0 COMMENTS

भक्तपुर, १७ माघ ०७४/ भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा लागेको एक महिने माधव नारायण मेला एवं व्रत आजदेखि समापन भएको छ ।

नेपाल संवत्को आठौँ शताब्दीदेखि शुरु भएको भक्तपुर नगरपालिकास्थित हनुमानघाटमा हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि शुरु भई माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेला आज सम्पन्न भएको हो । नेसं ७२२ मा रणजीत मल्ल आफैँले व्रतको व्यवस्थापन गरेका शिलालेखमा उल्लेख छ ।

त्रिवेणीघाटमा डुबेर एकचित्त भएर जे माग्यो त्यो पूरा हुने जनविश्वास रहेकाले यहाँ व्रत बस्ने गरेको पुजारी चीरञ्जनराज राजोपाध्यायले बताउनुभयो । आज बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा आराधना र शंखजल ग्रहण गर्दै व्रत समापन गरिएको हो ।

राम, लक्ष्मण वनबास आउँदा दही चिउरा खाने क्रममा पानीको व्यवस्था गर्न हनुमानले आफ्नो पुच्छरले खाल्डो बनाएर पानी निकालेको र उत्तर, दक्षिणबाट आएको खोला एवं हनुमानले पुच्छरबाट पानी निकालेपछि आएको मूलको पानी मिश्रित हुने भएकाले पनि यस क्षेत्रलाई त्रिवेणीघाट भनिएको किंवदन्ति छ ।

व्रतालुले औँसीदेखि नै खाली खुट्टा पैदल नै तिलमाधवबाट तलेजु भवानीसम्म, सप्तमीमा पनौती गएर त्रिवेणीमा बसेर स्नान गरी इन्द्रेश्वर महादेवको दर्शन गरी अष्टमीमा फर्कने, दशमीमा पशुपति गएर स्नान गरी जल चढाएर जयबागेश्वरी ताम्रेश्वर महादेवसम्म कलश यात्रा गर्ने, द्वादशीमा चाँगुनारायण शंखदहमा स्नानगरी कलश लिएर चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्ल पूर्णिमाका दिन नगरपरिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर व्रत समापन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।