0 COMMENTS

काठमाडौं २१फागुन०७४/ सेयर बजारप्रति नकारात्मक धारणा बनाउँदै आएका अर्थमन्त्री युवराज खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्र भन्दै त्यस्तो क्षेत्रमा लगानी गर्नु अर्थहीन भएको अभिव्यक्ति दिएपछि सेयर बजारमा ठूलो गिरावट आएको छ । साताको पहिलो दिन आइतबार नेप्से ४१.५६ बिन्दुले घट्दा लगानीकर्ताले एकै दिन ४८ अर्ब रुपैयाँ गुमाउन पुगे।

खतिवडा अर्थमन्त्रीमा नियुक्ति भएदेखि नै सेयर बजार निरन्तर ओरालो लाग्दै आएको छ । चार कारोबार दिनमा करिब ५५ बिन्दुले नेप्से घट्न पुगेको छ । उनी गत सोमबार अर्थमन्त्री नियुक्त भएका थिए ।
२०६५ भदौ २ गते तत्कालीन नेकपा माओवादीको तर्फबाट पुष्पकमल दाहाल नेतृत्वको सरकारको पालामा अर्थमन्त्री रहेका बाबुराम भट्टराईले सेयर बजारलाई जुवाघरको संज्ञा दिएका थिए । त्यो अभिव्यक्तिले बजारमा नकारात्मक असर पारेको थियो । त्यसको असर पाँच वर्षसम्म परेको थियो । तर, अहिले पनि नवनियुक्त अर्थमन्त्री खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्रको संज्ञा दिएपछि सेयर बजारमा पहिरो गएको हो।

खतिवडाले बिबिसीलाई दिएको अन्तर्वार्तामा तत्काल बैंक तथा वित्तीय क्षेत्रमा देखिएको लगानीयोग्य रकमको समस्या समाधान विदेशीबाट ऋण लिएर पनि गर्ने र त्यस्तो रकम घरजग्गा, सेयर मार्केट, अटोमोबाइल र उपभोगमा खर्च नगर्ने बताएपछि सेयर बजारमा नकारात्मक प्रभाव पारेको विज्ञहरुको भनाइ छ ।कारोबार सुरु भएको पौने घन्टामै आइतबार सेयर बजार ३५ बिन्दुले घट्न पुगेको थियो । कारोबार सुरु हुँदा १३४५.७९ बिन्दुमा रहेको नेप्से १३१०.७८ बिन्दुमा आइपुगेको थियो । त्यसपछि पुनः १० बिन्दुले उकालो लागेको नेप्से १३२०.६० बिन्दुमा पुगेको थियो।

पुनः साढे १२ बजेपछि ओरालो लागेको नेप्से २ बजेसम्म १२९१.८८ बिन्दुमा आइपुगेको थियो । त्यसपछि सेयर बजारमा केही सुधार आएको थियो ।अन्ततः नेप्से परिसूचक ४१.५६ बिन्दुले घटेर १३०४.४३ मा आएर बन्द भयो । नेप्से एक वर्षयता कै न्यून हो । अघिल्लो साउन १२ गते कीर्तिमानी १८८१.४५ बिन्दुमा पुगेको नेप्से ओरालो लाग्दै १२ सय नजिक आइपुगेको छ।

सेयर धितो राखेर लिएको कर्जाको ब्याजदर बढेका कारण सेयर बजार ओरालो लाग्दै आएकोमा पछिल्लो समय अर्थमन्त्री खतिवडाको अभिव्यक्तिले थप ओरालो लाग्न पुगेको एक ब्रोकरले नागरिकलाई बताए ।
सेयर लगानीकर्ता संघ नेपालले पनि आइतबार एक विज्ञप्ति जारी गर्दै अर्थमन्त्रीको उक्त अभिव्यक्तिले सेयर बजारमा नकारात्मक असर पारेको भन्दै त्यसको आलोचना गरेको छ।

संघका अध्यक्ष उत्तम अर्यालले जिम्मेबार निकायमा बसेको व्यक्तिले सेयर बजारमा भएको लगानीलाई अनुत्पादक क्षेत्र भन्दै निरुत्साहन गर्न खोज्नु दुर्भाग्य भएको बताए । ‘अर्थमन्त्रीको अभिव्यक्तिले आइतबारको कारोबारमा नकारात्मक असर पार्न पुग्यो,’ उनले भने, ‘उनको अभिव्यक्तिले नयाँ लगानीकर्ताले सेयर खरिद गरेनन् र पुराना लगानीकर्ता अत्तालिएर सेयर बिक्री गर्दा उच्च अंकले सेयर बजार ओरालो लाग्न पुग्यो।’

