0 COMMENTS

काठमाडौँ, १३ फागुन ०७४/ ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण गोकर्णेश्वर महादेव मन्दिरको छाना फेर्न सहयोग जुटाउने उद्देश्यले श्रीमद्भागवत महायज्ञ यही फागुनको चौथो हप्ता आयोजना गरिने भएको छ ।

प्रामाणिक अभिलेख नपाइए पनि राजा मानदेवको शासनकालमा निर्माण भएको विश्वास गरिने मन्दिरमा हाल झिँगटीको छाना छ । वर्षौंदेखि झिँगटी नफेर्दा वर्षामा पानी चुहिने गरेको छ । वर्षाको पानीले पुरातात्विक मन्दिर जीर्ण बन्दै गएको पुजारी जगदीश भट्टले बताउनुभयो । “पानीले मन्दिरका काठलाई असर गरेको छ, छाना जति मिलाए पनि बाँदरले झिँगटी सार्ने भएकाले वर्षामा पानीको धारा मूर्तिमै झर्छ, वर्षाद्मा छानामा घाँस उम्रने गरेको छ, मन्दिर थप जीर्ण बन्न नदिने हो भने छाना फेर्नु आवश्यक छ”,उहाँले भन्नुभयो ।

गोकर्णेश्वर नगरपालिका र स्थानीयवासीको सहभागितामा छाना फेर्न सहयोग जुटाउने उद्देश्यले श्रीमद्भागवत मूल आयोजक समिति गठन गरिएको छ । समितिका अध्यक्ष कमलबहादुर विष्ट नगरपालिकाका नौ वटै वडाध्यक्षलाई उपाध्यक्ष राखेर आयोजक समिति गठन गरिएको बताउनुहुन्छ ।

समितिका प्रमुख सल्लाहकारमा नगर प्रमुख सन्तोष चालिसे र आयोजक समितिका महासचिवमा नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसाल रहनुभएको छ ।

“सात हजार ४०० वर्गफिटको छाना तामामा सुनको लेप भएको लगाउने तयारी गरिएको छ, यसका लागि प्रतिवर्गफिट रु २१ हजार २५० लाग्ने प्राविधिक प्रतिवेदन प्राप्त भएको छ, मन्दिरको छाना फेर्न कूल लागत रु १५ करोड ७१ लाख लाग्ने प्रारम्भिक अनुमान गरिएको छ”, अध्यक्ष विष्टले भन्नुभयो । यही फागुन २३ देखि चैत ३ गतेसम्म हुने भागवत् महायज्ञबाट रु १० करोड सहयोग जुटाउने लक्ष्य राखिएको नगर प्रमुख चालिसेले बताउनुभयो । भागवत् वाचकमा ईश्वरकृष्ण शास्त्री रहनुहुनेछ ।

“महायज्ञबाट सोचेअनुरुप सहयोग नजुटे नगरपालिकाबाट तीन वर्षसम्म बजेट छुट्याएर पनि ऐतिहासिक मन्दिरको छाना फेरिन्छ, नगरपालिकाको नाम पनि मन्दिरकै नामबाट राखिएकाले छाना फेर्न सहयोग जुटाउनु हाम्रो कर्तव्य हो”, उहाँले भन्नुभयो । नगरपालिकाको ४ नं वडामा मन्दिर छ । मन्दिर नजिकैबाट सडक खोल्दा सवारीको भारले मन्दिरलाई असर गरेको स्थानीयवासीको गुनासो छ । ऐतिहासिक एवं पुरातात्विक महत्वका सम्पदाको नजीकबाट सडक नबनाएको भए जोगाउन सजिलो हुने स्थानीयवासी त्रिलोचन पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।