२ सम्मका लागि अस्थायी एकदिवसीय मान्यता प्रदान गरेको छ। एकदिवसीय मान्यता पाएसँगै नेपाललगायत यी देशहरुलार्इ लागि केही अवसरका ढोकाहरु खुलेका छन्।

एकदिवसीय मान्यतासँगै आइसीसीले दिने अनुदान रकम पनि बढेर जानेछ। अब ओडीआई स्टाटस पाएपछि टिमले एक्सपोजर पाउनेछ भने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले दिने सहयोग रकममा पनि उल्लेख्य वृद्धि हुनेछ ।

आर्इसिसीले वार्षिक ७ देखि ८ करोड रूपैयाँसम्म बजेट छुट्याएको हुन्छ जसले स्तरीय प्रशिक्षक, अभ्यास भ्रमण, खेलाडीको भत्ता, सुविधा, नियमित प्रशिक्षणको लागि नेपाललाई आर्थिक सहजता हुनेछ।

अन्तर्राष्ट्रिय प्रतियोगिता निकै कम खेल्ने नेपालका लागि नियमित रूपमा ठूला प्रतियोगिता विश्व क्रिकेट लिग च्याम्पियनसिप, इन्टर कन्टिनेन्टल कप जस्ता प्रतियोगिता खेल्न पाउने अवसर हुनेछ। इन्टरकन्टिनेन्टल कप ५० ओभरको क्रिकेटमा एसोसिएट टोलीहरूले खेल्ने आईसीसीको सबैभन्दा ठूलो प्रतियोगिता हो। नेपालले सन् २०१९ देखि २०२१ सम्म हुने इन्टरकन्टिनेन्टल कपमा प्रतिस्पर्धा गर्नेछ।

यस्तै, टेष्ट राष्ट्र सम्मिलित एसिया कप जस्तो ठूलो प्रतियोगितामासमेत नेपालको सहभागिता सहज हुनसक्छ भने नेपाल आईसिसीको एक दिवसीय वरियतामा पर्नेछ। साथै, अर्को उपलब्धि भनेको नेपाली टोली अन्तराष्ट्रिय वरियतामा आउनेछ। नेपाली खेलाडीहरुको एकदिवसीय प्रोफाइल बन्नेछ। उनीहरुका लागि विश्वकपका ठूला प्रतियोगिताहरु खेल्ने ढोका खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।