घर बनाउन खाडल खन्दा ४५० किलो वजनको बम फेला

2018-02-03   प्रवास

हङकङ २० माघ ०७४/ हङकङमा घर बनाउन खाडल खन्दा विशाल बम फेला परेको छ ।दोस्रो विश्वयुद्धका क्रममा अमेरिकाले खसालेको दुईवटा बम हङकङमा फेला परेको हो । लामो प्रयासपछि सुरक्षाकर्मीहरुले सो बम निष्कृय तुल्याएका छन् ।४५० किलो वजनको सो बम वान चाई जिल्लाको एक व्यापारिक क्षेत्रमा फेला परेको हो । भवन निर्माण भइरहेको क्षेत्रमा खाडल खन्दा सो बम फेला परेको हो ।

बम फेला परलगत्तै आसपासका करिब चार हजारभन्दा बढी नागरिकलाई सो क्षेत्रबाट हटाइएको थियो । सडकलाई घेराबन्दी गरिएको थियो भने रातभर खटेर उक्त बमलाई हङकङ प्रहरीको बम निरोधक समूहले निष्कृय तुल्याएको थियो ।एकसाता भित्रै हङकङमा दोस्रो विश्वयुद्धको समयको बम फेला परेको यो दोस्रो घटना हो ।

अमेरिकामा निर्माण भएको ‘एन–एम६५’ बम दोस्रो विश्वयुद्धका क्रममा अमेरिकाले जापान अधिनस्थ हङकङमा खसालेको हो ।समाचार एजेन्सीहरुका अनुसा बम निरोधक समूहले बमको बाहिरी भागमा प्वाल बनाएर विस्फोटक पदार्थलाई नष्ट गरेको हो ।जमिनमुनी गाडिएर रहेको अवस्थामा बम फेला परेपछि सर्वसाधारणमा आतंक बढ्न थालेको छ । यस्ता बम अझै कति होलान् र कहाँ कुन अवस्थामा होलान् भन्ने प्रष्ट नहुँदा सर्वसाधारणमा सन्त्रास बढाएको हो । (एजेन्सी)