पछिल्लो समय सेयर धितो राखेर लिइने कर्जाको ब्याजदर बढेका कारण सेयर बजार ओरालो पुगेको विश्लेषकको भनाइ छ । अहिले सेयर बजार निरन्तर घट्नुको प्रमुख कारण नै ब्याजदरमा भएको भारी वृद्धिलाई मानिएको छ । बैंकमा लगानी गर्न आवश्यक रकमको कमी हुँदा ब्याज बढ्ने गर्छ ।
ब्याजदर र सेयर बजार एक अर्कासँग सम्बन्धित हुने गरेको एक विश्लेषकले बताए । ब्याजदर बढ्दा सेयरको मूल्य घट्ने गर्छ, ब्याजदर घट्दा बढ्छ । घटी ब्याजमा ऋण पाउँदा लगानीकर्ताले बैंकबाट पैसा लिएर सेयरमा लगानी गर्छन् । चर्को ब्याजको पैसा लिएर लगानी गर्दा घाटा हुने ठानेर लगानीकर्ता हच्किन्छन्।

यसअघि ब्याजदर कम थियो । सेयरको भाउ पनि बढेको थियो । अहिले ब्याजदर बढेसँगै सेयर मूल्यमा उच्च गिरावट आएको छ ।लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेकाले पनि सेयर मूल्य घटेको एक ब्रोकरको भनाइ छ । ‘हकप्रद सेयर भर्नका लागि सेयर बिक्री गर्ने प्रवृत्ति देखिएकाले पनि सेयर बजार घट्न पुगेको हो,’ उनले भने, ‘बैंकहरुले चुक्ता पुँजी पुर्‍याउन ठूलो रकमको हकप्रद सेयर जारी गरेको र त्यसका लागि सेयर बिक्री गरेर रकम जोहो गरेकाले पनि सेयर बजार घट्न पुगेको हो ।’

गत आर्थिक वर्षमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पुँजी चारदेखि २५ गुणासम्म बढाउने नीति अनुसार केही बैंकहरुले चुक्ता पुँजी बढाइसकेका छन् । केहीले धमाधम बढाउँदै छन् । बैंकहरुले चुक्ता पुँजी आठ अर्ब पुर्‍याइसकेपछि अहिले जति लाभांश दिन नसक्ने भएकाले पनि यही मौकामा सेयर बिक्री गर्न थाल्दा सेयर बजार गिरावट आएको ब्रोकरको भनाइ छ।

सेयर मूल्य बढ्नुको दोस्रो कारणको रुपमा अधिकांश कम्पनीले लाभांश घोषणा गरिसकेको र आगामी वर्षको लाभांश लिन अझै एक वर्ष कुर्नुपर्ने अवस्थालाई लिइएको छ । अर्को वर्ष लाभांश पाउन किन अहिले नै किन्नुपर्‍यो र रु भन्ने जस्ता कुरा लगानीकर्ता गर्न थालेका छन् । यसले गर्दा पनि सेयर बजार घट्न पुगेको ती विश्लेषकले बताए।

सेयर बजार निरन्तर ओरालो लागेपछि साना लगानीकर्ता अत्तालिएर बिक्री गर्न थालेका छन् । बिक्रीमा चाप पर्दा बजार ओरालो लागेको ब्रोकरको भनाइ छ ।बोनस वितरणसँगै हकप्रद र एफपिओ जारी हुने क्रमले सेयरको आपूर्ति बढाएको छ । यसले पनि पनि बजार घटाउनै मद्दत गरेको बिश्लेषकको भनाइ छ।

सेयर बजारमा गिरावट आउनुको कारण पनि सिजनल सेयर खेलाडी बाहिर निस्कन थालेको संकेतको रुपमा लिन थालिएको केहीको भनाइ छ । उनीहरुले सेयर बिक्री गरेर घरजग्गा, सुन लगायत वस्तुमा लगानी बढाउन थालेपछि बजार घटन थालेको बताइन्छ । नागरीक दैनिकले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।