0 COMMENTS

काठमाडौँ, २२ फागुन०७४/ साल्ट ट्रेडिङ कर्पाेरेशनले आव २०७३÷७४ को मुनाफाबाट आफ्ना साझेदारलाई २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

उपभोक्तालाई सर्वसुलभ रुपमा खाद्य पदार्थ र नूनसहित विभिन्न प्रकारका मलखादको बिक्री वितरण गर्दै आएको कर्पाेरेशनले आव २०७३÷७४ मा रु ७६ करोड ९३ लाख मुनाफा आर्जन गरेको थियो । आव २०७२÷७३ मा कर्पाेरेशनको मुनाफा रु ६१ करोड २४ लाख रहेको थियो ।

कर्पाेरेशनको आज यहाँ सम्पन्न ५१आँै साधारणसभाले सो निर्णय गर्दै आगामी वर्षदेखि काठमाडौँलगायत मुख्य शहरमा पेट्रोलियम पदार्थको करोवारका लागि पम्प सञ्चालन, तोरीको तेल तथा उखु उत्पादनमा लगानी गर्ने जानकारीसमेत दिएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावका बीचमा पनि कर्पाेरेशनले चालू आवको माघ मसान्तसम्ममा रु छ अर्ब ६६ करोड कारोवार गर्न सफल भएको थियो । गतवर्षको सोही अवधिमा रु पाँच अर्ब ४१ करोडको कारोवार भएको थियो । चालू आवमा कर्पाेरेशनले रु १० अर्ब करोवार गर्ने लक्ष्य राखेको छ ।

कर्पाेरेशनले सरकारको अनुदानमा चालू आवमा बिक्री वितरणका लागि ५७ हजार मेट्रिक टन युरिया र २२ हजार टन डिएपी मल आयात भइसकेको जनाएको छ । कर्पाेरेशनले कृषि मन्त्रालयको स्वीकृतिमा गैरअनुदानका अमोनियम सल्फेट र सिंगल सुपर फस्फेट मलसमेत बिक्री वितरण गरिरहेको छ ।

साधारणसभामा कर्पाेरेशनका सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले अगामी दिनमा आमउपभोक्तालाई गुणस्तरीय खाद्य तथा अन्य वस्तुको सरल र सहज वितरण गरिने बताउनुभयो ।

कर्पाेरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पाेरेशनको पूँजी वृद्धि, पेट्रोलियम पदार्थको कारोबार शुरु तथा उखु उत्पादनमा लगानी गर्ने जानकारी दिनुभयो । उहाँले आयोडिनयुक्त नूनको शतप्रतिशत पहुँचलाई कर्पाेरेशनले उच्च प्राथमिता दिएको बताउनुभयो । पछिल्लो स्वास्थ्य सर्वेक्षण अनुसार मुलुकका पाँच वर्षमुनिका ९४ प्रतिशत बालबालिकाले आयोडिन नूनको प्रयोग गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।